कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो


काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको हो ।

बैठकमा समिति संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको र छिट्टै सम्पूर्ण विवरणसहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाइने बताउनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले क्रियाशील सदस्यताको विवादले भएको ढिलाइलाई व्यवस्थापन गर्न पार्टीको केन्द्रीय निर्वाचन समिति, सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाललाई निर्वाचन निर्देशिकामा रहेका अप्ठ्यारा सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

क्रियाशील सदस्यतामा केही विवाद देखिए पनि यही विषयका कारणले महाधिवेशनको मिति भने नसर्ने भएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले महाधिवेशन निर्धारित मितिभन्दा एक दिन पनि पछाडि सार्न नसकिने बताउनुभएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।

गत असार ४ गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो ।

संशोधित कार्यतालिकानुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

त्यस्तै क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकिएको थियो । तर सो अवधिमा काम सम्पन्न हुन नसकेकाले समितिले केही समय माग गरको छ ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *