सिन्धुली | जेठ २४
सिन्धुलीको मरिण गाउँपालिका–४ स्थित मावि मरिण खयरसालमा शुक्रबार विद्यार्थी निर्वाचन सम्पन्न भएको छ। विद्यालयमा रिक्त रहेको विद्यार्थी क्याप्टेन (प्रमुख) र सहायक क्याप्टेन (उप–प्रमुख) पदमा प्रतिस्पर्धा गराई लोकतान्त्रिक प्रक्रिया अपनाउँदै विजयी उम्मेदवार घोषणा गरिएको हो।
विद्यालयका प्रधानाध्यापक मानध्वज बम्जनका अनुसार कक्षा ६ देखि ११ सम्मका २३७ जना विद्यार्थीले मतदानमा भाग लिएका थिए। कक्षा १० की छात्रा पुष्पा मैनाली १२२ मत प्राप्त गर्दै क्याप्टेनमा विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी अजय बम्जनले ७१ मत पाए।
त्यस्तै सहायक क्याप्टेन पदमा कक्षा १० का लासाङ घलान ११६ मतसहित विजयी बने। उनको प्रतिद्वन्द्वी सौरभ कार्कीले ८६ मत ल्याए।
यस निर्वाचनमा ६/६ जनाको उम्मेदवारी दर्ता भएको थियो। १२ जनाबीच प्रतिस्पर्धा हुँदा लोकतान्त्रिक अभ्यासमार्फत विद्यार्थीले आफ्ना प्रतिनिधि छान्ने अवसर पाएका थिए।
निर्वाचनमा खसेका कुल २३७ मतमध्ये १० मत बदर भएका थिए। निर्वाचन अधिकृत तथा शिक्षक गिता घिमिरेले सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई विजयी घोषित गरिएको जानकारी दिइन्।

प्रधानाध्यापक बम्जनका अनुसार सहमतिबाट नेतृत्व छनोट गर्ने प्रयास गरिएको भए पनि विद्यार्थीहरूको आग्रहपछि निर्वाचनमार्फत प्रतिनिधि चयन गरिएको हो। “छात्रछात्रामा सानैदेखि लोकतान्त्रिक मूल्य मान्यताको विकास होस् भन्ने उद्देश्यले यो अभ्यास गरिएको हो,” उनले भने।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम स्याङ्तानले विद्यालय निर्वाचनले विद्यार्थीमा नेतृत्व विकास, जिम्मेवारी बोध र निर्णय क्षमताको बिकास गर्ने विश्वास व्यक्त गरे। “शिक्षाको मात्रै होइन, नागरिक चेतना र लोकतन्त्रप्रतिको समझदारी बढाउने दृष्टिकोणले यो अभ्यास गरिएको हो,” अध्यक्ष स्याङ्तानले भने।

विद्यालयले यसपटक हाउस क्याप्टेनहरू समेत छनोट गरेको छ। निर्वाचित विद्यार्थीहरूलाई विशेष कार्यक्रमबीच प्रमाणपत्रसहित जिम्मेवारी हस्तान्तरण गरिने बताइएको छ।
मरिण गाउँपालिकाको शिक्षा शाखाको समन्वयमा सम्पन्न गरिएको यस अभ्यासले मावि मरिण खयरसाललाई सिन्धुलीको उत्कृष्ट विद्यालयका रूपमा पुनः पुष्टि गरेको छ। विद्यार्थीको सहभागिता, पारदर्शिता र लोकतान्त्रिक मूल्यको उदाहरणस्वरूप यस निर्वाचनलाई शिक्षा क्षेत्रमै नौलो अभ्यासको रूपमा लिइएको छ।