फिक्ल, सिन्धुली | ११ मंसिर ०८०
फिक्कल गाउँपालिकाले गाउँपालिकाको आर्थिक सम्वृद्धिका लागि लगानी सम्मेलन गर्ने भएको छ । मंसिर १३ र १४ गते फिक्कल गाउँपालिकामा लगानी सम्मेलन गर्न लागेको सोमबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै लगानी सम्मेलनको बारेमा जानकारी गराएको हो ।
‘हाम्रो सपना, उद्देश्य, लक्ष्य, गन्तव्य एउटै छ, ‘समृद्ध फिक्कल, सुखी फिक्कलबासी’ भन्ने नारा सहित आन्तरिक तथा बाह्य लगानी भित्राउने र लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यका साथ लगानी सम्मेलनको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले बताउनुभयो । कृषि, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, पर्यटन, साहसिक पर्यटन, औद्योगिक क्षेत्र, हस्पिटालिटी लगायतका दर्जन बढी क्षेत्रमा लगानी गर्न सकिने पहिचान गरिएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
आर्थिक सम्बृद्धि र लगानीको सम्भावनाको खोजी र लगानीको वातावरण निर्माण गर्न, स्थानीय साध स्रोत र सीपको अधिकतम उपयोग मार्फत लगानीको वातावरण सिर्जना गर्न, कृषि उत्पादन वृद्धि, ग्रेनिङ, प्रोसेसिङ, प्याकेजिङमा आकर्षित गर्न, उद्यमशील क्षेत्रमा रूपान्तरित गर्ने सम्भावनामाथि छलफल गर्ने लगानी सम्मेलन प्रभावकारी हुने उहाँले बताउनुभयो ।
लगानी सम्मेलन मार्फत न्यूनतम ५० अर्ब लगानीको वातावरण सिर्जना हुने गाउँपालिकाले अपेक्षा लिएको छ । सहकारी, उद्योग, वाणिज्य लगायत आर्थिक क्षेत्रमा विकासको सम्भावना पहिचान गर्ने, गाउँपालिकालाई सांस्कृतिक, पर्यटकीय र सम्पदा क्षेत्रमा रूपान्तरित गर्ने लगायतका उद्देश्यहरू समावेश गरि सम्मेलनको आयोजना गरेको बताइएको छ ।
लगानी सम्मेलनमा कार्यपत्र प्रस्तुत र छलफल, लगानी कर्ता सँग घोषणा र सम्झौता गर्ने कार्यक्रम तय भएको फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो । यसका साथै फिक्कल गाउँपालिकाले रोजगारी सिर्जना गर्न स्थानीय स्रोत साधनको परिचालन हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । लगानी सम्मेलनले आर्थिक समृद्धि र लगानीका अन्य सम्भावनाका आधारहरू तय गर्ने उहाँको भनाई छ । यहाँका निजी क्षेत्र र देश बाहिरका निजी क्षेत्र बिचको सम्बन्ध विस्तार गराउन पनि यस सम्मेलन फलदायी हुने उहाँको भनाई छ । लगानी सम्मेलन सफल बनाउन उहाँले सरकारी निकाय, निजी तथा गैर सरकारी संस्था, उद्यमी, व्यवसायी, लगानी कर्ता लगायत सवैमा उहाँले अनुरोध गर्नुभयो ।