Click Chautari

किसानलाई जुनारका बिरुवा रोप्न भ्याइनभ्याई

बाबुराम देवकोटा

गोलन्जोर गाउँपालिका –४ माझकुभिण्डेमा रहेको एक किसानको जुनार नर्सरी । तस्बिर : बाबुराम देवकोटा

सिन्धुली । गोलन्जोर गाउँपालिका –५ रतनचुरा निवासी किसान शंकर योगीले यो वर्षको मनसुन सुरु भएसँगै भर्खर एकसय बोट जुनारका बिरुवा रोप्नुभएको छ ।
उहाँले ती जुनारका बिरुवा रोप्न आफ्नो पाखो बारीमा गत जेठ महिनामा नै खाल्डा खनेर गाईबस्तुको मल हाली तयार गरेर राख्नुभएको थियो । किसान योगीले भन्नुभयो, ‘जुनारका बिरुवा रोप्न डेढदेखि दुई महिनाअघि नै खाल्डो खनेर राख्नुपर्छ । सोहीअनुसार मैले तयारी गरेको थिएँ । मनसुन सुरु भएसँगै गाउँकै नर्सरीबाट बिरुवा ल्याएर रोपें ।’
आफूले यो वर्षदेखि जुनारको व्यावसायिक रुपमा खेती गर्न थालेको र अहिले फल दिँदैगरेको आफैलाई खानका लागि रोपेको आठ–दश बोट जुनार रहेको पनि उहाँले सुनाउनुभयो । किसान योगीलाई जस्तै मनसुन सुरु भएसँगै जुनार खेती गर्ने किसानलाई यतिखेर जुनारका बिरुवा रोप्न भ्याइनभ्याई छ ।
हरेक वर्ष असार महिना जुनारको बिरुवा रोप्ने मुख्य सिजन भएको किसानले बताएका छन् । सोही ठाउँका किसान ज्ञानबहादुर योगीले पनि भर्खरै ६० बोट जुनारका बिरुवा रोप्नुभएको छ । उहाँले सरकारी अनुदानको प्रतिविरुवा ४५ रुपियाँ हालेर रोपेको बताउनुभयो । धान, मकै, कोदो खेतीको तुलनामा झण्डै तेब्बर नै आम्दानी हुने हुनाले आफू जुनार खेतीतिर लागेको उहाँको भनाइ छ ।
त्यसो त जिल्लामा भएका नर्सरी धनीलाई पनि आफ्ना जुनारका बिरुवा बिक्री गर्न भ्याई नभ्याई छ । गोलन्जोर गाउँपालिका –५ स्थित महाभारत मिश्रित जुनार बगैंचा तथा फलफूल नर्सरी उद्योगका सञ्चालक बुद्धिबहादुर पाल्पालीलाई पनि जुनारका बिरुवा बिक्री गर्ने चटारो छ ।
उहाँले आफूसँग भएको पाँच हजार जुनार र दुई हजार कागतीको बिरुवा बिक्री गरिसकेको सुनाउनुभयो । नर्सरीधनी पाल्पालीले भन्नुभयो, ‘मेरो सबै सरकारी अडरका बिरुवा थिए । गाउँ वरपर, जिल्लाभित्रका अन्य ठाउँ, सोलु र खोटाङसम्मका किसानले आएर किनेर लगे । प्रतिगोटा ४५ रुपियाँले बिक्री भयो ।’
उहाँसँग जुनारका बिरुवा उत्पादन गर्ने तीनवटा स्क्रिन हाउस छ । सरकारी अनुदान नहुनेले स्क्रिन हाउसभित्रको बिरुवा एकसय रुपियाँदेखि एकसय २५ रुपियाँसम्ममा बिक्री गरेको उहाँले जानकारी दिनुभयो ।
जुनारको बिरुवा रोप्ने मुख्य सिजन भएकाले बिरुवा बिक्री गर्दै आफ्नो दैनिकी बित्नेगरेको गोलन्जोर गाउँपालिका –४ तीनकन्याका नर्सरीधनी हीरा रानामगर बताउनुहुन्छ । ‘हरेक बर्ष मनसुन सुरु भएपछि जुनारको बिरुवा बिक्री गर्ने सिजन पनि सुरु हुन्छ’ उहाँले भन्नुभयो, ‘उनले अहिलेसम्म दुई हजार जुनारका बिरुवा एकसय रुपियाँ गोटाले बिक्री गरिसकें ।’

जुनारको बिरुवा उत्पादन गर्न जुनार सुपरजोनको ८५ प्रतिशत अनुदानसहित करिब चार लाख रुपियाँ खर्च गरी यो वर्ष एउटा स्क्रिन हाउस बनाएको र पहिलो वर्ष भएकाले त्यति धेरै बिरुवा उत्पादन नभएको उहाँको भनाइ छ ।
कलमी बिरुवाबाट उत्पादन छिट्टै लिन सकिने भएकाले किसान पनि कलमी बिरुवाप्रति नै आकर्षित भएका नर्सरीधनीहरुको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपरजोनका अनुसार सिन्धुलीमा जुनारका बिरुवा उत्पादन गर्ने नर्सरी २३ वटा दर्ता भएका छन् । तीमध्ये १४ वटा नर्सरीले बिरुवा उत्पादन गर्दैआएका छन् ।
परियोजनाका कृषि प्राविधिक जहानबहादुर कार्कीका अनुसार किसानले हरेक वर्ष जुनारका बिरुवा रोप्न वैशाख महिनामा नै खाल्डो खनेर कम्पोष्ट मल हालेर तयार गर्छन् । मनसुन सुरु भएपछि तयार गरेको खाल्डोमा जुनारका बिरुवा रोप्न किसानलाई भ्याइनभ्याई हुने गरेको छ ।
जिल्लामा बार्षिक रुपमा २५ देखि ३० हजार जुनारका बिरुवा बेच्नयोग्य उत्पादन हुने तर दुई लाखभन्दा बढी उत्पादन हुँदैआएको उहाँले जानकारी दिनुभयो । जुनारका बिरुवा उत्पादन गर्न सुपरजोनले किसानलाई स्क्रिन हाउस निर्माणमा अनुदान, आवश्यक सामग्री, बिरुवाको निःशुल्क पिसआर परीक्षण, प्राविधिक सेवा दिँदै उहाँको प्राविधिक कार्कीको भनाइ छ ।
सिन्धुलीमा दुई हजार जुनार किसान सुपरजोन कार्यालयमा सूचीकृत छन् भने ३५ सयको हाराहारीमा किसानले जुनार खेती गर्दैआएका छन् । परियोजनाको कार्य क्षेत्रमा जुनार खेतीले दश हजार पाँचसय हेक्टर ढाकेको छ । जिल्लामा जुनार खेती हुँदैआएको कुल क्षेत्रफल करिब १३ हजार हेक्टर छ । गएको सिजनमा जिल्लामा जुनार उत्पादन नौ हजार पाँससय मेट्रिक टन भएको जुनार प्राविधिक कार्कीले जानकारी दिनुभयो ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.