Click Chautari

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ, असार २३।

Advertisement
आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१. एमालेसँग माओवादी केन्द्रको एकता सम्भावना अस्वीकार

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग एकता गर्ने कुनै नीति र सोच नरहेको स्पष्ट गरेको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी नरहेको बताउदै आफ्नो धारणा स्पष्ट गरेका हुन्  ।  माओवादी केन्द्रले अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहे तर एमालेसँग अहिले एकताको चर्चा नरहेको माओवादी केन्द्रले स्पष्ट गरेको छ । साथै तथ्यहीन र आधारहीन प्रचारबाजीबाट भ्रममा नपर्न माओवादीले आग्रह गरेको छ ।

२. राष्ट्रपतिबाट तीन नयाँ न्यायाधीशको नियुक्ति

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

Advertisement

३. ‘कुलिङ पिरियड’ विवादमा संसदीय समिति गठन

संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ मा गरिएको हेरफेर बारे छानबिन गर्न बन्ने संसदीय समिति गठन भएको छ । प्रतिनिधि सभाले गठन गरेको समितिको नाम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन गर्न गठित विशेष समिति’ रहेको छ । समितिमा काँग्रेसबाट जीवन परियार र सुशिला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहने भएका छन् । समितिको संयोजकमा काँग्रेसका जीवन परियार रहेका छन् ।

४. ओली–रेशम भेट: नाउपा सरकारमा रहने कि नरहने?

प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । सोमबार बालुवाटारमा भएको भेटवार्तामा नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएको विषयमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री ओलीले चौधरीलाई सरकारबाट बाहिर नजान आग्रह गरेको बताएका थिए । आफ्ना सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरीको बर्खास्तीपछि नाउपाले सुदूरपश्चिमसहित लुम्बिनी प्रदेश र केन्द्र सरकारबाट बाहिरिएको छ ।

५. नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्बको कारोबार

नेप्से परिसूचकमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २२.३५ अंकले घटेर  २६८४.०१  विन्दुमा कायम भएको छ ।  आजको कारोबारमा विभिन्न ३११ कम्पनीका एक करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

६. प्रधानमन्त्री ओलीको संसदमा स्पेन भ्रमण प्रतिवेदन

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताए । प्रधानमन्त्री ओलीले उक्त सम्मेलनपूर्व यही असार १४ गते प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणका कार्यसूचीबारे जानकारी गराएका थिए । सम्मेलनका लागि प्रधानमन्त्री ओलीले यही असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए ।

Advertisement

७. हँसपुरका पूर्वअधिकारीहरूमाथि भ्रष्टाचार मुद्दा दर्ता

धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मंडलसमेत ९ जना र देव कन्स्ट्रक्सनविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको छ ।

८. संघर्षपीडित घाइतेका लागि उपचार कार्यविधि स्वीकृत

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय गरेका छन् । द्वन्द्वपीडित तथा भूकम्पमा समेत घाइते भएकाहरुको उपचार सरकारी कोषबाट भैरहे पनि बजेट अभाव तथा पूर्ण उपचार समेटिन नसके पछि मन्त्री पौडेलले सबै उपचार समेट्ने गरी अस्पतालहरुलाई सोधभर्ना दिने कार्यविधि स्वीकृत गरेका हुन् । 

९. त्रिवि उपकुलपतिमा तीन जनाको सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले सोमबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रा.डा.खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङको नाम सिफारिस गरेको छ । 

१०. ‘मल र मन्त्री दुवै हराउँछन्’ : बाँस्कोटाको व्यङ्ग्य

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै बास्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको टिप्पणी गर्दै तत्काल मलको प्रबन्ध गर्न माग गरेका हुन् । उनले भने- ‘कृषिमन्त्रीज्यू रन्किनुहोला, म यहीँ छु भनेर । यहाँ एउटा अभिषप्त इतिहास र नियती दोहोरिन्छ, असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति हुन्छ नेपालमा । भूकम्पबाट राहत बाँड्याजस्तो १० केजी राहत बाँडेर कृषिको उत्पादन वृद्धि कसरी हुन्छ ? तत्काल मलको प्रबन्ध गरियोस ।’

११. रास्वपाको संसद बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभाको सम्बोधन बहिष्कार गरेको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणको बारेमा जानकारी दिने लगायत समसामयिक विषयमा सम्बोधन शुरु गर्ने भएपछि रास्वपाले संसद बहिष्कार गरेको हो ।

१२. ओली–स्वीस विदेशमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रवात सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो । 

१३. नेपाल र बंगलादेशबीच दुई मैत्रीपूर्ण फुटबल खेल

नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सेप्टेम्बर ६ र ९ मा काठमाडौंको दशरथ रंगशालामा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय भएको जानकारी दिएको छ । दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत खेलिने छ । एएफसी एसियाली कप छनोटमा बाँकी खेलहरू अघि यी मैत्रीपूर्ण खेलहरूले नेपालको लागि महत्वपूर्ण तयारीको रूपमा खेलिने एन्फाले जनाएको छ ।

१४. झलनाथ खनाल चीन प्रस्थान

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन प्रस्थान गरेका छन् । बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी हुन नेता खनाल चीन प्रस्थान गरेका हुन् । नेता खनाल असार २७ गतेमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

१५. मन्त्री बद्रीप्रसाद पाण्डे फ्रान्स प्रस्थान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन् । पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

१६. महिला फुटबल टिम स्वदेश फर्कियो

नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ । उज्बेकिस्तान एएफसी महिला एसियन कप छनोट प्रतियोगिता खेलेर नेपाली महिला राष्ट्रिय फुटबल टिम सोमबार काठमाडौँ आइपुगेको हो । खेलाडीलाई एन्फाका पदाधिकारीले स्वागत गरेका थिए । प्रतियोगिताको अन्तिम खेलमा उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाल एशियन कपमा छनौट हुन असफल भएको थियो । यस प्रतियोगितामा नेपालले लाओस र श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

१७. यू-१६ क्रिकेट टिम उपाधिसहित स्वदेश फर्कियो

एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ । गएराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको यू-१६ राष्ट्रिय टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का लगायत क्यानका पदाधिकारीले स्वागत गरेका थिए । फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको थियो ।  नेपालले लगातार दोस्रो पटक एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको छ ।

१८. भारतले इंग्ल्याण्डविरुद्धको टेस्ट जित्यो

भारतले इङल्याण्डविरुद्धको दोस्रो टेस्ट जितेको छ । गएराती सम्पन्न सिरिजको दोस्रो टेस्ट भारतले ३३६ रनले जितेको हो । यो जितपछि ५ खेलको टेस्ट सिरिज १-१ ले बराबरी भएको छ । अब सिरिजको तेस्रो खेल आगामी विहिबारदेखि लर्ड्स क्रिकेट मैदानमा हुदैछ ।

१९. एलन मस्कको स्टारलिंक श्रीलंकामा पनि सुरु

एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंक श्रीलंकामा शुरु भएको छ । भुटान र बंगलादेश पछि श्रीलंका दक्षिण एसियाको तेस्रो देश हो जहाँ स्टारलिंक इन्टरनेट सुरु गरिएको छ । स्पेसएक्सका संस्थापक र सीईओ मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा स्टारलिंकको श्रीलंकामा प्रवेशको घोषणा गरेका छन् ।

२०. ट्रम्पले मस्कको ‘अमेरिका पार्टी’ माथि व्यंग्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको नयाँ राजनीतिक दल गठन गर्ने निर्णयको मजाक उडाएका छन् र यो सफल नहुने दाबी गरेका छन् ।  ट्रम्पले मस्कको ‘अमेरिका पार्टी’ लाई हास्यास्पद भन्दै देशले परम्परागत रूपमा दुई-दलीय प्रणालीमा विश्वास गर्दै आएको छ र तेस्रो राजनीतिक दलको लागि कुनै ठाउँ नभएको टिप्पणी गरेका छन् ।  राष्ट्रपति चुनावको समयमा ट्रम्पका सहयोगी रहेका व्यवसायी मस्कले ट्रम्पसँगको विवादपछि नयाँ पार्टी गठनको घोषणा गरेका छन् ।

– एभरेष्ट न्यूज एजेन्सी,

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.