भट्टीमा : प्रेम सन्दर्भ


साँचो प्रेमले हमेशा भन्छ “म सब चिज तिम्रो लागी समर्पण गर्न चाहन्छु । म तिमीलाई दिएर जति रित्तो हुन्छ मलाई त्यतिनै आनन्द आउँछ । जब हामी कसैलाई पाउने आशमा कसैलाई केहि दिई रहेका हुन्छौं त्यो साँचो माया हुन सक्दैन । त्यो त सम्झौता हो, लेन देनको जीन्दगी हो कुनै पनि बेला हिसाब नमिल्न सक्छ । तर पनि अचेल मानिसहरु सम्झौता र लेनदेनको जिन्दगीलाई साँचो प्रेम सम्झेर बाँचीरहेका छन् । सन्दर्भ बजार को एउटा रेष्टुराँ, साँझको समय अनि केही प्रेममा रुमलिएका तन्नेरीहरु ।

करिब ५ बजेको हुँदाहो यो पंक्तिकार र अन्य २ जना साथीहरु खाजा खान रेष्टुराँमा प्रवेश ग¥यौं । तीनै जनाले मम अडर गरायौं । गर्मी अलि बढेकाले साथिहरुलाई प्रस्ताव गरे । ‘चिसो पनि लिउँन है’ । उनीहरु केहि बोलेनन् हुन्छ भन्ने आशयले मुन्टो हल्लाए मात्र । त्यतिनै समय एकहुल तन्नेरीहरु हामी बसेको छेउको टेवलमा आएर बसे र कराउँदै भने ‘साहुजी एता आउनुहोस त’ साहुजी आएपछि हतारिदै एउटाले भन्यो ‘एक प्लेट सुकुटी, एक प्लेट तन्नदुरी अनी एक फुल रुस्लान ल्याउनुत अलि छिटो ।’ साहुजी हवस भनेर गए पछि सँगै बसेका मध्ये एउटाले भन्यो आज त गुड फ्राइडे वाइल्ड हुने गरी खाइन्छ । यत्तिकैमा अर्कोले साथीको काननेर गई उसैतिर फर्किएर भन्यो ‘गुड फ्राइडेत बहाना हो सोल्टीको । त्यसले पनि छोडी नी केटालाई ।’ तिनीहरुको घनिष्टता अनि उरन्ठ्यौलीपनले मलाई कता कता मेरा पुराना अतित तिर धकेलि राखेको थियो । ‘उ आयो’ सबैको ध्यान एकत्रित गर्दै भन्यो एउटाले। टेबलमा राख्न नपाउदै अर्कोले पेग मिलाउन सुरु ग¥यो । ‘मलाई त ठिक्कको बनाहै ।’ यति भन्न नपाउदै अर्कोले जीस्क्याई हाल्यो ‘ट्राजिडि परेको मान्छे खान यार खा ।’

मलाई ति तन्नेरीहरुको क्रियाकलपले अत्यन्त मोहित बनाईरहेको थियो र आफ्नो साथिहरुलाई कम ध्यान दिदै म उनीहरु गफिएको मज्जा लुटिर हेको थिएँ । मलाई भने ति तन्नेरीको कुरामा भिन्न किसिमको आनन्द आइरहेको थियो । सायद त्यो तन्नेरीहरुको उमेरमा मेरा क्रियाकलापहरु पनि त्यस्तै हुँदो हो । त्यसैले साथिहरुलाई एउटा मान्छे भेट्नुछ भन्दै बहाना बनाएँ अनि उनिहरुलाई विदा गरि दिएँ ।

पल्लो टेवलको तन्नेरीहरुको रुस्लानको चुस्की सँगै नशाको घुम्टोले विस्तारै छोप्दा झन झन रोमान्टीक बन्दै थिए । त्यत्तिकैमा एउटाले सोध्यो, ‘अ साँची तेरो अहिलेको ५ औं ब्रेकअप चाही कसरी भयो हँ ?’ कुरो भुईमा खस्न नपाउँदै अर्कोले थप्यो ‘केटोले बोल्ने वित्तिकै लब प¥यो भन्द्यापो हो की ।’ गलल हाँसोको फोहोरा छुट्यो । तर उ केही निरास अनि लर्बराएर बोल्यो ‘हामी बिच प्रेम थिएन भनु भने मैले आफैलाई ढाँटेको जस्तो हुन्छ । जीवनमा पहिलो पटक कुनै केटीको लागी फिल गरेको थिएँ मैले । स्वभाविक प्रेममा आरोह–अवरोह, रोदन हाँसोबाट गुज्रिएका थियौं हामी । त्यति हुँदा पनि त्यो प्रेमलाई जोगाउन सकेनौं या भनौ प्राप्तीमा बदल्न सकेनौं ।’ लामो सुस्केरा हाल्दै फेरी बोल्यो ‘पारिवारिक कारणहरु तेर्सिए अगाडी ।’ उसले यति भन्दै गर्दा मात्र उसको आवाज अनि त्यो आवाजमा मिसिएको पिडा थियो अरु सब चुप ।

उसको कुराले मलाई कता कता नरमाइलो लागिर हेको थियो । फेरी बोल्यो ‘आजको दिनहरुमा सोच्ने गर्छु हाम्रो सम्बन्धले कस्तो अर्थ बोकेको थियो ? उसको निम्ती म को थिएँ र उ मेरो को थिई ? हाम्रो अपरिभाषित सम्बन्धको अर्थ बुझाउन सक्ने क्षमता आज म सँग छ । सम्बन्ध प्रष्ट्याउने चाहनाछ, लाग्छ उ पनि बुझ्न तयार छे तर विडम्वना आज उसलाई भेटने उपाएहरु सबै समाप्त भैसक्यो ।’

छेवैमा बसेको साथीले हात उसको काँधमा राखेर धाम मार्दै भन्यो ‘केटोले त सेन्टी पो बनायो त हैट !’ अनि आफै हास्न थाल्यो । अर्कोले आफ्नो सर्ट दुबैहातले उचाल्दै फस्ट भएको छोराले गर्व सँग आफ्नो नतिजा सुनाएझै भन्यो –‘ट्रिउ लव गरेर फसेछ केटो । तेरो यो दाई बाट केहि सिक के । जिन्दगीमा मोज गर्ने हो । केटी भेटुन्ज्याल घुमाउने हो, अनि दर्द भन्ने चिज छेउमा आउन पनि डराउँछ ।’ अनि फेरी आफै हाँस्न लाग्यो । त्यत्तिकैमा एउटाले ट्राजिडी परेको साथिलाई सम्झाउँदै भन्यो –‘चिन्ता नगर यार कमसेकम तेरो जि.एफ. ले त तँलाई माया गर्छे । मेरो देखिस त, नराम्रो सँग घुमाएर गई । समयबाट पाठ सिक्ने हो, मैले पनि सिँके र तैले पनि सिक्नु पर्छ । आफ्नै उमेरका र धेरै एम्वीसिएस केटीहरुसँग लभ नगरेकै राम्रो हुँदो रैछ । साला, जब लाइफ को कुरो आउँछ, कत्ति खेर रङ्ग फेरेर को सँग हिडिदिने हो पत्तै हुदोरहेनछ स्वार्थीहरु । बरु मायानै नलगाउनुनी ।’ मुसुक्क हाँसेर ‘अब यसो एउटी राम्री केटी हेरेर लभ गरिन्छ, कहिले काहित लाष्ट टेन्स हुन्छ के’ उसले केही आवेग पाख्यो ।
एक पेग घ्याम्पे हानेर फेरी भन्यो –‘मैले उसलाई छाडेर ठिकै गरेँ, के नै छर उसँग ? माया माया भनेर मात्र पनि त भएन, आफ्नो फिउचरको पनि ख्याल गर्नु प¥यो ।’ मलाई छोडेपछि त यस्तो पो भनिरे । “द वल्र्ड इज नट इनअफ” देखाई दिन्छु मेरो हैसियत त्यसलाई ।’ कान्छी औलाले इसारा गर्दै ट्वाइलेट तिर लाग्यो ।

कुरा सुन्दा सुन्दै समय वितिको पत्तै भएनछ । मोवाइलको घण्टी बज्यो, उठाएँ । घरबाट ममीले खाना खानु पर्दैन ? भन्नु भयो । हस आएँ भनेर फोन राखेँ, अनि अझै कुरा सुन्न इच्छा हुँदा हुँदै समयलाई तिरस्कार गर्दै आफ्नो गन्तब्यतिर लागे ।

जादै गर्दा मन्मा तिनै तन्नेरीहरुको प्रेमका प्रसँङ्ग खेलिरहे । यसो सोँचे, एक पटक कसैसँग ब्रेकअप भए पछि लभ हुन सक्दैन भनेर हामीले कत्ति पढ्यौं, सुन्यौं तर अब ति सब भन्ने कुरा जस्तो भै सक्यो । आज ब्रेकअव भयो, एक दुई दिनमै एक्स गर्लफेण्डलाई देखाउन, जेलियस गराउनको लागि भएपनि अरुसँग नाम जोड्न लालायित हुन थाल्छन् मान्छेहरु । कत्ति सस्तो हुनलाग्यो यो माया–प्रेम । यहाँ न आँसुको कुनै मोल छ, न फिलिङ्गस कसनै अर्थछ अब त यहाँ रोमिया–जुलिएटका काथाहरु फेरी कहिल्यै दोहोरिने छैनन् । सुनिनेछन त केवल अजब प्रेमका गजव कहानीहरु मात्र ।

लेखक सिन्धुली बहुमुखी क्याम्पसको प्राध्यापक हुनुहुन्छ ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *