सिन्धुली, असार २१ ।
करदाता सेवा कार्यालय सिन्धुलीले शनिबार कर तथा राजस्वसम्बन्धी विविध विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा आर्थिक विधेयक २०८२ का प्रावधानहरू, कर प्रणालीसँग सम्बन्धित समस्या, तथा उद्योगी–व्यवसायीहरूले भोगेका व्यवहारिक कठिनाइहरूबारे खुला छलफल गरिएको थियो ।
कार्यक्रममा करदाता सेवा कार्यालय सिन्धुलीका कार्यालय प्रमुख मनोजकुमार न्यौपानेले कर तथा राजस्वसँग सम्बन्धित विभिन्न विषयमा प्रस्ट जानकारी गराउँदै सहभागीहरूको प्रश्नहरूको जवाफसमेत दिनुभएको थियो। उहाँले व्यवसायी र करदाताले बुझ्नुपर्ने नीतिगत कुराहरू सरल भाषामा राख्नुभएको थियो ।
त्यसैगरी, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बोल्दै कर प्रणाली सरल, पारदर्शी र व्यवसायमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उद्योगी तथा व्यवसायीहरूले भोगिरहेका समस्याबारे आफ्ना धारणा व्यक्त गर्नुभयो। साथै उहाँले कर कार्यालयलाई लक्षित राजस्व संकलनमा सफलता मिलोस् भन्ने शुभकामना पनि दिनुभएको थियो ।
कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, करदाता सेवा कार्यालयका कर्मचारी, उद्योगी, व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अन्तरक्रियाबाट प्राप्त सुझाव र गुनासाहरूलाई समेटेर आगामी दिनमा कर प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरिएको छ ।