सिन्धुली, भिमान ।
कमलामाई नगरपालिका–९ भिमानमा बागमती प्रदेश सरकारको चार करोड ३६ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको डबल लेन बसपार्क दुई वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । बीपी राजमार्ग र मदन भण्डारी राजमार्गको संगमस्थलमा बनेको उक्त अत्याधुनिक बसपार्क अहिले संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

हस्तान्तरण प्रक्रिया टुंगो लाग्न सकेन
बसपार्क निर्माणको जिम्मा लिएको सहरी विकास तथा भवन कार्यालयले २०८० साल असोजमा बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कटेलमार्फत उद्घाटन गरे पनि हस्तान्तरण प्रक्रिया अल्झिएको छ । सो दिन कमलामाई नगरपालिकाका मेयर अनुपस्थित रहेकाले हस्तान्तरण नगरी केवल उद्घाटनमै सिमित गरिएको थियो ।

कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेका अनुसार दुई वर्षअघि नै बसपार्क हस्तान्तरणका लागि पत्र पठाइसकिएको भए पनि नगरपालिकाले हालसम्म बुझ्ने प्रक्रिया अघि बढाएको छैन । यसबीचमा नगरपालिकामा दुई पटक प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन् । “मेयर तयार भए पनि कर्मचारी पक्षबाट सहकार्य नहुनाले हस्तान्तरण प्रक्रिया रोकिएको छ,” घिमिरेले बताए ।

संरचनाहरू जीर्ण, मरम्मत माग
बसपार्कमा प्रतिक्षालय, शौचालय, खानेपानी, टिकट काउन्टर, सौर्य बत्ती, फुलबारी, विश्राम कक्ष, कार्यालय भवन, विश्वकर्मा बाबाको मन्दिरलगायतका संरचना निर्माण गरिएका छन् । कम्तीमा १०० सवारीसाधन पार्किङ गर्न मिल्ने ग्यारेजसहितको यो बसपार्क अब प्रयोगमा नआउँदा झारपातले ढाकिएको छ भने भवनका झ्याल, ढोका, बत्ती लगायतका संरचना बिग्रिन थालेका छन् ।

भिमानका स्थानीय बासिन्दा बलराम घिमिरेले बसपार्क निर्माण हुँदा स्थानीयवासीमा उत्साह भए पनि अहिले निराशा छाएको बताए । “बनाउन चाहने र बुझ्न चाहने पक्षबीच के समस्या भयो, हामीलाई नै थाहा छैन,” उनले भने, “बसपार्क प्रयोगमा नआएर जोखिम बढेको छ ।”

नगरपालिकाको स्पष्ट अडान
कमलामाई नगरपालिकाकी उप–मेयर मञ्जु देवकोटा अनुसार भत्किएका र बिग्रेका संरचनाको पुनः मरम्मत नगरेसम्म बसपार्क नबुझ्ने निर्णयमा नगरपालिका अडिएको छ । “भवनको झ्याल, ढोका, पेटी, बत्ती सबैमा समस्या छ । पहिले ती सबै मर्मत गरेर बसपार्क जस्ताको तस्तै बनाउनुपर्छ, अनि मात्रै हस्तान्तरण हुन्छ,” उप–मेयर देवकोटाले बताइन् ।

दुर्घटनाको जोखिम कायमै
बीपी र मदनभण्डारी राजमार्गको संगमस्थल भिमानमा सवारी चाप बढ्दो छ, तर बसपार्क सञ्चालनमा नआउँदा सडकछेउमै अव्यवस्थित पार्किङ हुने गरेको छ । यसले सवारी दुर्घटनाको जोखिम थप बढाएको स्थानीय बासिन्दाहरू बताउँछन् ।

स्थानीय तथा यात्रुको सहजताका लागि बनाइएको बसपार्कको दीर्घकालीन उपयोग सुनिश्चित गर्न सरोकारवाला निकायबीच सहकार्य र जिम्मेवारीको स्पष्ट बाँडफाँट आवश्यक देखिन्छ । समयमै हस्तान्तरण र संरक्षणको व्यवस्था नभए करोडौं लागतको पूर्वाधार खेर जाने देखिन्छ ।