सिन्धुली, जेठ २९ । खुर्कोट — नेपाल विद्यार्थी संघ भीमज्योति क्याम्पस इकाईका सभापति तथा युवा व्यवसायी अन्जन दाहालले आफ्नो जन्मदिनको अवसरमा दुई विद्यालयका १७० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

बुधवार सम्पन्न कार्यक्रममा दाहालले कापी र कलमको सामग्री वितरण गर्दै बालबालिकाको अध्ययनमा थप रुचि बढोस् भन्ने उद्देश्य राखेका थिए । वितरण कार्यक्रम अन्तर्गत कोशीका माध्यमिक विद्यालय ग्वालटारका कक्षा १ देखि ५ सम्मका ७० जना विद्यार्थीलाई तथा प्रभात आधारभूत विद्यालय वशेश्वरका कक्षा १ देखि ८ सम्मका १०० जना विद्यार्थीलाई कापी र कलम प्रदान गरिएको हो ।
त्यसैगरी, विद्यालयमा अध्यापन गराइरहेका २४ जना शिक्षक तथा शिक्षिकाहरूलाई डाइरी प्रदान गरिएको दाहालले जानकारी दिएका छन् ।
सामग्री वितरणपछि दाहालले शिक्षालाई उज्यालो भविष्यको आधार भन्दै बालबालिकामा पठनपाठनप्रति झनै रुचि र प्रेरणा पैदा होस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए । “साना प्रेरणा नै ठूला परिवर्तनको बीउ हुन सक्छ,” उनले भने, “यसले बालबालिकामा अध्ययनप्रतिको लगाव झनै बढाउने आशा लिएको छु ।”
स्थानीय अभिभावक र विद्यालयका शिक्षकहरूले यस्तो सामाजिक उत्तरदायित्वप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सकारात्मक कार्यले समुदायमा शिक्षा र सचेतनाको प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका छन्।