Click Chautari

अँध्यारोबाट उज्यालो यात्रा : वाइवाको नेतृत्वमा काँचुली फेर्दै हरिहरपुरगढी

हरिहरपुरगढी, जहिल्यै अँध्यारोमै थलिएको गाउँ, आज उज्यालो र आत्मनिर्भरताको प्रतीक बनेको छ। अध्यक्ष बज्र ध्वज वाइवाको कुशल नेतृत्वमा उज्यालो, कृषि विकास, रोजगारी, शिक्षा र सुशासनको नयाँ युग सुरु भएको छ।

Advertisement

कुनै समय यस्तो थियो—जुन ठाउँमा सरुवा हुनुलाई सरकारी कर्मचारीहरू ‘दण्ड’ ठान्थे, त्यो ठाउँ थियो– सिन्धुलीको हरिहरपुरगढी । त्यो बेलाको हरिहरपुरगढी तत्कालीन गाउँ विकास समितिको सूचीमा ‘दुर्गम’ शब्दको पर्याय बनिसकेको थियो । न विजुली, न बाटोघाटो, न कुनै आशाको किरण । राज्य संयन्त्रले बेवास्ता गरेको र समाज आफैंले पनि विकल्प विहीनतामा रमाउन थालेको त्यो भूगोलमा कोही आशा बोकेर आउँछ भन्ने कुनै कल्पना समेत थिएन ।

तर, गणतन्त्र आएपछि परिवर्तनको सुगन्ध विस्तारै फैलिन थाल्यो । र त्यस सुगन्धलाई साँच्चिकै विकासको सुवासमा बदल्ने पात्र बने—नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष बज्र ध्वज वाइवा । उनै वाइवालाइ क्लिक चौतारी डटकमले यो हप्ताको प्रेरणको कथामा प्रस्तुत गर्न उपयुक्त ठानेको छ । र क्लिक चौतारी डटकमका सम्पादक नेत्रविक्रम थापा (विवश) संगको कुराकानीमा आधारीत सम्पादित अंस । प्रस्तुत छ त्यही दुर्गम र अध्यारो गाउँपालिकाको कथा ।

Advertisement

अन्धकार दुनियाबाट उज्यालो तर्फ लम्कीएको पाइला
कहिल्यै नबलेको बिजुलीको बत्ती, कहिल्यै नदेखिएको उज्यालो, अनि कहिल्यै नचिनिएको आत्मविश्वास—कुनै समय हरिहरपुरगढी गाउँपालिकाको यही नियति थियो । अँध्यारो यहाँको जीवनशैली बनेको थियो । साँझ परेपछि सिंगो गाउँ निदाउँथ्यो । टुकी वत्तिको धिपधिपे उज्यालोमा जीवन निरन्तर अघि वढीरहेको हुन्थ्यो । बालबालिकाले किताबभन्दा मैनबत्तीसँग मित्रता गरेका थिए । यहाँ उज्यालो भन्ने कुरा सपना थियो । अझ भनौ सस्तो सपना ।

यही अन्धकारलाइ चिरेर आशाको पहिलो झिल्को बनेर आइ पुगे बज्र सिं वाइवा । जब उनी गाउँपालिकाको अध्यक्षमा वि.सं. २०७९ सालको स्थानीय निर्वाचनबाट निर्वाचित भए । न उनले चमत्कार गरे, न सजिलो बाटो रोजे । उनले रोजे—दृढ निश्चय, न्यानो संवेदना र जनताको विश्वास । त्यो विश्वासबाटै सुरु भयो उज्यालोको यात्रा ।

उनी निर्वाचित हुँदाताका सम्म सिंगो गाउँपालिकाका मानिसले टुकीमा भर परेर रात बिताइ रहेका हुन्थे । त्यहाँका धेरै मानिसहरुलाई लाग्थ्यो, “यो ठाउँमा त कहिल्यै विजुली बत्ती आउने छैन ।” तर अध्यक्ष वाइवाले त्यो सोचमा उज्यालो कोर्न चाहन्थे । उनी मान्थे, उज्यालो केवल बत्तीको प्रकाश होइन, चेतना र परिवर्तनको प्रतीक हो ।

बजेट खोजियो, सरकारी संयन्त्रसँग समन्वय गरियो, नेपाल विद्युत प्राधिकरणसँग लगातार संवाद गरियो । यत्तिकैमा आइ पुग्यो संकल्पले निर्माण गरेको सफलता जसको परिणाम स्वरुप हरिहरपुरगढीका सबै वस्तीहरूको सतप्रतिशत घरहरुमा विजुली बत्ती बल्न लाग्यो ।
आज त्यो गाउँ रातपिच्छे उज्यालोमा चम्किन्छ । केवल घरभित्र मात्रै होइन, गाउँको सोचमा, सपना हेर्ने आँखा र भविष्यप्रतिको भरोसामा पनि उज्यालो बनिरहेको छ ।

Advertisement

त्यो उज्यालोको किरणले रातिको समयमा वालवालिकालाई पढ्ने सुविधा दिएको छ, आमाबुबालाई भान्सामा सहुलियत दिएको छ, युवालाई कम्प्युटर र इन्टरनेटको दुनियाँ देखाएको छ । अब त्यो गाउँ उज्यालो खोज्दैन—उज्यालो बाँड्ने ठाउँ बनेको छ ।
बज्र सिं वाइवाको त्यो यात्रा केवल भौतिक बिजुलीसम्म सीमित रहेन । उनले देखाएको बाटोले आजका गाउँहरूलाई सिकाउँछ—“नेतृत्व भनेको कुर्सीमा बस्नु होइन, अँध्यारोमा उज्यालोको आशा देखाउनु पनि हो ।”

जाँडरक्सीको अखडाबाट परिवर्तन हुदै आत्मनिर्भर कृषि गाउँसम्म
पहिलेको हरिहरपुरगढी गाउँ जाँडरक्सीको अखडाको रुपमा परिचित बनेको थियो । युवा समय बिताउन भट्टीमा भेला हुन्थे, कृषि भने औपचारिकतामा मात्रै सिमित थियो । गाउँको समृद्धि कहिल्यै देखिन्नथ्यो र जनजीवन पनि कठिन थियो ।

तर अहिले त्यही गाउँले पूर्ण रूपमा आफ्नो पहिचान बदलेको छ । युवा भट्टीको सट्टा खेतबारीमा व्यस्त देखिन्छन् । पशुपालनमा संलग्न देखिन्छन र आफू आत्मनिर्भर हुनका लागि अहोरात्र खटिइरहेका छन ।

खरबुजा, मकै, र दुग्धजन्य उत्पादनमा त्यो गाउँले नयाँ उचाई छुने यात्रा थालेका छ । खेतीपातीले मात्र होइन, नयाँ सोच र समर्पणले गाउँलाई समृद्धिको बाटोमा पु¥याएको खुल्ला आखाले देख्न र महशुस गर्न सकिन्छ ।

यो परिवर्तनका पछाडि छ गाउँपालिका अध्यक्ष बज्र ध्वज वाइवाको दृढता र कुसल नेतृत्व । उनको स्पष्ट लक्ष्य छ, “युवा समृद्धि र कृषि विकासमा केन्द्रित भएर गाउँलाई उदाहरणीय बनाउने सपना ।”

हरिहरपुरगढीले देखायो कि विगतको जाँड रक्सीको अखडालाइ पनि चाह्यो भने आत्मनिर्भर र समृद्ध गाउँ बनाउन सकिन्छ, जब स्थानीय नेतृत्व र जनताको इच्छा शक्ति एकजुट हुन्छ ।

खरबुजा उत्पादनबाट परिवर्तनको मीठो स्वाद
हरिहरपुरगढीको भू–भाग पहिले खेती गर्न कठिनाइ देखिने गर्दथ्यो । तर २०८० सालदेखि सुरु भएको खरबुजा खेतीले गाउँको भाग्य नै बदलिदियो । शुरुवातमा सानो मात्रामा सुरु भएको यो खेतीले चाँडै ठूलो सफलताको स्वाद चाखायो ।

यस वर्ष मात्र ५० हजार केजी खरबुजा उत्पादन भई बाहिरी बजारमा पठाउन सफल भएको कुरालाइ अध्यक्ष वाइवा गर्वले सुनाउछन । किसानहरूले आफ्नो परिश्रमबाट आम्दानी बढाएका छन । र गाउँ नै खरबुजाको “पकेट क्षेत्र” बन्न पुगेको छ ।

यो सफलता उनै गाउँपालिका अध्यक्ष बज्र ध्वज वाइवाको योजना र समर्थनमा सफल भयो । उनले कृषकलाई प्राविधिक सहयोग, बजार पहुँच र स्रोत व्यवस्थापनमा विशेष ध्यान दिए । खरबुजाले गाउँमा न केवल आर्थिक समृद्धि ल्यायो, कृषकको मनोबल बढायो, आत्मनिर्भरता र नयाँ सम्भावनाको ढोका खोलिदिएको छ ।

मकै उत्पादनमा ऐतिहासिक सफलता
पहिलेका दिनहरूमा हरिहरपुरगढीमा मकै उत्पादन यति कम थियो कि तीन महिना पनि खान पुग्दैनथ्यो । तर आज कथा वदलिएको छ, परिस्थिति पूरै बदलिएको छ ।

नेपालमै पहिलोपटक रामपुर–१० नामक हाइब्रिड मकैको बीउ उत्पादन भएपछि, गाउँलेले आत्मनिर्भर बन्ने बाटो समातेका छन । यसले मात्र मकै उत्पादन बढाएन, गाउँको कृषि प्रगति र समृद्धिको नयाँ युग सुरु गराएकोछ ।

गाउँपालिका अध्यक्ष वाइवाको दृढ नेतृत्वमा कृषि प्रविधि र बीउ उत्पादनमा गरिएको लगानीले किसानलाई आत्मविश्वास वढायो । अहिले यो गाउँ मकै उत्पादनमा मात्रै होइन, विस्तारै निर्यातमा समेत अगाढी वढने पाइलातर्फ उन्मुखछ ।

शिक्षा र पूर्वाधारमा उल्लेखनीय फड्को
अहिले गुर्जीबाट ऐतिहासिक हरिहरपुरगढी दरवार, चिसापानी हुँदै ताप्केडाँडासम्मको रिङरोड निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । त्यसैगरी बफर देखि कर्मैया सम्मको कालोपत्रे सडकले भौतिक पूर्वाधारलाई नयाँ उचाई दिएको छ ।

शिक्षाको कुरा गर्दा, जहिले बोर्डमा नाम लेखाएर एस.एल.सी. पास गराइने आरोप खेपेको ठाउँ, आज गुणस्तरीय शिक्षाको केन्द्र बन्न थालेको छ । शिक्षकहरूको मनोबल बढेको छ, विद्यार्थीको उपस्थिति बढेको छ, र अभिभावकको गुम्दै गएको विश्वास फेरी विस्तारै फर्किदै गएकोछ ।

युवालाई गाउँमै अवसर
पहिलेका दिनहरूमा यहाँका युवाहरूले रोजगारी खोज्न ठूलो शहर वा विदेश जानै पर्ने बाध्य हुन्थे । गाउँमा अवसर सीमित थिए, त्यसैले धेरैले आफ्नै गाउँ छोड्नुपर्ने बाध्यता महसुस गर्दथे ।

तर वाइवाको नेतृत्वमा यो सोचमा विस्तारै परिवर्तन हुँदै गएको छ । उनले युवालाई गाउँमै रोजगारी र व्यवसायका अवसर सिर्जना गर्न पहल थाले । कृषि, पशुपालन, दुग्धजन्य उत्पादन, र साना उद्योगहरूलाई प्रोत्साहन दिँदै युवालाई गाउँमै नै स्वरोजगार बन्न प्रेरित गरि रहेका छन ।

अहिलेका युवा खेतबारीमा व्यस्त हुन थालेका छन् । ब्यावसायिक पशुपालनमा रमाउन थालेका छन् । र स्थानीय उद्यमहरू सञ्चालन गर्दै विस्तारै आत्मनिर्भर हुँदै गएका छन् । विदेशिन चाहने युवालाई यहाँकै अवसरले बाँध्न वाइवाको कदम सफल हुदै गएको देखिन्छ ।

उनको नेतृत्वमा अहिले शिक्षा, स्वास्थ्य, रोजगारी, र सुशासन चारैवटा खम्बालाई मजबुत बनाउने काम भइरहेको छ । गाउँपालिकामा आधुनिक स्वास्थ्य संस्था निर्माणको काम पनि सुरु भइसकेको छ ।

प्रचार होइन, परिणाममा विश्वास
अध्यक्ष वाइवा तिनै जनताको प्रतिनिधि हुन, जसले काम गरेर देखाउने परम्परा बसाल्न खोजिरहेका छन । उनी भन्छन —“काम गरेपछि जनताले अनुभूति गर्छन, प्रचार गरेर होइन, जनताको जीवनशैलीमा परिवर्तन ल्याएरै लोकप्रियता कमाउनुपर्छ ।” कामको मूल्य प्रचारभन्दा बढी हुन्छ, जब परिणाम बोल्न थाल्दछ तब मात्र विश्वास बलियो हुन्छ ।

र अत्यमा– एउटा जीवन्त प्रेरणा
हरिहरपुरगढी गाउँपालिका विगतका कठिनाइ र चुनौतीहरूबाट माथि उठेर समृद्धि र आत्मनिर्भरताको नमूना बनिरहेको छ । यहाँको परिवर्तन केवल भौतिक विकासमा सीमित छैन, यो नेतृत्व, समर्पण र जनताको अठोटको जीवित प्रमाण हो ।

बज्र ध्वज वाइवाको नेतृत्वमा उज्यालो पुगेका घरहरू, आत्मनिर्भर कृषि, युवालाई गाउँमै अवसर, र प्रचारभन्दा परिणाममा जोड दिने कामहरूले यो गाउँलाई नयाँ पहिचान दिएका छ । यो परिवर्तनले देखाउँछ कि सही सोच, दृढ निश्चय र काम गर्ने चाहनाले सधैं अन्धकारलाई उज्यालोमा परिणत गर्न सक्छ ।

यो कथा हामी सबैका लागि एउटा जीवन्त प्रेरणा हो । —जहाँ कर्म मन र मेहनत साथ हुन्छ, त्यहाँ कुनै बाधा अवरोध रहँदैन । सफलताको बाटो सजिलो हुँदैन, तर त्यसको मिठास भने अनमोल हुन्छ ।

“अँध्यारो जहाँ भए पनि, उज्यालोका किरणहरू कहिल्यै थाक्दैनन । सही नेतृत्व र अठोटले जुनसुकै गाउँलाई स्वर्ग बनाउन सक्छ । तपाईंको प्रयासले जीवनलाई मात्र होइन, सम्पूर्ण समुदायलाई उज्यालो बनाउन सक्छ ।”

यदि देशका सबै स्थानीय तहमा यस्ता नेतृत्वदायी पात्रहरू हुने हो भने—लोकतन्त्रको सुन्दरता जनताले वास्तविक रूपमा महसुस गर्न सक्ने थिए । स्थायी परिवर्तनको ढोका खोल्ने शक्ति यिनै प्रतिनिधिहरूमा लुकेको हुन्छ । त्यसैले क्लिकचौतारी डटकम आज बज्र ध्वज वाइवाको नेतृत्व यात्रालाई “यस हप्ताको प्रेरणा” को रूपमा प्रस्तुत गर्न गर्व गर्छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.