Click Chautari

एमाले झोला अभियान कार्यकर्ता गाउँमा

मत परिवर्तनको अभ्यास कि व्यवस्था विरुद्धको चेतना ?
Advertisement

“एमालेको झोले अभियान र रास्वपाको हस्ताक्षर अभियान सतहमा फरक देखिए पनि दुबै निर्वाचन ०८४ को पूर्वाभ्यास हुन् । यो विश्लेषणात्मक लेखले जनताको बदलिंदो मनोविज्ञान, सत्ता प्रतिको असन्तोष र वैकल्पिक राजनीतिको उदयबारे गहिरो अन्तर्दृष्टि दिन्छ ।”

जनतामाझ गहिरिंदै गरेको असन्तोष, रणनीति र प्रतिरोधका दुई अनुहार

जनता सधैं बोल्दैनन् । कहिलेकाहीं उनीहरू मौन रहन्छन्, चुप लाग्छन तर त्यो मौनता असहायताको संकेत होइन, आँधीको पूर्वसन्ध्या हो । नेपालमा अहिले त्यस्तै मौनता छ, जुन सामाजिक सञ्जाल, चोक, गल्ली र भित्री सुस्केराहरूमा फैलिएको छ । जनताले पुराना दलहरूबाट थुप्रै आशा गरेका थिए, तर आशा जब निराशामा रुपान्तरण हुन्छ, त्यहाँ रणनीति र प्रतिरोधको नयाँ रूप जन्मिन्छ ।

त्यही असन्तोषलाई दुई फरक दलहरूले फरक शैलीमा सम्बोधन गरेका छन् । नेपालको वर्तमान राजनीतिक परिदृश्यमा दुई फरक राजनीतिक दलका दुई फरक अभियानहरू—नेकपा एमालेको “म झोले” र रास्वपाको “हस्ताक्षर” अभियान झट्ट हेर्दा शान्त देखिने तर गहिरो राजनीतिक सन्देश बोकेका अभियानहरु हुन । यी दुवै अभियान सतही रूपमा हेर्दा प्रचारात्मक मात्र देखिए पनि, वास्तवमा ती सूक्ष्म रूपमा दलहरूका लागि मत सर्वेक्षण र चुनावी पूर्वाभ्यासका रूपमा कार्यरत छन् ।

Advertisement

यो असन्तोषको जरा केवल आर्थिक, सामाजिक वा राजनीतिक असफलतामा सीमित छैन । यो असन्तोष अपमान र उपेक्षाको प्रतिफल हो । जब जनताले प्रिय मानेका सफल पात्रहरूलाई नै किनारा लगाइन्छ । बालेन, हर्क साम्पाङ, कुलमान आदी यिनीहरू केवल प्रतीक हुन् । जसलाई पुराना शक्तिहरूले बिर्सिन खोजे, र त्यही भूल अहिले जनमतको उल्टो लहर बन्न सक्ने संकेत दिइरहेको छ ।

झोले अभियानः कार्यकर्तालाई चनाखो बनाउन

एमालेले सञ्चालन गरेको झोले अभियान, सतही रूपमा हेर्दा जनसंपर्कको प्रयासजस्तो लागे पनि, वास्तविकतामा यो पार्टीको सांगठनिक परीक्षण र कार्यकर्ता सक्रियता जगाउने रणनीति थियो । चुनावी पराजय, पार्टीभित्रको असन्तोष र वैकल्पिक शक्तिको उदयबीच एमालेले यो अभियान मार्फत कार्यकर्ताको मनोबल जाँच्ने, बाँकी रहेको संगठन बल नाप्ने, र मक्किँदै गएको आन्तरिक संरचनालाई पुनः सक्रिय बनाउने प्रयत्न ग¥यो ।

झोला बोकेर गाउँ–घर पुगेका कार्यकर्ता जनतामाझ आफ्नो उपस्थितिको प्रमाण दिन चाहन्थे, तर जनताले त्यो झोलाभित्र पुराना वाचा, ओइलिएका नारा र आश्वासनको भारी देखे—जुन विश्वासभन्दा बढी थकानको कारण बन्दै गयो । यो अभियानले कार्यकर्तालाई चनाखो त बनायो, तर यो अभियानको प्रभाव कार्यकर्ता स्तरमा मात्र सीमित देखिन्छ । यसले कार्यकर्तालाई सक्रिय राख्न र उनीहरूको मनोबल जाँच्न भूमिका खेल्यो, तर आम मतदातामा प्रत्यक्ष गहिरो प्रभाव पार्न सकेन ।

हस्ताक्षर अभियानः मत ट्रान्सफरको सुरुआती अभ्यास

रास्वपाले सुरु गरेको “हस्ताक्षर अभियान” प्रचारको शैलीमा सुरु भए पनि यसको मर्म गहिरो छ—यो भावनात्मक समर्थन मात्र होइन, आगामी निर्वाचनमा मतको सम्भावित प्रवाह नाप्ने राजनीतिक प्रविधि हो ।

Advertisement

जुन उत्साह, जुन भिड र जुन समर्थन रास्वपाको अभियानले देखाइरहेको छ, त्यो ०८४ सालको निर्वाचनमा रास्वपाको सम्भावित मत बैंकको संकेत हो । जनताको हातबाट उठेको एउटै हस्ताक्षरले त्यो पार्टीप्रतिको आस्था मात्र होइन, पुराना दलहरू प्रति रहेको गहिरो असन्तुष्टिको पनि प्रतिनिधित्व गरिरहेको छ ।

रास्वपाले यो अभियानमार्फत सहानुभूति सङ्कलनको नयाँ तरिका प्रस्तुत गरेको छ—जहाँ नाराभन्दा संवाद छ, वाचा भन्दा भरोसा छ, र घोषणा भन्दा सहभागिता ।

रास्वपाः “प्रतिशोध” लाई “रणनीति” मा बदल्ने अभ्यास

राजनीतिक प्रतिस्पर्धामा जुन पार्टी सधैं सत्ताको निशानामा रहन्छ, त्यो या त समाप्त हुन्छ, वा जनताको भरोसा जितेर सशक्त शक्ती बन्छ । रास्वपा अहिले ठीक यही मोडमा उभिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथिको निरन्तर न्यायिक र प्रशासनिक हस्तक्षेप, धरान उप–महानगर पालिकाका स्वतन्त्र मेयर हर्क साम्पाङप्रति देखिएको उपेक्षा र कुलमान घिसिङजस्ता जनप्रिय पात्रमाथिको अनावश्यक असहिष्णुता – यी सबै घटना रास्वपाप्रति मात्र होइन, वैकल्पिक राजनीतिक धार प्रति राज्य संरचनाले देखाएको अविश्वासका प्रतिविम्ब हुन् ।

तर रास्वपाले यी हमलाहरूलाई आक्रोशको ढोका होइन, रणनीतिक अवसरको झ्याल बनाएको छ । पीडालाई प्रचारमा, असहिष्णुतालाई समर्थनमा र प्रतिशोधलाई जनचेतनाको चर्को आवाजमा रूपान्तरण गर्ने असाधारण चातुर्यता देखाएको छ । उसले कुनै ‘दण्ड अभियान’ होइन, हस्ताक्षर अभियान सुरु गर्यो ।

जहाँ आँखा तर्काउने होइन, जनताको मन जित्ने प्रयत्नमा लागेको देखिन्छ । यसरी हेर्दा, रास्वपा अहिले केवल नयाँ राजनीतिक शक्ति होइन, सत्ता संरचनाको दमनलाई लोकतान्त्रिक प्रतिरोधमा बदल्ने एक सुसंगठित प्रयोगशाला पनि बनेको छ । जहाँ प्रतिशोधका सुस्केरा ‘रणनीति’को सास बन्न थालेका छन् ।

सरकारसँग प्रतिशोधको हिसाब गर्न खोज्ने शैली होइन, जनता माझ सहानुभूति र विश्वास जितेर चुनावी शक्ति सँगाल्ने दायित्व उसले आत्मसात गरेको देखिन्छ ।

सत्ता प्रतिको जन असन्तोषस् बलियो बनाउँदैछ वैकल्पिक धार

सरकारले आफूप्रति आलोचना गर्नेलाई “दण्डित” गर्न थालेपछि त्यो व्यवस्थाको असफलता मात्र होइन, लोकतन्त्रको खतरासमेत हुन्छ ।

बालेन, हर्क वा कुलमानहरू राज्यद्वारा पेलिन थालेपछि जनताले बुझ्न थालेका छन्—सत्ता आलोचना होइन, आज्ञाकारिता चाहन्छ ।
र जहाँ आलोचना अपराध ठहरिन्छ, त्यहाँ विकल्पको खोज सुरु हुन्छ।

आजको विकल्प भनेको केवल अनुहार होइन, सिस्टमभित्रको दृष्टिकोण परिवर्तन हो । रास्वपाले अहिले त्यही दृष्टिकोणमा आधारित जनविश्वासको जग निर्माण गरिरहेको छ।

झोले विरुद्ध हस्ताक्षरः कुन बलियो

सांगठानिक दृष्टिले हेर्दा एमाले बलियो छ । संरचना छ, इतिहास छ, जनशक्ति छ । तर जन भावनाको गहिराइमा रास्वपाको “हस्ताक्षर” अभियानले जे पकड बनाइरहेको छ, त्यो एमालेको “झोले” अभियान भन्दा कयौं गुणा बढी प्रत्यक्ष र प्रभावकारी देखिन्छ ।

एमालेले झोला बोकेर जनतालाई भेटे पनि, रास्वपाले हस्ताक्षरमा जनताको विश्वास बोकेको छ । एकातिर प्रचारात्मक उपस्थिति छ भने अर्कोतिर भावनात्मक सम्बन्ध जनतासँग जोडिदै गएकोछ ।

लोकतन्त्रको पुनर्परिभाषा तर्फ अग्रसरता

०८४ को निर्वाचन केवल जनप्रतिनिधि छान्ने प्रक्रिया मात्र हुने छैन । यो निर्वाचन प्रणाली, दल, नेतृत्व र नीतिप्रतिको जनआस्था पुनः परीक्षण हुने अवसर पनि हुनेछ ।

रास्वपाको हस्ताक्षर अभियान त्यो परिवर्तनको संकेत हो, जुन अब भाषण र नारामा होइन, तथ्य र जनसंख्याको समर्थनमा आधारित छ ।
सरकार र सत्तारूढ दलहरूले यो आन्दोलनलाई दमनको दृष्टिले होइन, आत्मसमीक्षाको दृष्टिले हेर्नु आवश्यक छ । नत्र, जुन बिउ आज हस्ताक्षरमा रोपिएको छ, त्यो भोलिको क्रान्तिमा अंकुरित नहोला भन्न सकिन्न ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.