सिन्धुली, असार ३
फिक्कल गाउँपालिकाले चालु आर्थिक वर्ष ०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ११० जना जेष्ठ नागरिकलाई लौरो प्रदान गरी सम्मान गरेको छ । सामाजिक सुरक्षा भत्ता बुझ्ने ती नागरिकलाई गाउँपालिकाले विभिन्न कार्यक्रममा दोसल्ला ओढाई लौरो प्रदान गरेको हो ।
गाउँपालिकाको सामाजिक विकास शाखाका प्रमुख नारायण अधिकारीका अनुसार जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत पहाडी भू–बनावट भएको यस क्षेत्रका वृद्धवृद्धालाई हिडडुल गर्न सहज होस् भन्ने उद्देश्यले लौरो वितरण गरिएको हो ।

लौरोको मूल्य प्रतिगोटा चार सय रुपैयाँ रहेको अधिकारीले जानकारी दिनुभयो। छ वटा वडाहरूमध्ये वडा नं. १ मा २० वटा र बाँकी पाँच वडामा १८/१८ वटाका दरले लौरो वितरण गरिएको हो ।
कार्यक्रमका लागि गाउँपालिकाले एक लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त बजेटबाट लौरो तथा दोसल्ला खरिद गरी वितरण गरिएको हो ।
यसैक्रममा पछिल्लो पटक वडा नं. ४ को खाङ्साङ्मा असार १ गते १८ जना जेष्ठ नागरिकलाई गाउँपालिकाका उपाध्यक्ष राजु बरालले लौरो प्रदान गरी दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
गाउँपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै आएको छ ।