दुईवटा मेसिन जडान, दैनिक २ हजार थानसम्म उत्पादन सम्भव
सिन्धुली, कमलामाई नगरपालिका–६
सामुदायिक विद्यालयमा व्यवहारिक शिक्षा र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित श्री सिद्धबाबा माध्यमिक विद्यालय, पानीट्याङ्कीमा सालको पातबाट दुना–टपरी उत्पादन गर्ने दुईवटा मेसिन जडान गरी नियमित उत्पादन प्रक्रिया सुरु गरिएको छ ।
कुल ८ लाख १५ हजार रुपैयाँको लागतमा स्थापना गरिएको यस योजनामा सामाजिक विकास कार्यालय हेटौंडाबाट ६ लाख रुपैयाँ र कमलामाई नगरपालिकाबाट २ लाख १५ हजार रुपैयाँको आर्थिक सहयोग प्राप्त भएको छ ।

आज एक विशेष समारोहबीच विद्यालयमा जडान गरिएका दुना–टपरी उत्पादन मेसिनहरूबाट विधिवत रूपमा उत्पादन प्रक्रिया प्रारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन कमलामाई नगरपालिका–६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर सुनुवारले संयुक्त रूपमा गर्नुभयो ।
उक्त मेसिनहरूबाट दैनिक करिब २ हजार थानसम्म दुना–टपरी उत्पादन गर्न सकिने विद्यालय प्रशासनले जनाएको छ। उत्पादनसँगै विद्यार्थीहरूलाई व्यवसायिक ज्ञान, प्रविधिको प्रयोग र स्थानीय स्रोतको सदुपयोगमार्फत उद्यमशीलताको अभ्यास गराउने लक्ष्य लिइएको छ ।

वडा अध्यक्ष थापाले उद्घाटन कार्यक्रममा बोल्दै भन्नुभयो, “शिक्षा केवल किताबी ज्ञानमा सीमित रहनु हुँदैन। यस्तो कार्यक्रममार्फत विद्यार्थीहरू व्यवहारिक सीप सिक्दै आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नेछन्। यो प्रयास उदाहरणीय बन्नेछ ।”
विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रम संयोजकहरूले “सिक्दै कमाउँदै, कमाउँदै सिक्दै” भन्ने नाराका साथ सञ्चालन गरिएको यो परियोजनाले विद्यार्थी, शिक्षक, अभिभावक र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
यस उत्पादन गतिविधिमा विद्यालयका विभिन्न तहका विद्यार्थीहरू संलग्न हुनेछन्। उत्पादनबाट प्राप्त आम्दानी विद्यालयकै विकास, विद्यार्थी कल्याण तथा उद्यम तालिमका लागि प्रयोग गरिने विद्यालयले जनाएको छ ।
श्री सिद्धबाबा माध्यमिक विद्यालय, पानीट्याङ्कीलाई सीप, सिर्जना र सिकाइको संगमस्थल बनाउने दीर्घकालीन लक्ष्यका साथ अगाडि बढाइएको यो योजना सामुदायिक विद्यालयको रूपान्तरणमा नयाँ आयाम स्थापित गर्ने दिशामा अग्रसर भएको छ ।