मेटिँदै सिन्धुलीगढीको अस्तित्व
काठमाडौंदेखि १ सय ५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीकमात्र नभइ आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो ।
अर्थात सिन्धुलीगढी नेपाल–अंग्र्रेज युद्धको जीवित दस्तावेज हो । नेपालको ऐतिहासिक राष्ट्रिय पहिचान बोकेको तथा विदेशी हमलालाई परास्त गराई राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढीले आधुनिक नेपालको निर्माणमा उत्तिकै महत्वपूर्ण योगदान बोकेको छ । वि.सं. १८२४ मा इष्ट इन्डिया कम्पनिका कप्तान किनलोकको नेतृत्वमा नेपाल कब्जा गर्न आएको २४०० अंग्रेज फौजलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले घरायसी हतियारबाटै पराजित गरेका थिए । जबकी बेलायती सेनासँग अत्याधुनीक हात हतियार रहेको थियो ।
संसारभर आफ्नो साम्राज्य जमाउँदै हिँडेका अंग्रेजले सिन्धुलीगढीमा पहिलोपटक गोर्खाली सेनासँगै हार बेहोर्नु परेको थियो । सोही कारण नेपालीको शीर सधैं उच्च छ र नेपालले आजसम्म स्वाभिमानी राष्ट्रका रुपमा यस क्षेत्रमा आफूलाई चिनाउँदै आएको छ ।
सिन्धुलीगढीमा नेपाली सेनाले प्राप्त गरेको सफलताकै कारण नेपालले विश्व इतिहासमा सुनौलो अक्षर कोर्न सफल भएको छ । यस कारणले पनि नेपाल कसैको औपनिवेशिक राष्ट्र बन्नु परेन । जसले नेपालीलाई गोर्खालीको पहिचान दिलायो ।
इतिहासकारको अध्ययन अनुसन्धान अनुसार त्यसबेला हाम्रा पु्र्खाको वुद्धि विकेकले सिन्धुलीगढी युद्ध नजितेको भए नेपालको एकीकरण असम्भवप्रायः थियो । हामी अंग्रेजहरूको उपनिवेश बनेर बस्नुपर्दथ्यो । अहिले नेपाल अभिवाज्य राष्ट्रका रुपमा रहन्थ्यो कि रहँदैनथ्यो भनेर यसै भन्न सकिँदैन । त्यसैले नेपालको इतिहासमा सिधुलीगढीलाई राष्ट्रिकै गौरव र सानका रुपमा लिन सकिन्छ ।
सिन्धुलीगढीमा त्यसबेला शत्रुलाई आक्रमण गर्न निर्माण गरिएका आड तथा दुर्गहरू अहिले पनि छन । गढीमा रहेका किल्ला, दरबार, अदालतको भग्नावशेष अहिले पनि देख्न सकिन्छ । कतिपय संरचनाको भग्नावशेष नै संरक्षण हुन नसक्दा धेरै सम्पदाहरु गायब भएका छन् । धेरै शिलालेखहरू हराएका छन् भने भएका शिलालेखको पनि संरक्षण गरिएको छैन ।
ऐतिहासिक किल्ला पर्यटकीय आकर्षणको केन्द्र अवश्य पनि हो । जापान सरकारको सहयोगमा पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग सिन्धुलीगढीबाटै निर्माण भएपछि यसको आकर्षण थप बढेको हो ।
स्वदेशीमात्र नभइ विदेशी पर्यटकले पनि सिन्धुलीगढीको ऐतिहासिकता तथा किँवदन्तीजस्तै लाग्ने मौलिक युद्धका विषयमा बुझ्न चाहने गरेका छन् । यसबाट त्यस क्षेत्रको पर्यटकीय महत्व थप बढेको छ ।
तर, पछिल्लो समय सिन्धुलीगढीमा पर्यटकीय विकासको नाममा जथाभावी भौतिक संरचना निर्माण सुरु हुँदा त्यसले यस गढीको मौलिक अस्तित्व नै समाप्त पार्ने हो कि भन्ने चिन्ता सबैमा बढेको छ ।
मेटिएको इतिहास
२०५२ साल फागुन १ गते रोल्पा र सिन्धुलीगढीमा रहेको प्रहरी चौकीमा एकसाथ आक्रमण गरेर तत्कालीन माओवादीले जनयुद्धको सुरुवात ग¥यो । उक्त जनयुद्धमा १७ हजारभन्दा धेरै नेपालीले ज्यान गुमाएको सत्य खोज्न अहिलेको पुस्ताले कुनै इतिहासको पाना पल्टाइरहनु पर्दैन ।
नेपालको इतिहासमा एउटा नमेटिने घटना हो माओवादी जनयुद्ध । जनयुद्ध सुरु हुँदा आक्रमण भएको सिन्धुलीगढीको प्रहरी चौकी पछिसम्म भग्नाषेशमा थियो । उक्त प्रहरी चौकी माओवादी जनयुद्धको संग्रहालय र युद्धको एउटा जीवित दस्तावेज नै बन्न सक्थ्यो ।
तर चौकी रहेको उक्त स्थानमा २ वर्ष अगाडि सिन्धुलीगढी स्मारक खडा गरिएको छ । चौकीको अस्तित्व अहिले देख्न सकिँदैन । अझ विडम्बना के छ भने त्यस बेला पृथ्वीनारायण शाहको छोरा रणबहादुर शाहले गढीको पुनर्निर्माण गरेर लेखिएको शिलालेख गढीको एउटा कुनामा फालिएको छ ।
अरू थुप्रै शिलालेखको संरक्षण गरिएको छैन । यद्यपि, सिन्धुलीगढी स्मारक बनाउने नाममा मेयर, गणपति र कर्णेलका नाम उल्लेख गरेर नयाँ शिलालेख खडा गरिएको छ । जसले गर्दा पुराना इतिहास मेटेर नयाँ इतिहास खडा गर्ने दुष्प्रयास भइरहेको छ । स्थानीय आफ्नो धरोहर मेटिँदा पनि टुलुटुलु हेरेर बसिरहन विवश छन । गढीमा यस्ता अरू कति पुराना ऐतिहासिक संरक्षणको अस्तित्व मेटिएको छ । त्यसको थप अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
एनआरएनको गुरुयोजना
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुलीगढीको गुरुयोजना बनाएर कमालामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ । बाहिर सार्वजनिक गरिएको गुरुयोजनाको एउटा एनिमेटड भिडियो हेर्दा आकर्षक त देखिन्छ । तर, सिन्धुलीगढीका संरचनालाई त्यसरी बिगार्ने हो भने गढीको अस्तित्व के नै रहला भन्ने प्रश्न पनि सँगसँगै उठेको छ ।
उक्त गुरुयोजनामा गढीलाइ डोमले छोपिएको, खुल्ला रुपमा रहेको टँुडिखेलमा हेलिप्याड र विभिन्न संरचना बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै घरवासको नाममा रिसोर्टको परिकल्पना गरिएको छ । त्यही योजनाअनुसार अहिले कमलामाई नगरपालिकाले सिन्धुलीगढी क्षेत्रमा रोसोर्ट बनाउन आशयपत्र माग गरेको छ ।
गैरआवासीय नेपाली संघले बनाएको सिन्धुलीगढी गुरुयोजना पुरातत्वको सहकार्यमा बनाएकोजस्तो देखिँदैन । यदि पुरातत्वको सहमतिमा त्यस्तो गुरुयोजना बनेको हो भने पनि पुरातत्वले पुरातात्विक मर्यादा कायम राख्न सकेन । पुर्खाले छोडेको ऐतिहासिक भूमि सिन्धुलीगढी पूर्ण रूपमा व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिने मनसाय देखिँदा गढीको मौलिक अस्तित्व यसरी सकिँदै छ ।
जथाभावी निर्माण हुदै भौतिक संरचना
मल्लकालमा उच्च रणनीतिक भूभागमा धेरै गढीहरु स्थापना गरिएको थियो । पूर्वदेखि पश्चिमसम्म अहिले पनि धेरै गढीहरुको भागनाशेष कायम नै छ । त्यहीमध्य सिन्धुलीगढी एक हो । त्यस बेला उपलब्ध सामग्रीले नै गढी स्थापना गरिएको थियो । कतिपय गढीहरुमा राजाहरूको बसोबासको लागि दरबार पनि निर्माण गरिएको थियो । त्यस बेला दुश्मनलाइ आक्रमण गर्न ढुंगाबाट निर्माण गरिएका बंकर, कोतघर, मन्दिर, पोखरी, इनार, ढुंगेधारा, शिलालेख, वास्तुकलाले भरिएको दरबार र पाटीपौवा, खुल्ला मैदान नै गढीÞको मौलिकता हो ।
अहिले गढीÞको पर्यटकीय विकासको नाममा जथाभावी भौतिक संरचना निर्माणको काम भइरहँदा त्यसले गढीको मौलिक अस्तित्व नै धरापमा पारेको छ । जथाभावी घर, स्मारक, सिमेन्टको सिँढी, सडक निर्माण भइसकेका छन । भवन, गेट, पार्क बनाउन धमाधाम टेन्डर भइरहेको छ । स्थानीय सरकार र प्रदेश सरकारले गढीमा नयाँ संरचना बनाउन प्रतिस्पर्धा गरिरहेका छन । यसरी निर्माण भइरहेका संरचनाले गढीको मैलिक अस्तित्व मासेर गढी क्षेत्रÞलाई सहरीकरण गर्ने योजनामा उद्यत देखिन्छन ।
युद्ध संग्रहालय
नेपाली सेनाले सिन्धुलीगढीमा युद्ध संग्रहालय बनाउन एकतले ट्रस भवनको डिजाइन सार्वजनिक गरेको छ । ४ करोड लागतमा बन्ने उक्त संग्राहलय कात्तिक २४ गते शिलान्यास हुँदैछ । अर्कोतर्फ प्रदेश सरकारकोे पुरातत्व विभागले तयार गरेको डिजाइनमा सिन्धुलीगढीमा रहेको राणाकालीन दरबारको पुनर्निर्माण गर्न टेन्डर गर्ने अन्तिम चरणमा छ ।
यो उही कात्तिक २४ गते नै शिलान्यास गरिँदैछ । जसको लागि प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरिसकेको छ । १४ ढोका र ५६ झ्याल भएको उक्त विशाल दरबार पुनर्निर्माण भइसकेपछि के गर्ने भन्ने बारेमा कुनै योजना बनिसकेको छैन ।
उक्त दरबारमा संग्रहालय स्थापना गर्नुको सट्टा संग्रहालयका लागि अलग्गै भवन निर्माण गर्नु आवश्यक छैन ।
गढीमा नयाँ भौतिक संरचना निर्माणको प्रतिस्पर्धाले यसरी कुरुप बन्दै गएको छ । एकदेखि अर्को सरकारी निकायबीच नै समन्वय छैन । गढीमा धेरैभन्दा धेरै संरचना बनाउने, उद्घघाटन गर्ने र शिलालेखमा आफ्नो नाम राख्ने होडबाजी नै चलेको छ । जसबाट पुरातात्विक मर्यादामा चोट पुगेको छ ।
विजय उत्सवको भ्रम
विभिन्न सरोकार निकायको सक्रियतामा २०७६ सालदेखि हरेक वर्षको कात्तिक २४ गते अग्रेजसँग युद्ध जितेको अवसरमा विजय दिवस मनाउने गरिएको छ । गढीको प्रचारप्रसार र इतिहासको सम्मानमा यो प्रशंशनीय कार्य हो । तर सिन्धुलीगढीमा युद्धको मिति यकिन गर्न अध्ययन र छलफल हुँदा असोज १५ गते विजय हासिल तथ्य प्रमाणित भएको छ ।
गढीको युद्ध सम्बन्धमा समृद सिन्धुली अभियानले पर्यटन बोर्डको हलमा आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा इतिहासविद् प्राध्यापक दिनेशराज पन्त र नेपाली सेनाका पूर्व महासेनानी एवं गढी तथा किल्ला विशेषज्ञ डा. प्रेमसिंह बस्न्यातले सिन्धुलीगढी युद्धले असोज १५ गते नै विजय प्राप्त गरेको पुष्टि गरेका छन ।
कमलामाई नगरपालिकाले २ वर्ष अगाडि स्थापना गरेको स्मारकमा समेत असोज १५ गते विजय भएको लेखिएको छ । इतिहासको तथ्य बाहिर आइसक्दा समेत कात्तिक २४ गते नै विजय दिवस मनाइरहँदा त्यसले बिस्तारै इतिहास तोडमोड हुने चिन्ता छ ।
विजयउत्सव वर्षभरी मनाउन सकिन्छ तर विजय दिवस यकिन मितिमा मनाउनुपर्छ । असोज १५ गते कुनै कार्यक्रम नगर्ने र स्थानीय सरकारले सार्वजनिक बिदा दिएर कार्तिक २४ गते विजय दिवस मनाइरहदा ऐतिहासिक तथ्यलाई गलत सावित गर्ने प्रयास भएको देखिन्छ ।
अबको बाटो
गढीको पुरातात्विक मौलिकता र अस्तित्व जोगाइराख्न अहिले भइरहेका निर्माण तत्काल रोकिन आवश्यक छ । गढीमा नयाँ संरचनाभन्दा पनि गढीमा रहेको पुरानो संरचना जस्ताको तस्तै हेर्न नै पर्यटक आउने हुन ।
आधुनिक पार्क, सिँढी, सडक, भवन जहाँ त्यही देखिन्छ । ती संरचना गढीमा बनाइराख्न आवश्यक छैन । पहिलाको समयमा ढुंगाबाट निर्माण गरिएका बंकर, कोतघर, मन्दिर, पोखरी, इनार, ढुंगेधारा, शिलालेख, वास्तुकलाले भरिएको दरबार, पाटीपौवा, खुल्ला मैदान जे जस्तो अवस्थामा छ जोगाइराख्ने र आवश्यक अनुसारको संरचना मात्र पुनर्निर्माण गर्नुपर्छ ।
पुरानो दरबारको पुनर्निर्माण भइरहँदा संग्रहालयको नाममा नयाँ भवनको आवश्यक हुँदैन । उक्त दरबारमा नै संग्रहालय राखिँदा उत्तम हुन्छ । पुरानो चौकी भएको ठाउँमा स्मारक बनाउन मिल्दैन । स्मारक बनाउन परे पनि उपयुक्त स्थानको छनोट गरिनुपर्छ । गढीको पुनर्निर्माण हुँदा पौराणिक र पुरातात्विक मूल्य र मान्यता जोगाउँदै गढीको पुनर्निर्माण हुनुपर्छ । यो सकिँदैन भने नियमित सरसफाइ गरेर भग्नावशेसको संरक्षण गरेमात्र पनि पुग्छ ।
अन्त्यमा,
यस्ता ऐतिहासिक धरोहर र सम्पदाको संरण गर्ने दायित्व पुरातत्व विभागको हो । तर विभागले यसमा खासै चासो र सक्रियता देखाएको देखिँदैन । कतिपय ऐतिहासिक स्थलमा ऐतिहासिक मर्यादा विपरीतको पुनर्निर्माण पुरातत्वको समन्वय भइरहेको उदाहरण धेरै छन । जस्तै, रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर मल्लकालमा तत्कालीन कलाअनुसार ग्रन्थकुट शैलीमा निर्माण भएको थियो । पछि पुनर्निर्माण हुँदै जाँदा मन्दिरको स्वरूप परिवर्तन हुँदै गए ।
२०७२ को भूकम्पले ध्वस्त भएको उक्त मन्दिरको पुनर्निर्माण पुरातत्वले राणाकालीन गुम्बज शैलीमा निर्माण गर्ने अडान राखेको थियो । तर नागरिकस्तरबाट निरन्तर खबरदारी भएपछि मात्र पुरातत्व पछि हट्यो । अहिले रानीपोखरीको बालागोपालेश्वर मन्दिर मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण हुँदैछ ।
त्यसैले ऐतिहासिक सम्पदाको संरक्षण र पुनर्निर्माणमा पुरातत्वको मात्र भर परेर हुँदैन । नागरिक स्तरबाट पनि निरन्तर खबरदारी आवश्यक छ र सिन्धुलीगढीमा पनि जथाभावी संरचना बन्नबाट रोक्नैपर्छ ।
स्रोत : भुवन थापाको ब्लग
Discussion about this post