खोलाको कटानबाट विद्यालय भवन असुरक्षित

बाबुराम देवकोटा
सिन्धुलीमाढी । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिका–७ क्यान भुताहास्थित कुन्तेश्वरी प्रावि क्यानखोलाको कटानबाट जोखिममा परेको छ ।

विद्यालय नजिकै रहेको गाँउपालिका अध्यक्षको नीजि जग्गामा बनाएको माछा पोखरीमा पानी भर्न ल्याएको क्यान खोलाको निकास पानीले जमिन कटान गर्दा विद्यालय जोखिममा परेको स्थानीयको गुनासो छ । अहिले स्थानीयका अनुसार अहिले विद्यालय छेउबाट नाला बनाएर निकास पानी कटाउने व्यवस्था मिलाएपनि त्यसले राम्रो काम गरेको छैन ।

उक्त विद्यालयका प्रधानाध्यापक मणिराम दाहाल विद्यालयनै बगाउने अवस्था आएपछि आफुले गत जेठ महिनामा वडा कार्यालयमा लिखित रुपमा नै जानकारी गराएको भएपनि हालसम्म सुनुवाई नभएको गुनासो गर्नु हुन्छ ।

उहाँले भन्नुभयो, ‘गत चैत महिनातिर विद्यालय नजिकको जमिन (फिल्ड) गाँउपालिकाले सम्याउदा विद्यालय भवन पछाडीको भित्तो पनि झारेपछि अहिले झन जोखिम बढेको छ । मैले उक्त भित्तो नकाट्नु भनेको थिए, म विद्यालयको कामको सिलसिलामा सिन्धुली गएको बेलामा आएर फिल्ड सम्याउदा विद्यालय भवन भएको भित्तो पनि काटेर झारेछन् ।’

अब अहिले बच्चा राखेर पढाउन सक्ने अवस्था नभएको उहाँले सुनाउनुभयो । प्रअ दाहालका अनुसार अहिले कोरोना जोखिमका कारण विद्यालयमा भौतिक उपस्थितीमा पठनपाठन बन्द गरिएकाले समस्या देखिएको छैन । तर विद्यालय खोलेर पठनपाठन सुरु भएपछि भने ठूलो समस्या आउने भएको छ । अहिले उक्त विद्यालयमा १२४ जना बालबालिका अध्ययनरत रहेका छन् ।

उक्त समस्या बारे स्थानीय राजनीतिक दल र जनप्रतिनिधिले चासो नलिएकोले मुद्धामामिला गर्दै नहिड्न अभिभावकहरुले सुझाब दिएपछि अहिले आफु चुप लागेर बसेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘तपाई पढाउन आएको कर्मचारी, दलका नेता र जनप्रतिनिधिले चासो नदिएपछि मुद्धामामिला नगर्नु स्थानीय अभिभावकले भनेपछि चुप लागेर बसेको छु । समस्या बारे बेलैमा किन जानकारी नगराएको भन्लान् भनेर वडा कार्यालयमा भने लिखित रुपमा नै जानकारी दिएको छु ।’

बिं. सं. २०३५ सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले दरबन्दिका तीन जना, बालविकासको एक जना र कार्यालय सहयोगी एक जना गरी पाँच जना कर्मचारी कार्यरत रहेका छन् । उक्त विद्यालय गाँउपालिका अध्यक्ष कार्साङ लामा आफै पढेको र आफ्नै गाँउको भएको स्थानीय अभिभावकको भनाई छ ।

यता गाँउपालिका अध्यक्ष लामा पनि माछा पोखरीका कारण समस्या सिर्जना नभएको दाबी गर्नु हुन्छ । उहाँले गाँउपालिकाको चार लाख रुपिया लगानीमा विद्यालय नजिकै रहेको फिल्ड पुर्न काम हुदा प्राविधिकले गल्ति गरेकोले अहिले समस्या आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले प्राविधिकलाई पनि गालि गरि सकेको छु । अब यो बर्ष विद्यालय नै अलिमाथि सार्ने योजना गाँउपालिकाले बनाएको छ । विद्यालय भवनका लागि जिल्ला (शिक्षा)बाटै पार्न एक नम्बरमा राखेर सिफारिस गरेका छौं । तर, जिल्लाबाट नभए गाँउपालिकाले आफ्नै स्रोतबाट भबन बनाउछौं ।’

Leave a Reply

Your email address will not be published.