काठमाडौं, असार १८।
संघीय निजामती सेवा विधेयकमा गरिएको कुलिङ पिरियडको हेरफेर सम्बन्धमा उत्पन्न विवादपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले छानबिन समिति गठनसम्बन्धी छलफल सुरु गरेका छन् ।बुधबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विषयमा संसदीय छानबिन समिति बनाउने सिफारिस गरेपछि सभामुखले सम्बद्ध नेताहरूसँग परामर्श थालेका हुन् । समितिका सभापति रामहरि खतिवडाले बैठकको निर्णयबारे सभामुखलाई मौखिक जानकारी गराएका थिए ।
सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । छलफलमा एमालेका महेशकुमार बर्तौला, कांग्रेसका श्यामकुमार घिमिरे, माओवादी केन्द्रका हितराज पाण्डे र रास्वपाका सन्तोष परियार सहभागी थिए । छलफलमा सभामुखले छानबिन समितिको मोडालिटी (रूपरेखा) र टीओआर का विषयमा राय लिएका थिए ।
नेताहरूले प्रधानमन्त्री विदेश भ्रमणमा रहेकाले उहाँ फर्किएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको सहभागितामा थप परामर्श गरी समिति गठन गर्न सुझाव दिएका छन् ।
यसैबीच, संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सचिवालयका सचिव (प्रशासन) डा. रोजनाथ पाण्डेलाई सम्बन्धित विषयमा प्रशासनिक छानबिन र कागजात अभिलेखिकरणको जिम्मेवारी दिइएको जानकारी सभामुखलाई गराएका छन् ।
यसरी प्रतिनिधिसभामा देखिएको निजामती विधेयकसम्बन्धी विवाद संसदभित्रै छानबिनमार्फत समाधान गर्ने संकेत देखिएको छ । सभामुखको सक्रियताले अब यो विषय संसदीय तहमा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ ।