क्लिक चाैतारी समाचारदाता
जेठ ४ / सिन्धुली, । ठेकेदारको ढिलासुस्तीले सिन्धुली जिल्लाको घ्याङलेख गाँउपालिकाको प्रशासकिय भवन निर्माण कार्यले गति लिन सकि रहेको छैन ।
भवन निर्माणका लागि डेढ बर्षको म्याद पाएको निर्माण कम्पनीले सम्झौता भएको दुई बर्ष नौ महिना समय वितिसक्दा पनि ४५ प्रतिशत मात्रै प्रगती भएको गाँउपालिकाले जनाएको छ । गाँउपालिकाका अनुसार उक्त भवन निर्माणका लागि १८ महिनामा सक्ने गरी पिपि ईश्वरी जेभि मन्थली, रामेछापले २०७९ साल भदौ ३१ गते सम्झौता गरी निर्माण सुरु गरेको थियो । त्यसपछि दुई पटक छ÷छ महिना म्याद थप गर्दा पनि ४५ प्रतिशत मात्रै भवन निर्माण कार्य सकिएको छ ।
गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले सम्झौता गरेको सुरुको म्याद सकिएर दुई/दुई पटक म्याद थप गर्दा पनि भवन निर्माण आधा पनि नसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ठेकेदारले काम नगरेर भवन निर्माणमा ढिलाई भए रहेको छ, काम गर्दैन । पटक/पटक मौखिक र लिखित ताकेता गदौ थाकि सक्यौ । भन्दा भन्दा वाक्क दिक्क भई सकियो ।’
दुई महिना अघि ढलान सकेको र अव गाह्रो लगाउन बाँकी रहेको उहाँले सुनाउनुभयो । प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलका अनुसार पछिल्लो पटक फागुन महिनामा चैतबाट लागू हुने गरी छ महिनाका लागि म्याद थपेके र अब भवन निर्माणको म्याद २०८२ भदौसम्म रहेको छ । ठेकेदारको लापर्बाहीले अबको चार महिनामा भवन निर्माण कार्य पुरा हुने अवस्था देखिदैन ।
उक्त प्रशासनिक भवनको निर्माण लागत सङ्घिय सरकारको तीन करोड ३७ लाख ९५ हजार ६५७ रुपिया र गाँउपालिकाको दुई करोड २५ लाख ३० हजार ४३८ रुपिया गरी कुल पाँच करोड ६३ लाख २६ हजार ९५ रुपिया रहेको गाँउपालिकाले जनाएको छ ।
उक्त गाँउपालिकाको सेवा प्रवाह सुरुमा विद्यालय भवनबाट गरिएकोमा अहिले २ नम्बर वडा कार्यालयको भवनबाट प्रशासनिक कामको सेवा प्रवाह गरी काम चलाएको गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले बताउनुभयो । बिषयगत शाखाहरु भने करिब तीन किलोमिटर टाढा डुम्रेमा रहेको आफ्नै भवनबाट सञ्चालन भई रहेको उहाँको भनाई छ ।
प्रमुख प्रशासनिक भवन निर्माण नहुदा अहिले दुई वटा भवनबाट काम चलाउ रुपमा सेवा प्रवाह गरेको र साना कोठा भएक कारण सेवा प्रवाहमा कठिन भएको छ । ‘स–साना कोठा छन्, कार्यालय दुई ठाँउमा राखिएको छ,’ प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले भन्नुभयो, ‘साना कोठा हुदा सेवा प्रवाहमा प्रत्यक्ष असर परेको छ ।’ उहाँका अनुसार भवन निर्माणको काम छिटो गरे अझै नौ महिना जति लाग्ने देखिन्छ ।
ताकेता गर्दा पनि काम अघि नबढाई कारबाही प्रकृयामा जाने उहाँले स्पष्ट पार्नुभयो । यता पिपि ईश्वरी जेभि मन्थलीले भवन निर्माणको ‘स्टक्चर’ को काम सकिएको र अब थपिएको म्याद भदौ अन्तिमसम्ममा सबै काम सकिने दाबी गरेको छ । उक्त निर्माण कम्पनिका ठेकेदार का ठेकेदार अमित कार्कीले निर्माण सामग्रीको ल्याब टेष्ट रिपोर्ट आउनु ढिलाई हुदा भवन निर्माणको काम बीचमा डेढ महिना जति काम रोकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिला पनि ल्याब टेष्ट गरेर निर्माण सामग्री झारेको हो । पछि पनि झारेको सामग्रीको ल्याब टेष्ट गर्न पालिकाले विधि विज्ञानशाला पठाएको थियो । त्यसको रिपोर्ट बेलैमा नआउदा काममा ढिलाई भएको थियो । अहिले रिपोर्ट आई सकेकाले आज (आईतबार)बाट काम सुरु भएको छ ।’
सुरुमा भवन निर्माणको डिजाईन चेन्ज गर्नु परेकोले सम्झौता गरेर १८ महिना जति साईडमा निर्माण सामग्री झारेर काम नगरी बस्नु परेको र काम गर्ने बाताबरण भयो भने भदौसम्म सकिने उहाँको भनाई छ ।