Click Chautari

सिन्धुलीमा नाइट्राभेट र ट्रामाडोलसहित तीन जना पक्राउ

सिन्धुली, असार १३

Advertisement
— लागुऔषध ओसारपसारको मुहान बन्दै गएको बीपी राजमार्ग फेरि एकपटक ठूलाे परिमाणको लागूऔषधसहित पक्राउ परेका व्यक्तिका कारण चर्चामा आएको छ। बिहीबार कमलामाई नगरपालिका–९, भिमानस्थित चेकपोष्टमा नियमित जाँचका क्रममा प्रहरीले एकसाथ हजारौं ट्याब्लेट लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा यो पक्राउ एकजना मात्रको संलग्नतामा सीमित नभई सुनियोजित समूहको संलग्नता रहेको पाइएको छ।

प्रहरीका अनुसार मधेश प्रदेश नम्बर ०४२–००१ ज ०१५५ नम्बरको यात्रुबाहक इभी भ्यान बर्दीवासबाट काठमाडौंतर्फ जाँदै थियो। सोही गाडीको सिट नम्बर ६ मा सवार सर्लाहीको बरहथवा नगरपालिका–७ निवासी ३० वर्षीय विक्रम चौधरीलाई शंका लागि चेकजाँच गर्दा चकित बनाउने परिणाम देखियो।

चौधरीले बोकेको रातो झोलाभित्र २,८८० थान नाइट्राभेट ट्याब्लेट र गाडीको छतमा राखिएको जुटको बोरा भित्र २९ हजार थान ट्रामाडोल ट्याब्लेट फेला परेपछि प्रहरीले तत्कालै चौधरीलाई नियन्त्रणमा लियो।

Advertisement

थुनामा लिएपछि चौधरीले दिएको बयानले घटनामा थप दुईजनाको संलग्नता खुलाएको छ। उनका अनुसार उनी केवल भरिया मात्र हुन् र उक्त लागुऔषध आफूले अरूकै निर्देशनमा बोकेको बताएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो।

प्रहरी अनुसन्धानले देखाए अनुसार उक्त लागुऔषधका मुख्य धनीहरू सिन्धुपाल्चोकको ठुलोपाखर गाउँपालिका–६ निवासी २६ वर्षीय सफल श्रेष्ठ र सिन्धुली फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय राहुल तामाङ रहेको खुलेको छ। चौधरीको बयानकै आधारमा प्रहरीले श्रेष्ठ र तामाङलाई काठमाडौंबाट पक्राउ गर्न सफल भएको छ।

प्रहरी स्रोतका अनुसार काठमाडौंमा पक्राउ परेका दुईजनालाई अहिले सिन्धुली ल्याउने तयारी भइरहेको छ भने विक्रम चौधरीमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ), (ङ) र (च) बमोजिम मुद्दा दर्ता गरी सोही ऐनको दफा १४ (झ) अनुसार बिहीबार नै जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गरी थुनामा राखिएको छ।

यो घटनाले लागुऔषधको कारोबार सुनियोजित ढंगले भइरहेकाे र सिन्धुली हुँदै काठमाडौंसम्मको मार्ग प्रयोग भइरहेकाे संकेत गर्छ। सार्वजनिक सवारीमा भरिया प्रयोग गरिनु, ओसारपसारमा युवा संलग्नता देखिनु र सामान लुकाउने शैली हेर्दा यो गिरोह लामाे समयदेखि सक्रिय रहेको प्रहरीको प्रारम्भिक बुझाइ छ।

Advertisement

लागुऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले बीपी राजमार्गका चेकजाँचलाई अझ कडा बनाउने तयारी गरेको जनाएको छ। यस घटनाले समाजमा बढ्दो लागुऔषध समस्या र युवा पुस्ता त्यसमा तानिँदै गएको गम्भीर चुनौतीतर्फ पनि संकेत गरेको छ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.