सिन्धुली, असार ६
सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमान चेकपोष्टमा प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण तथा रोकथामका लागि नियमित चेकजाँचको क्रममा दुई अलग–अलग सवारी साधनबाट लागुऔषधसहितका व्यक्ति फेला परेका हुन् ।
प्रहरीका अनुसार पहिलो घटना असार ६ गते दिउँसो करीब १ः४५ बजे जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश २–०२–००३ प ७६३४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा भएको हो । मोटरसाइकल चालक धनुषा जिल्ला शहीद नगरपालिका–८ निवासी २२ वर्षीय रजनिश यादवले चलाएको उक्त सवारीको पछाडि बोकेको कालो रङको झोलाबाट लागुऔषध नाइट्राजेपाम २८ ट्याबलेट र स्पासमो ८ ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ । सो झोलाभित्र कालो प्लास्टिकमा लुकाईछिपाई राखिएको अवस्थामा लागुऔषध फेला परेको हो । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको र इलाका प्रहरी कार्यालय भिमानमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै सोही दिन दिउँसो करिब २ः०० बजे काकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ६०२३ नम्बरको हायस गाडीमा यात्रारत मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका–१ का ३१ वर्षीय बद्री पुरीले हातमा बोकेको लेज को खोलभित्र कालो प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा करिब ५.८७० ग्राम खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त सवारी गाडी धादिङ जिल्ला गजुरी गाउँपालिका–५ निवासी ३३ वर्षीय कुवेर भण्डारीले चलाएका थिए ।
प्रहरीका अनुसार दुवैजनालाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । लागुऔषध ओसारपसार तथा सेवन सम्बन्धी गतिविधि नियन्त्रण गर्न प्रहरी सतर्क रहेको र चेकजाँचलाई थप कडा पारिएको इलाका प्रहरी कार्यालय भिमानले जनाएको छ ।
सिन्धुली जिल्लामा पछिल्लो समय लागुऔषध सम्बन्धी अपराध बढ्न थालेको भन्दै प्रहरी प्रशासनले विशेष निगरानी बढाएको छ । प्रहरीले आम नागरिकलाई लागुऔषधविरुद्ध सहयोग गर्न समेत आग्रह गरेको छ ।