सिन्धुली, असार १२ ।
सिन्धुली जिल्लामा गत बर्षको बाढी पहिरोबाट प्रभावित चार सय ६६ घर परिवारले अस्थायी नीजि आवास निर्माणका लागि बल्ल अनुदान पाउने भएका छन् ।
गत बर्ष असोज ११ र १२ गतेको बाढी पहिरोबाट प्रभावित जिल्लाका चार गाँउपालिकाका चार सय ६६ घर परिवारलाई नीजि अस्थायी निर्माणका लागि पहिलो किस्ता बापत २५ हजार रुपियाका दरले रकम निकासा भएको हो । सङ्कटग्रस्त घोषणा भएका पालिकाबाट अस्थायी आवास निर्माणको माग रकम र लाभग्राहीको विवरणका आधारमा रकम निकासा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बाढीपहिरो गएको झण्डै ९ महिना पछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालय मार्फत अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरि दिएको हो । चार सय ६६ घर परिवारका लागि एक करोड १६ लाख ५० हजार रुपिया निकासा भएको छ । बाढी पहिरोमा परि पूर्ण रूपमा क्षति भएका घर परिवारलाई नीजि अस्थायी आवास निर्माणका लागि रकम निकासा भएको हो ।
गत बर्षको बाढी पहिरोबाट सुनकोसी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको थियो । सुनकोसी गाउँपालिकामा तीन सय ६७ परिवारलाई ९१ लाख ७५ हजार, गोलन्जोर गाँउपालिकामा ८३ परिवारलाई २० लाख ७५ हजार रुपिया, फिक्कल गाउँपालिकामा नौ परिवारलाई दुई लाख २५ हजार रुपिया र हरिहरपुरगढी गाउँपालिकामा सात परिवारलाई एक लाख ७५ हजार रुपिया निकासा भएको सहयाक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिलो किस्ताको रकम बल्ल आएको छ । जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरी त्यो रकम चार वटै पालिकामा पठाई सक्यौ । पहिलो किस्ताको रकमबाट बन्नु पर्ने संरचना बनेपछि अनुगमन गरी बाँकी दोस्रो किस्ता रकम उपलब्ध गराईने छ ।’
गोलन्जोर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त चौधरीले नीजि अस्थायी आवास निर्माणको रकम पालिकालाई उपलब्ध भएको र सूचिकृत भएका बाढीपहिरो पीडित परिवारलाई पठाउन बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले उनीहरुको बैङ्क खाता रुजु (भेरिफिकेसन) गर्ने काम भई रहेको छ । त्यो कार्य सकिने वित्तिकै रकम खातामा पठाई दिन्छौ ।’
नीजि अस्थायी आवास निर्माणका लागि एक परिवारले ५० हजार रुपिया पाउने र छानो हालेपछि अनुगमन गरी दोस्रो तथा अन्तिम किस्ता २५ हजार रुपिया उपलब्ध गराईने उहाँले बताउनुभयो । जिल्लामा गत बर्ष अबिरल बर्षापछि सुनकोसी नदीमा आएको बाढीबाट सुनकोसी, गोलन्जोर र फिक्कल तथा बागमती नदीमा आएको बाढीबाट हरिहरपुरगढी गाँउपालिका प्रभावित भएको थियो ।
यो बर्षको मनसुन सुरु भई सकेकाले नदी तथा खोलानालाका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।