असारमा कृषि कर्म र असारे गीतको सान्दर्भिकता

नेपालमा अधिकांश मानिस कृषि पेशामा संलग्न छन् । यहाँका मानिसले ऋतु अनुसार विभिन्न कृषि कर्म गर्ने गर्छन् । असार, साउन महीनामा धान रोपाइँ गरिन्छ । उक्त समयमा बिउ काढ्दा, खेत हिल्याउँदा, धान रोप्दा र आली लगाउँदा गाइने गीतलाई असारे गीत भनिन्छ । असारे गीतलाई स्थान अनुसार कतै बाली, कतै रोपाइँ भनिन्छ । यो गीत एकल, समूह र दोहोरीमा गाइने कर्म गीतको रूपमा लोकप्रिय छ । हाम्रो देशमा मात्र होइन संसारका अन्य मुलुकमा पनि खेतीपाती गर्दा हलो जोत्दा, कोदो-मकै गोड्दा आदिमा ऋतु अनुसारका कर्म गीतहरू गाइने गरेको उल्लेख पाइन्छ । नेपालमा यो वर्ष समयमा पानी परेकोले किसानले समयमै धान रोप्न शुरू गरेका छन् । किसान उत्साहित छन् ।

जताततै खेतमा धान रोप्नेको चटारो छ । सबैका खेतमा छुपुछुपु धान रोपिरहेका छन् । धमाधम खनजोत भइरहेको छ । भनिन्छ असार मानो रोपेर मुरी उब्जाउने समय हो । किसानलाई एकछिन फुर्सद छैन । वर्षभरि खाने अन्न धान मुख्य बाली हो । यो बाली लगाउँदा कडा मिहिनेत र परिश्रम गर्नुपर्ने हुन्छ । बर्खेझरीमा रुझेर कडा परिश्रम गर्दा थकान भएको शरीरमा स्फूर्ति प्राप्त गर्न र थकान मेट्न, एकोहोरो काम गर्दा दुख्ने शरीरको दुखाइ बिर्सन र कामको मेलो सार्नका लागि असारे गीत गाउने गरिन्छ । शुरुमा धान रोपाइँ गर्दा कतिपय स्थानमा सिमे भूमे देवीदेवताको स्तुतिगान गरेर रोपाइँ शुरू गर्ने चलन पनि रहेको छ । असारे गीतको उदाहरण यसप्रकार रहेको छ :

एकै र मुठी खरीको घाँस भेडीको थुमेलाई आहै
बेलैको गावो बेलैको मुठी सुमी र भूमिलाई आहै

यसरी रोपाइँ शुरु गर्दा यस्ता गीत असारे गीतको रूपमा गाइन्छ । गाउँघरमा खेत रोप्दा यस्ता गीतहरू सुरिलो भाका, कण्ठमा घन्काउँदै हिलो छ्यापाछ्याप गर्ने गरिन्छ । घरमुलीलाई बिउको माला लगाइदिने गरिन्छ । ठूलाबडा साहु महाजनको रोपाइँमा पञ्चेबाजासहित असारे गीत घन्काउने गरिन्छ । उत्सव जस्तै गरी घ्यू राखेको खाजा, अचार, दही, चिउरा र अन्य परिकार खाने खुवाउने चलन रहेको पाइन्छ । २० देखि २५ हल गोरु नारेर हिलो पार्ने हली दाइ, कोदाली चलाएर माटो सम्याउने बाउसे दाइ र दुई हातले बिउ फाजेर एक हातले बिउ समाइ एक हातले रोप्ने रोपाहार दिदीबहिनी खेतमा रङ्गीविरङ्गी फूल फुलेझैं जम्मा भएर निकै रमाइलो र उत्साहपूर्वक असारे गीत घन्काउने गरेको पाइन्छ । असारे गीत बिहानको झुल्के घाम लाग्दाबाट शुरु गरी दिनभर कहिले झम्टी झम्टी परेको झरीमा रुझ्दै त कहिले टन्टलापुर घामसँग बयली खेल्दै काम गरेर मिर्मिरे साँझमा घर र्फकंदासम्म गाउने गरिन्छ । यस्ता बेला गाउने गीतको एक उदाहरण :

दाहिने लायो पिपलु त बायाँ लायो वर आहै
पर्ख पर्ख हली दाजुसँगै जाम्ला घर आहै
पातको बेरी लौ भन फेरि सँगै जाम्ला घर

यस गीतमा दिनभर काम गरेर घरमा हली बाउसे चाँडै जाने चलन छ तर टाढाको पायक पर्ने महिला रोपाहारलाई कहिलेकाहीं मेलो सक्दा रात पनि परिसकेको हुन्छ । यस्तो रातको समयमा महिला रोपाहारलाई घर जाँदा बाटोमा डर लाग्ने र रोप्दा झर्को लाग्ने भएकोले हली र बाउसेलाई सँगै घर जाउँला भनी आग्रह गरिएको छ र नेपाली समाजको यथार्थ चित्रण यस गीतले अभिव्यक्त गरेको छ ।

असारे गीतमा असार महीनाको प्रकृति चित्रण, युवायुवतीको मायाप्रेम भाव र महिलाका कथा-व्यथा पोख्ने गरेको पाइन्छ । विशेषगरी असार साउन कहिले झरी पर्ने कहिले टन्टलापुर घाम लाग्ने भएकोले त्यो समय खनजोत र रोप्न निकै दुःख-कष्ट हुन्छ । यस्तो बेलामा शीतल छायाँ र पानी ओत्ने ओत वा स्थान विशेषलाई पनि असारे गीतमा अभिव्यक्त गरिन्छ । त्यस्तै असारे गीतमा किसानको समस्या, लाहुरेको सम्झना, धर्ती, आकाश, कामको महत्त्व, रोपाइँको खुशियाली पनि गाइने गरिन्छ । बेलाबेलामा हली, बाउसे र रोपाहार बीच हाँसोठट्टा र रमाइलो गर्दै दोहोरीका रूपमा पनि असारे गीत गाउने गरेको पाइन्छ । हाँसोशैलीको असारे गीतको पङ्क्ति यसप्रकार रहेको छ :

चुलामा माथि तखतामा चुराका खपटा ए हो
हातमा बिउ सकियो केटाले तेरो जगटा ए हो
आज रोपाइ भोलि रोपाइ केराउका बिरम्ला ए हो
धानैमा रोप्ने खेतालीका सुकेका बिरम्ला ए हो

यसरी हँस्यौली गीत गाएर दुःख बिर्साउन र समय कटाउन यस्ता गीत गाउने गरेको पाइन्छ ।

केही वर्ष अगाडि यस किसिमको रोपाइ गर्दा बेठी लगाउने चलन पनि रहेको पाइन्छ तर आजभोलि यो चलन रहेको जानकारीमा छैन । त्यस्तै असारे गीतमा राजा-महाराजाको चरित्र चित्रण र साहुमहाजनबाट दिएको दुःख, अन्याय, अत्याचार शोषण विरुद्ध विद्रोहका स्वर पनि पछिल्लो समयमा असारे गीतमा गाइने गरेको पाइन्छ ।

घामको पानीमा पर्‍यो टल्केर ऐनाझैं आहै
निर्दयी साहुको मेलामा जाँदा दिन पनि महीनाझैं आहै
सिन्दुरे गोरु सिरान पुग्यो नौलो गाई पुछार आहै
गरीबमारा नमासेसम्म हुँदैन उच्छार आहै

असारे गीतमा सरल स्वाभाविक बोलीचालीको भाषा प्रयोग गरिएको पाइन्छ । स्थानीय लोकजीवनको शब्दहरू अहै, एहै र लौतो वा लौ लौ लगायत आदि थेगोको प्रयोगले असारे गीत अन्य कर्मगीत भन्दा रसिलो र श्रुतिमाधुर्यले गर्दा लोकपि्रय रहेको छ । यस्ता प्रकारको नेपाली संस्कृतिको संरक्षण सम्वर्द्धन र जगेर्ना गर्नु सबैको कर्तव्य हो । आजभोलि खेतमा गएर हिलो खेल्ने, फोटो खिच्ने र सामाजिक सञ्जालमा राख्ने प्रवृत्ति बढेको छ । यसले वास्तवमा हाम्रो परम्परित संस्कृतिको जगेर्ना गर्न सक्दैन तसर्थ यसतर्फ सबैको ध्यान जान जरूरी देखिन्छ ।

किसानले मरीमरी काम गरिरहेका छन् । वर्षेनि असार १५ मा राष्ट्रिय धान दिवस मनाइने गरिन्छ तर पनि हाम्रो देश धानमा आत्मनिर्भर हुनसकेको छैन । हामी कहाँ चुक्यौं ? यो सोचनीय विषय छ । किसानले समयमा मल बिउ पाउनुपर्दछ । किसानको माग सम्बोधन गर्न गरिएका जे-जति पहल छन् त्यसलाई लागू गर्दै सकारात्मक सोचका साथ सबैको सहयोगको खाँचो छ । किसानको लागि प्रदान गरिने अनुदान र आधुनिक यन्त्र-उपकरणहरू वास्तविक किसानले पाउन नसकेको कतिपय स्थानमा सुन्नमा आएको पाइन्छ । अनुगमनको पाटोमा सम्बन्धित निकायको ध्यान जाओस् ।

२०७८ सालले सम्पूर्ण किसानको मनमा उमङ्ग र उत्साह छाओस्, ओठमा मुस्कान आओस् । निधारमा मोतीका दानासरी पसिना टल्काउने किसानलाई अभिनन्दन र शुभकामना ।

Leave a Reply

Your email address will not be published.