भट्टीमा : देशकाे चिन्ता

यहाँ देशको छ चिन्ता, तिमीमायामाया भन्छौ… बोलको गीतले देशको चिन्ताको सार बोकेजस्तै साँझमा ‘स्यान्ताराम’को चुस्कीसँगै देशको चिन्ता बोक्ने प्रसस्त जमात छन् ।

बेलुकीपखको घाम पश्चिमतिर आफ्नो रफ्तारमा लम्किरहेको थियो । यही साताको एक साँझ रातमाटाको एउटा
होटलमा खाजा खान छिरेँ । होटल ‘प्याक’ थियो, देशका आशलाग्दा छाउराहरु आ–आफ्नो समूहमा ‘स्यान्ताराम’को
मज्जा लिँदै थिए ।

होटलको टेवलहरु प्रायः खचाखच नै थियो । साँझ पर्दै गएकोले यो लेखक केही खुराक मिल्ने आशामा भट्टीभित्र प्रवेश ग¥यो । यताउती हेरेँ, कुनाको एउटा टेबल खालि थियो र एक सेट खाजा मगाएर त्यही खाली टेबलमा बसेँ । सँगैको अर्को टेबलमा चार–पाँचजना ‘स्यान्ताराम’को नसामा बसेकापाँचपात्रहरुको कुराहरु मलाईअलि वढी चासो लाग्यो र
चाखदिएर सुन्नथाले ।

स्यान्तारामको नसामा लठ्ठीएर जति नै पहलबान बने पनि श्रीमतीको याद आउनुबित्तिकै ऊ सिंहको पन्जामा परेको सिकार
लत्र्याकलुत्रुक परेझै भयो ।

म छिर्दा उनीहरु भर्खर वहोसीबाट उठेको मानिसले आफ्नो आफन्तलाई ठम्याउन कोसिस गरेझै लठ्ठ नसाको घुम्टो
पहिरी सकेका थिए । त्यसैमा एउटा पात्रले वर्तमान राजनैतिक परिवशलाई कोट्याउदै, सुकरातले नयाँदर्शन प्रतिउत्पादन गर्न घोत्लिएझैँ घोत्लिएर दार्शनिक स्वरुप प्रकट गर्दै मुख खोल्यो । ‘देश जबसम्म कम्युनिष्टको हातमा रहन्छ, जनता सधैँ ठगिने भए । आश्वासनचाहिँ ठूलाठूला, काम भने मठ्ठे ।’ उसले खिस्स खिस्याएझै फेरि थप्यो, ‘अब त प्रधानमन्त्रीज्यूले चन्द्रमामा घरहरा बनाइदिन्छु भन्नमात्र बाँकी छ । तैपनि सतिले सरापेको देश, पत्याउँछन् जनता ।’ उसको भनाइ सुन्दा अड्कल काटेँ, पक्कै त्यो महासय कांग्रेस समर्पित हुनुपर्छ । त्यतिकैमा प्रधानमन्त्रीज्यूको बचाउ गर्दै लर्बराएर झोकिएको स्वरमा अर्को बोल्यो, ‘कांग्रेसले यत्तिका वर्ष देश चलाएर के नापेको छ र ? कमसेकम हाम्रा प्रधानमन्त्रीले बोल्ने आँट त गरे ।’ यहाँ वास्तविक देशको चिन्ताभन्दा पनि एक–अर्कोप्रति पार्टीगत असन्तुष्टीले छरपस्ट विचारको लडाइँजस्तो लाग्थ्यो, जो आफ्नो पार्टीलाई बचाऊ र अरुलाई आरोप लगाउन तल्लिन थिए ।

‘स्यान्ताराम’को चुस्की बढेसँगै उनीहरुको गफिने शैली पनि आक्रामक बन्दै थियो । हेर्दाहेर्दै सँगै प्रवेश गरेका अभिन्न
मित्रहरु दुई भागमा विभाजन भई हात हालाहालको स्थिति उत्पन्न भयो– तेरो पार्टी यो, तेरो पार्टीले यसो ग¥यो, तेरो
पार्टीको कारण आज देश यो स्थितिमा पुग्यो आदिआदि ।

त्यही समूहभित्रको एउटा साथी जुरुक्क उठ्दै मिलाउन
खोजेझै ग¥यो र भन्यो, ‘तिमीहरु एकआपसमा झगडा गर्छौ, माथि ठूला नेताहरु हामी बसेझै सँगै पेग लगाउँछन् । कसरी जनता झुक्याउने भन्ने जाल बुन्छन् । तर, हामी पटमुर्ख आफ्नो पार्टीको खोक्रो नारा बोक्दै झगडा गर्छौं । अब हामीले यो पार्टी मेरो, त्यो पार्टी तेरो भन्नुभन्दा गुण र दोषको आधारमा अघि बढ्नुपर्छ । यो देश हाम्रो काँधमा छ । हामीले नबनाए कसले बनाउँछ ?’ यति भनेर ऊ थचक्क बस्यो । एकछिन माहौल शान्त बन्यो ।

त्यसैबेला एउटाले घडी हेर्दै भन्यो, ‘आमो… आठ पो बजिसकेछ, घर जान ढिलो भयो, अब बूढीले मार्छे यार !’
स्यान्तारामको नसामा लठ्ठीएर जति नै पहलबान बने पनि श्रीमतीको याद आउनुबित्तिकै ऊ सिंहको पन्जामा परेको सिकार लत्र्याकलुत्रुक परेझैँ भयो । ‘ल उठौँ–उठौँ’ भन्दै बिल तिरेर सबै आआफ्नो बाटो लागे । पर पुगिसक्दा पनि उनीहरू देशकै चिन्तामा थिए । ‘स्यान्तारामकाे नसामा झ्याम्म हुँदै दशे बारे चिन्तित उनीहरु के भोलि देशको हालतमा पनि चिन्तित हुन्छन् त ?

Leave a Reply

Your email address will not be published.