सिन्धुलीका ४ वटा स्थानीय तह अझै भाडाको घरमा

बाबुराम देवकोटा
सिन्धुलीमाढी / सिन्धुली जिल्लामा रहेका ९ वटा स्थानीय तह मध्ये अझै चार वटा स्थानीय तहले भाडाको घरबाट आफ्नै दैनिक प्रशासनिक काम सञ्चालन गरि रहेको पाईएको छ ।

सिन्धुलीको तीनपाटन गाँउपालिकाको निर्माणाधिन भवन । तस्बिर : बाबुराम देवकोटा, सिन्धुली

जिल्लाको दुधौली नगरपालिका, तीनपाटन गाँउपालिका, सुनकोसी गाँउपालिका र घ्याङलेख गाँउपालिकाले अझै भाडामा लिएको घरबाट सेवा प्रवाह गरि रहेको जनाएका छन् । यतिखेर यी सबै पालिकाले आफ्नो भवन धमाधम बनाई रहेको बताएका छन् ।

तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगर अहिले उक्त पालिकाको सुविधा सम्पन्न भवन धमाधम बनि रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बिगत दुई बर्षदेखि पाँच करोड ५३ लाख रुपिया लागतमा पालिकाको भवन धमाधम बनि रहेको छ । सम्झौता अनुसार ठेकेदारले २०७९ साल असार २५ गते बुझाउनु पर्ने हो । तर यहि रफ्तारमा काम भई रहे अब आउने पुस÷माघमा बुझाउला जस्तो छ ।’

अहिले पालिकाको केन्द्र रहेको चकमके बजारमा विभिन्न व्यक्तिको घर भाडामा लिएर सेवा प्रवाह गरि रहेको र बार्षिक १९ लाख रुपिया भाडा बापत बुझाउदै आएको उहाँको भनाई छ ।

गाँउपालिका अध्यक्ष थापामगरका अनुसार उक्त लागत मध्ये दुई करोड १६ लाख रुपिया राष्ट्रिय योजना आयोगको सहयोग रहेको छ । बाँकी रकम गाँउपालिका आफ्नै लगानी रहेको छ । तीनपाटन गाउँपालिका–११ चकमकेमा रहेको सार्वजानिक जग्गामा भवन बनाउन थालिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाका अनुसार भवन निर्माण पश्चात एकिकृत सेवा प्रवाह हुने र सेवाग्राहीलाई समेत सहज हुने छ । घर भाडामा लिएर गाउँपालिका चलाउँदा अहिले धेरै भवनमा कार्यालय राख्नु पर्ने अवस्था छ । गाउँपालिकाको झण्डै दुई विगाहा जग्गामा गाउँपालिकाको प्रशासनिक भवनसहित अन्य एकिकृत भवन निर्माण भइरहेको छ ।

त्यस्तै दुधौली नगरपालिकाले भने दुई ठाँउमा प्रशासनिक भवन र बिषयगत कार्यालयको भवन दुई बर्षदेखि निर्माण भई रहेको जनाएको छ । नगरपाकिाका मेयर घनश्याम राउतले दुई ठाँउमा निःशुल्क जग्गा उपलब्ध भएकोले दुई तीर भवन बनाउनु परेको सुनाउनुभयो ।

उहाँका अनुसार नगरपालिकाको आफ्नै पाँच करोड रुपिया लगानीमा प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेकोछ । अबको तीन÷चार महिनामा यो भवनको निर्माण कार्य सकिने छ ।

अर्को बिषयगत कार्यालयको भवन भने नगरपालिका र सङघिय सरकारको गरी १५ करोड रुपिया लागतमा धमाधम निर्माण भई रहेको छ । यो भवन भने निर्माण पुरा गर्न अझै दुई बर्षजति लाग्ने अनुमान गरिएको मेयर राउतले जानकारी गराउनुभयो । अहिले नगरपालिकाले कार्यालय सञ्चालन गर्न लिएको भवनको मासिक रुपमा दुई लाख रुपिया भाडा बुझाउदै आएको जनाएको छ ।

त्यस्तै घ्याङलेख गाँउपालिकाले पनि एक करोड रुपियाको लागतमा दुई ठाँउमा भवन निर्माण गरेको र नयाँ भवनमा सर्न बाँकी रहेको जनाएको छ । ‘भर्खर भवन निर्माण सकेका छौ,’ गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले भन्नुभयो, ‘भदौबाट आफ्नै भवनबाट सेवा प्रवाह गर्ने योजनामा छौं ।’

उहाँले अहिले विद्यालयको भवन भाडामा लिएर पालिकाको सेवा प्रवाह गर्दै आएको र भाडा बापत मासिक ३० हजार रुपिया विद्यालयलाई बुझाउदै आएको जानकारी दिनुभयो । पछिल्लो समय स्थानिय तहको आफ्नै कार्यालय भवन निर्माण हुने क्रम धमाधम छ ।

मरिण गाउँपालिका पनि गत चैत महिनामा आफ्नै सुविधा सम्पन्न भवनमा सरिसकेको छ । यस्तै सुनकोशी गाउँपालिकाले धमाधम भबन बनाइरहेको गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले बताउनु भयो ।

जिल्लामा हाल कमलामाई नगरपालिका, गोलन्जोर गाँउपालिका, फिक्कल गाँउपालिका, हरिहरपुरगढी गाँउपालिकाले मात्रै आफ्नै भवनबाट सेवा प्रवाह गरि रहेको पाईएको छ ।

Leave a Reply

Your email address will not be published.