Click Chautari

हरिहरपुरगढीको २१औं गाउँसभा : समृद्धिको दिशामा ‘शिक्षा, कृषि, पर्यटन र पूर्वाधार’ को बाटो

सिन्धुली, असार ९

Advertisement

हरिहरपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि दिगो विकास, आर्थिक सवलता र आत्मनिर्भरताको अभिष्ट बोकेको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले सोमबार सम्पन्न २१औं गाउँसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले ‘समृद्ध हरिहरपुरगढीको आधार, शिक्षा–कृषि–वन–पर्यटन र पूर्वाधार’ नारालाई मूर्त रूप दिन रणनीतिक योजना अघि सारेको छ।

अध्यक्ष वाइबाले संघ, प्रदेश, प्रतिनिधि तथा सरोकारवालाहरूको सल्लाह र पालिकाको आवधिक योजनालाई समेटेर सवल, वातावरणमैत्री र आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने अठोट व्यक्त गर्नुभयो। “नीति बनाउनु मात्रै पर्याप्त छैन, यसको प्रभावकारी कार्यान्वयन, अनुगमन र मूल्यांकन अझै महत्वपूर्ण छ,” उहाँको भनाइ थियो।

Advertisement

पूर्वाधार सुधारमा बल

प्रस्तावित कार्यक्रममा हरेक वस्ती र वडामा निर्माणधीन सडकहरूको स्तरोन्नति, सडकको नियमित मर्मत तथा झोलुंगे पुल निर्माणजस्ता पूर्वाधार विकास योजनाहरू प्राथमिकतामा राखिएका छन्। दीर्घकालीन असर पार्ने विद्यालय, स्वास्थ्य संस्था लगायतका ठूला योजनाहरूलाई आवश्यकताको आधारमा कार्यान्वयन गरिने उल्लेख छ। साथै, सहरीकरणलाई व्यवस्थित गर्न ‘एकीकृत जग्गा विकास’ को सम्भाव्यता अध्ययन नगर विकास कोषको साझेदारीमा अगाडि बढाइने भएको छ।

कृषि तथा पशुपालनमा व्यावसायिकता

गाउँपालिकाले कृषि उत्पादनलाई प्रवद्र्धन गर्न स्थानीय उत्पादन ‘तरबुजा’ लाई ब्रान्डिङ गर्ने, माटो परीक्षणमार्फत उर्वरता सुधार गर्ने तथा दूध, फलफूल र तरकारी ढुवानीका लागि डेलिभरी भ्यान सञ्चालनमा ल्याउने योजना अघि सारेको छ। भेटेरिनरी ल्याब स्थापना तथा कोल्ड स्टोरको व्यवस्थापनले किसानहरूलाई थप सुविधा दिने विश्वास गरिएको छ।

शिक्षा र स्वास्थ्यमा ठोस कार्यक्रम

शिक्षातर्फ कक्षा ८ र १० का उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान, विपन्न विद्यार्थीका लागि छात्रवृत्ति, छात्राहरूका लागि निःशुल्क सेनिटरी प्याड वितरण, खेलकुद पूर्वाधारको विकास तथा अतिरिक्त क्रियाकलापमा जोड दिने कार्यक्रम समावेश गरिएको छ। सामुदायिक विद्यालय सुधारका लागि ‘सामुदायिक विद्यालय समुदायले नै सुधारौं’ अभियान सञ्चालन गरिने उल्लेख छ।

Advertisement

स्वास्थ्यको क्षेत्रमा सुत्केरी महिलालाई अतिरिक्त प्रोत्साहन भत्ता, किशोरी र गर्भवती महिलाको पोषण सुरक्षा तथा १५ शय्याको अस्पताल भवन निर्माण कार्य सम्पन्न गर्न समन्वय गर्ने योजना समेत अघि सारिएको छ।

पर्यटन र सांस्कृतिक संरक्षणमा योजना

हरिहरपुरगढी किल्ला, जितपुरगढी, कुण्डपोखरी, लोहासुर पोखरीजस्ता ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण र प्रवद्र्धन गरी पर्यटन विकास गर्ने लक्ष्यसहित संघीय सरकारसँग समन्वय गरिने बताइएको छ।

सामाजिक सुरक्षातर्फ ध्यान

सहिद परिवारलाई निःशुल्क स्वास्थ्य बिमा, जीविकोपार्जनको लागि सीप तथा सहुलियतपूर्ण कर्जा, खरको छाना हटाएर सुरक्षित आवास निर्माणजस्ता कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएका छन्। टेलिकमको टावर निर्माण गरी सञ्चार पहुँच विस्तार गर्ने योजना समेत अघि सारिएको छ।

अध्यक्ष वाइबाले नीति तथा कार्यक्रममार्फत रोजगारी सिर्जना, सामाजिक न्याय र आर्थिक समृद्धि प्राप्तिको दिशामा गाउँपालिकाले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो। आवश्यकताको भीडमा सीमित स्रोत साधनको भरमा विकासको बाटो पहिल्याउँदै हरिहरपुरगढीले स्थानीय आवश्यकता अनुरूपको जनमुखी योजना प्रस्तुत गरेर गाउँ शासनलाई समावेशी र उत्तरदायी बनाउने प्रयत्न थालेको संकेत नीति तथा कार्यक्रमले दिएको छ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.