Click Chautari

हरिहरपुरगढी–३ मा बालविवाह अन्त्यका लागि कानुनी अनुशिक्षण र सरोकारवालासँग अन्तरक्रिया

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ मा बालविवाह अन्त्यका लागि कानुनी अनुशिक्षण तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समुदाय परिचालन कार्यक्रम अन्तर्गत सोमबार सम्पन्न सो कार्यक्रम बालविवाह रोकथाममा स्थानीय तहको सक्रियता र कानुनी सचेतनालाई प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो ।

Advertisement

कार्यक्रमको उद्घाटन वडा नम्बर ३ का वडाध्यक्ष कुलबहादुर भोलनको अध्यक्षता र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार पैकराको प्रमुख आतिथ्यतामा गरिएको थियो ।

Advertisement

मुख्य अतिथि पैकराले बालविवाह बालबालिकाको शारीरिक, मानसिक तथा संवेगात्मक विकासमा प्रतिकूल असर पार्ने भएकाले यसलाई पूर्णरूपमा न्यूनिकरण गर्न समुदाय, अभिभावक, विद्यालय र सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको धारणा राखे । उनले भने, “बालविवाह अन्त्यका लागि हामीले कानुनी, सामाजिक र शैक्षिक तीनै पाटो समेटेर जानुपर्छ ।”

कार्यक्रममा हरिहरपुरगढी प्रहरी चौकीका इन्चार्ज समसुद्दिन अन्सारीले लागूपदार्थ दुरुपयोग र साइबर अपराधसम्बन्धी चुनौतीबारे जानकारी दिँदै बालबालिकालाई ती खतराबाट जोगाउन अभिभावक र विद्यालयको भूमिकालाई मजबुत बनाउनु पर्ने बताए ।

त्यस्तै, कानुनी शाखाका प्रमुख तथा प्रशिक्षक लोकबहादुर गोलेले बालविवाहसम्बन्धी विद्यमान कानुन, बाल अधिकार र बालबालिकाको संरक्षणसम्बन्धी विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए । उनले बालविवाह गैरकानुनी मात्र नभई बालबालिकाको भविष्यको गम्भीर क्षति हुने विषय भएको भन्दै समुदायमा सचेतना अभिवृद्धि गर्न जोड दिए ।

कार्यक्रममा वडा सदस्यहरू, महिला, बालबालिका तथा जेष्ठ नागरिक उपशाखाकी प्रमुख निर्मला मंग्राती, विद्यालयका प्रधानाध्यापकहरू, विद्यार्थी, मेलमिलापकर्ता, संघसंस्था तथा अन्य सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति थियो ।

Advertisement

गाउँपालिकाले बालविवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम अन्तर्गत गाउँपालिकाका सबै ८ वटै वडामा यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जनाइएको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.