काठमाडौँ , असार ११ ।
नेकपा एमालेको आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूल्याङ्कन गरेको छ । प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठुला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको हो ।
एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले सुशासन र सेवा प्रवाहका क्षत्रमा ध्यान दिनुपर्नेमा जोड दिइएको बताउँदै दैलेखमा मिथेन ग्यासको उत्खनन्को प्रारम्भिक प्रतिवेदन आउनुलगायतका काम थप उपलब्धिका विषय भएको निचोड निकालेको जानकारी दिए ।
सचिवालय बैठकले गणतन्त्र विरोधी गतिविधि र प्रतिगामी प्रयासहरू निस्तेज भएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीले भने- ‘प्रतिगमनका केही प्रयत्नहरू भए, गणतन्त्र विरोधी गतिविधि भए । तर, जनताको सजगता, राजनीतिक दलहरूको सक्रियता र सरकारको प्रभावकारिताले त्यो स्थिति अन्त्य भएको छ । प्रतिगामी प्रयासहरू निस्तेज भएका छन्। समग्रमा, देशले सही दिशा लिएको र पार्टीको नेतृत्व निष्कर्ष निकालेका छौँ ।
‘त्यस्तै एमालेको बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको कारबाही फुकुवा गरेको छ । पाण्डे र तिम्सिनामाथिको कारबाही फुकुवा गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।दुवैले भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तपुरमा जग्गा लिने निर्णयको दुई नेतृले विरोध गरेका थिए ।
पुस १० गते बसेको सचिवालय बैठकले पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बित गरिएको थियो ।
एभरेष्ट न्यूज एजेन्सी,