काठमाडौँ, असार २१ । नेपालले एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो ।
सिंगापुरका लागि रोहण अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए भने कप्तान रियान नायकले १५ रन जोडे । त्यस्तै, आकास तेजाले १० रन र भेदांश गुप्ताले १२ रनको योगदान दिए ।
नेपालका बलरहरू खेलमा प्रभावशाली देखिए। अभय यादव र सुशील बहादुर रावलले समान ३–३ विकेट लिए। कप्तान शुभम खनालले २ विकेट लिँदा विपिन शर्माले १ विकेट हात पारे ।
नेपालले उत्कृष्ट बलिङ र सन्तुलित ब्याटिङ प्रदर्शनमार्फत उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । यो उपाधि नेपालको यू–१६ टोलीका लागि महत्वपूर्ण सफलता मानिएको छ ।