स्थानीय तह जोड्ने ग्रामीण सडक भताभुङग

बाबुराम देवकोटा
सिन्धुलीमाढी, सिन्धुली जिल्लामा स्थानीय तहलाई जोड्ने ग्रामीण सडकहरु बर्षाले भत्किदा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।
जिल्लामा केही दिनअघि आएको अबिरल बर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट तीनपाटन गाँउपालिकाको केन्द्र जाने चकमके सडक, गोलन्जोर गाँउपालिकाको खनियाखर्क–कमारेभन्ज्याङ सडक, बीपी राजमार्गको सोलाभन्ज्याङ–नागी मझुवा लगायतका सडक भत्किएको स्थानीयले गुनासो गरेका छन् ।

सिन्धुलीको माझीटार–चमकके सडक अन्तर्गत माझीटार जिर्घाखोला खण्डको जीर्ण सडक । तस्बिर :बाबुराम देवकोटा, सिन्धुली

सदरमुकाम सिन्धुलीमाढी–चकमके सडक अन्तर्गत सदरमुकामको माझीटारदेखि जिर्घाखोलासम्म १२ किलोमिटर सडक निकै कष्टकर बनेको स्थानीय शिक्षक जनार्दन कोईराला गुनासो गर्नु हुन्छ । उहाँले भन्नुभयो, ‘माझीटारदेखि नै जिर्घासम्मको सडक रोपाइँ गर्न ठिक्क पारेजस्तै छ । उक्त

उक्त सडक बागमती प्रदेश सरकारको आर्थिक सहयोग ३५ लाख रुपियामा ठेक्का लागेर गत बर्षदेखि काम सुरु गरेको भएपनि सडकको स्तरउन्नतीसँगै बर्षाले झन् हिड्नै नसक्ने गरी उल्टै बाटो बिगारेका खण्डमा सडक यात्रा निकै कष्टकर बनेको छ ।’ उहाँले सुनाउनुभयो ।
त्यस्तै बीपी राजमार्गको खनियाखर्कदेखि कमारेभन्ज्याङ जोड्ने ग्रामीण सडकको अवस्था पनि उस्तै रहेको स्थानीयको गुनासो छ । गोलन्जोर गाँउपालिका–५ हिर्दिङ निवासी बिबस थापाका अनुसार उक्त सडक अन्तर्गत पनि बागमती प्रदेश सरकारको सहयोगमा गत बर्षदेखि चार किलोमिटर कालो पत्रे सुरु भई डेढ किलोमिटर काम सकिएको थियो । अहिले पिच भएको डेढ किलो मिटर त कतैकतै नदेखिने र गुणस्तरहिन काम भएकोले पिच भत्किएको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘गाँउमा कालोपत्रे सडक निर्माण सुरु हुदा हामी सबै मख्ख थियौ । राम्रो सडक बन्न लाग्यो भनेर । अहिले सडकको दुर्दशा हेदा कस्लाई के भन्ने !’

तीनपाटन गाँउपालिकाकै केन्द्र चकमकेदेखि आम्बोटे र बाहुनतिल्पुङ जाने सडक पनि केही दिनअघि आएको बर्षाले बिगारेर क्षती गरेको भएपनि मर्मत गर्न सुरु गरेको गाँउपालिकाले जनाएको छ । गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले बर्षाले क्षती गरेको उक्त सडक मर्मत गर्न सुरु गरिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘माझीटार–चकमके सडकको सबैभन्दा बढी नगरपालिका क्षेत्रमा क्षती भएको छ, गाँउपालिका क्षेत्रमा त खासै क्षती भएको छैन ।’

ग्रामीण सडक वर्षाले भत्किएसँगै यातायात सञ्चालन गर्न समस्या परेको यातायात व्यवसायिले बताएका छन् । पानीले सडक भत्किएपछि जोखिम मोलेर यातायात सञ्चालन गर्नु परेको सुनौलो यातायात व्यवसायी समितिका अध्यक्ष कान्छामान बलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.