सिन्धुली, जेठ २९
आगामी मनसुनको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सिन्धुलीको कमलामाई नगरपालिका–८, मईस्थानस्थित कमला नदी किनारमा एक विशेष विपद् उद्धार अभ्यास सम्पन्न भएको छ । “विपद् प्रतिकार्य मनसुन अभ्यास–मनसुन नम्बर ५” नाम दिइएको यस अभ्यासमा नेपाली सेनाको श्री भवानी बक्स गण, ठूलिटार ब्यारेकको आयोजनामा र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा बहुआयामिक तालिम सञ्चालन गरियो ।
अभ्यासमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, रेडक्रस, स्थानीय तह र स्वास्थ्यकर्मीहरूसहित करिब ११५ जना प्रत्यक्ष सहभागी थिए । पानीमा डुबेका व्यक्तिको उद्धारदेखि लिएर भीरमा फसेकालाई र्याफ्टिङ प्रविधिबाट उद्दार, खोलाको बाढीबाट जिपलाइन प्रयोग गरी पार गराउने कार्यसम्मका विविध अभ्यास गरिएको थियो । साथै प्राथमिक उपचारपछि घाइतेलाई अस्पताल पुर्याउने समन्वय र कार्यपद्धतिको समेत प्रदर्शन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख लीला प्रसाद शर्माले अभ्यासको अन्त्यमा भन्नुभयो, “मनसुनअघि यस्तो समन्वयात्मक अभ्यासले जिल्ला स्तरको आपतकालीन व्यवस्थापन क्षमतामा गुणात्मक सुधार ल्याउँछ। समयमै तयारी र संस्थाहरूबीचको सहकार्य नै विपद् व्यवस्थापनको मूल आधार हो ।”

यस अभ्यासको नेतृत्व गरिरहेका श्री भवानी बक्स गणका प्रमुख सेनानी बद्री कुँवरले कठिन समयमा उद्धार कार्य कसरी प्रभावकारी रूपमा सम्पन्न गर्न सकिन्छ भन्ने अभ्यासले सबै निकायबीचको तालमेललाई मजबुत बनाएको बताए । उहाँले थपे, “हामी कुनै पनि आपतकालीन अवस्थामा तुरुन्तै प्रतिकार्य गर्न सक्ने अवस्थामा छौं । यो अभ्यास त्यसकै एक उदाहरण हो ।”

सिन्धुलीको बाढीपहिरोको जोखिम बढी हुने क्षेत्रमध्येको एक मानिने कमला नदी किनारमा गरिएको यो अभ्यासले स्थानीय तह, सुरक्षाकर्मी र जनस्तरबीचको समन्वयमा कसरी विपद् व्यवस्थापन गर्न सकिन्छ भन्ने स्पष्ट उदाहरण पेश गरेको छ । आगामी दिनमा यस्ता अभ्यासको निरन्तरता आवश्यक रहेको सबै सहभागी निकायहरूले बताएका छन् ।