स्थानीय बासिन्दाले आज दिउँसो १२:३५ बजे उक्त पुरुष मृत अवस्थामा देखिएको जानकारी प्रहरी चौकी दुधौलीलाई टेलिफोनमार्फत गराएका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी दुधौलीबाट प्रहरी सहायक निरीक्षक तेज नारायण धुरझारको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थललाई सुरक्षित राखी प्रारम्भिक अनुसन्धान थालेको छ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको नेतृत्वमा थप टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
शव भेटिएको व्यक्तिको नाम, ठेगाना हालसम्म खुल्न सकेको छैन। मृतक कालो वर्णका, अन्दाजी ६०–६५ वर्ष उमेरका देखिने व्यक्ति रहेको र उनको शरीरमा कुनै पनि परिचय खुल्ने कागजात फेला नपरेको प्रहरीले जनाएको छ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। शव पोष्टमार्टमको लागि सम्बन्धित अस्पतालमा पठाइने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।