सिन्धुली, असार २१।
हरिहरपुरगढी गाउँपालिका–४ मा अवस्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई सिन्धुली जिल्लाकै नमूना स्वास्थ्य संस्था घोषणा गरिएको छ। आज जनस्वास्थ्य कार्यालय सिन्धुलीले आयोजना गरेको एक विशेष कार्यक्रममा न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गत सबैभन्दा बढी ९० अंक प्राप्त गर्दै चौकीले यो उपाधि प्राप्त गरेको हो।
जनस्वास्थ्य कार्यालयका प्रमुख विमल पटेलले गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबालाई प्रमाणपत्रसहित स्वास्थ्य सेवा प्रवाहमा आवश्यक सामग्रीहरू हस्तान्तरण गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष वाइबाले महेन्द्रझ्याडी स्वास्थ्य चौकीले जिल्लामै नमूनाको मान्यता पाउनु गौरवको कुरा भएको बताउँदै यो स्तरलाई कायम राख्न चुनौती भए पनि उत्कृष्ट सेवामा कुनै सम्झौता नहुने दृढता व्यक्त गर्नुभयो।
९ वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखको अवलोकन

प्रमाणपत्र हस्तान्तरणअघि प्रमुख पटेलको नेतृत्वमा जिल्लाका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले महेन्द्रझ्याडी स्वास्थ्य चौकीको सेवा, पूर्वाधार र व्यवस्थापन प्रणालीको अवलोकन गरेका थिए। उनीहरूले चौकीको व्यवस्थापन, सरसफाइ, सेवा पहुँच, अभिलेख संकलन, कर्मचारी व्यवहारलगायत पक्षको स्थलगत मूल्यांकन गरेका थिए।
गाउँपालिका र व्यवस्थापन समिति संयुक्त रूपमा सक्रिय

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ४ का वडाध्यक्ष कमलकुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा स्थानीय सरकार र नागरिक स्तरबाट भएको सहकार्यको खुलेर प्रशंसा गरिएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष वाइबाले समितिका सदस्य, स्वास्थ्यकर्मी, जनस्वास्थ्य कार्यालयको टिम र सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।