Click Chautari

फिक्कलका तीन वडाका स्वास्थ्य संस्थाहरू पोषणमैत्री घोषित, तिनपाटन १० बागमतीकै पहिलो

सिन्धुली, ३० जेठ २०८२

Advertisement

फिक्कल गाउँपालिकाका तीन वडामा रहेका स्वास्थ्य संस्थाहरूलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । शुक्रवार आयोजित विशेष कार्यक्रममा फिक्कल गाउँपालिका–५ स्थित सोल्पाठान स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गरिएसँगै गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य संस्थाको संख्या तीन पुगेको हो ।

यसअघि बिहीबार फिक्कल गाउँपालिका–२ को सुम्नामा पोखरी स्वास्थ्य चौकी र वडा नं. ३ को फिक्कल अस्पताललाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो । ती संस्थाहरूको घोषणासँगै छिमेकी तिनपाटन गाउँपालिका–१० स्थित स्वास्थ्य चौकी समेत पोषणमैत्री घोषित गरिएको छ, जुन बागमती प्रदेशकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था बनेको हो ।

Advertisement

स्वास्थ्य संस्थाहरूलाई पोषणमैत्री घोषणा गर्न फिक्कल गाउँपालिका, सिन्धुली एकीकृत विकास सेवा (सिड्स नेपाल), वर्ल्ड भिजन, र रिलिफ नेपालबीचको सहकार्यमा कार्य अघि बढाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार र विशिष्ट अतिथि उपाध्यक्ष राजु बरालसहित वडाध्यक्षहरू, सहयोगी संस्था प्रतिनिधिहरू, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, शिक्षक तथा समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगरका अनुसार, नेपाल सरकारको सन् २०३० भित्र नेपाललाई कुपोषणमुक्त राष्ट्र बनाउने दिगो विकास लक्ष्य अन्तर्गत पोषण सूचकहरू पूरा गर्ने उद्देश्यले यस्ता घोषणाहरू भइरहेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष राजु बरालले स्वास्थ्य संस्थाहरूलाई पोषणमैत्री बनाउने प्रक्रियामा ४९ मध्ये कम्तीमा १६ सूचकहरू पुरा गर्नुपर्ने बताए । उनले निकट भविष्यमै फिक्कल गाउँपालिकाका वडाहरूलाई कुपोषणमुक्त र बालमैत्री घोषणा गर्दै सम्पूर्ण पालिकालाई नै पोषणमैत्री पालिकाको रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए ।

Advertisement

सिड्स नेपालका अध्यक्ष दीपक घिमिरेले राष्ट्रिय पोषण नीति र रणनीति अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पशुपालनजस्ता क्षेत्रहरूमा योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिए । उनले सुनौलो हजार दिन कार्यक्रम, आमा समूह र किशोरी समूह गठन, पोषणयुक्त आहार उत्पादनमा जोड जस्ता गतिविधि मार्फत कुपोषणमुक्त समाज निर्माण गर्ने उद्देश्य रहेको बताए ।

कार्यक्रममा पोषणमैत्री घोषणामा योगदान दिने स्वास्थ्य स्वयंसेविका, चिकित्सक र सहयोगी संस्थाहरूलाई सम्मानपत्र प्रदान गरियो । त्यस्तै, फिक्कल गाउँपालिका–५ लाई बालमैत्री वडा घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा त्यसको दिगोपन सुनिश्चित गर्न विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिएका थिए ।

स्थानीय सरकार, साझेदार संस्थाहरू र समुदायको सक्रिय सहभागिताले फिक्कललाई पोषण तथा बालमैत्री पालिका बनाउने लक्ष्यमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.