Click Chautari

पक्कि पुल निर्माणसँगै ग्रामीण सडकमा यातायात सहज

क्लिक चाैतारी समाचारदाता /
जेठ ३ / सिन्धुली, । सिन्धुली जिल्लाको ग्रामीण क्षेत्र अन्तर्गतका भित्र सडकका खोलाहरुमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पक्कि पुल निर्माणसँगै यातायात सञ्चालन सहज बन्दै गएको छ ।

पक्कि पुलको अभावमा हिउदको मौसममा मात्रै यातायात सञ्चालन हुने ग्रामीण सडकमा पुल बनेसँगै बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ । जिल्लाका विभिन्न खोलानालामा यो बर्ष मात्रै आठ वटा पक्कि पुल धमाधम निर्माण भई रहेको पुर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यसअघि डिपिआर (बिस्तृत परियोजना प्रतिविदेन)भएका १६ वटा पक्कि पुल मध्ये ठेक्का लागेर आठ वटा धमाधम निर्माण भई रहेका र तीन वटा बहुबर्षिय ठेक्का प्रकृयामा रहेका छन् । बाँकी पाँच वटा पक्कि पुल स्रोत सुनिश्चित नहुदा ठेक्का लाग्न नसकेको हो ।

हालसम्म कार्यालयका अनुसार बागमती प्रदेश सरकारकै आर्थिक सहयोगमा जिल्लाका भित्रि सडकमा पर्ने विभिन्न खोला तथा नदीमा हालसम्म १० वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।

निर्माणाधिन पक्कि पुलहरुमा हरिहरपुरगढी गाँउपालिका– २ र ४ लाई जोड्ने मरिण खोला पुल, सुनकोसी गाँउपालिका–६ को आरुबोटे खोला पुल र कमलामाई नगरपालिका–४ कुमालफाँट ग्वाङ्खोला पुल रहेका छन् । यि पुलको निर्माण कार्य अन्तिमचरणमा पुगेको छ । अन्य निर्माणाधिन पक्कि पुलहरुमा गोलन्जोर गाँउपालिकामा बारा–घोक्सिला पुल, घ्याङलेख गाँउपालिका–३ मा तामाजोर खोला पुल, घ्याङलेख गाँउपालिका–२ मा टाँडी खोला पुल, सुनकोसी गाँउपालिका–५ मा सातबिसे भोटेखोला पुल र कमलामाई नगरपालिका–२ मा चियाबारी–केवरे सडक अन्तर्गत ग्वाङ्खोला पुल छन् ।

बारा–घोक्सिला पुलको निर्माण अविधी डेढ बर्ष रहेको र बाँकी अरु पुलको निर्माण अवधि एक बर्ष रहेको कार्यालयले जनाएको छ । त्यस्तै बहुबर्षिय ठेक्का प्रकृयामा रहेका पक्कि पुलहरुमा दुधौली नगरपालिकास्थित ठाकुरखोला पुल, फिक्कल गााँउपालिकास्थित पौतिखोला पुल र कमलामाई नगरपालिका–१३ स्थित सुनखानी–मडाहा कमलाखोला पक्कि पुल रहेको कार्यालय प्रमुख लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्रोत सुनिश्चित नभएका कारण हरिहरपुरगढी गाँउपालिकास्थित तिनकुना खोला पक्किपुल, कमलामाई नगरपालिका–८ स्थित पुरानो करकरे सिन्दुरेटार पक्किपुल, हरिहरपुरगढी गाँउपालिका–५ स्थित चारखोला पक्किपुल, फिक्कल गाँउपालिका–१ स्थित सिदाली खोला पक्किपुल र दुधौली नगरपालिका–५ स्थित रानीखोला पक्किपुल ठेक्का लाग्न नसकेको हो ।

यि पुलको गत बर्ष डिपिआर तयार भएको र यो बर्ष बजेट नआउदा कार्यान्वयन नभएको कार्यालयका ईन्जिनियर सरोज लुईटेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रादेशिक सडक गुरुयोजनामा परेर स्वीकृत भएका पुललाई मात्र बजेट हाल्ने गरिएकाले ती पुल छुटेका हुन् ।’

निर्माण सम्पन्न भई सञ्चालनमा रहेका पक्कि पुलहरुमा कमलामाई नगरपालिका अन्तर्गत मधुटार ग्वाङखोला पुल, कारागार ग्वाङखोला पुल, कमला नदी भिमान् पुल, लुङगेलीटार बौलाखोला पुल, गड्यौलीखोला पुल, हरिहरपुरगढी–७ मा क्यानखोला पुल, दुधौली नगरपालिकमा पित्लेभञ्ज्याङ सडक अन्तर्गत फेदी कुमराह पुल, तीनपाट गाँउपालिकाको लङगुरखोला पुल, फिक्कल गाँउपालिकाको वाक्सुखोला पुल र सुनकोसी गाँउपालिकाको धोबीखोला पुल रहेका छन् ।

गोलन्जोर गाँउपालिकाको घोक्सिला खोलामा गत पुस महिनामा ७० मिटर लामो पुलको सिलान्यास गरी धमाधम निर्माण भई रहेको छ । उक्त पुल निर्माणका लागि श्रृजना निर्माण सेवा सिन्धुलीले २०८१ साल जेठ १४ गते सम्झौता गरी २०८२ को मङ्सिर १३ गतेभित्र सम्पन्न गर्ने गरि निर्माण सुरु गरेको गाँउपालिका अध्यक्ष शंकरराज बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुलको निर्माण लागत नौ करोड ४५ लाख ३७ हजार एक सय २४ रुपैयाँ रहेको छ । यो पुल बनेपछि मध्य पहाडी लोकमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई समेत सहज हुने छ ।

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.