“त्यो सांसदले गोठालोलाई अपमान गरे। म गोठालो हुँ भनेर नै म आफूलाई चिनाउँछु। अपहेलित शब्दलाई जब गर्वको उपाधिमा बदलिन्छ, त्यो शब्द ‘संघर्ष’को शिखर बन्छ।”
सिन्धुलीको एउटा गाउँको बिहान । सगरमाथाझैं अडिग देखिने मान्छे, कोही भन्थे– नेता, कोही भन्थे– लडाकु । तर, उनी आफ्नो परिचय दिन्थे– म गोठालो हुँ । राजनीति र युद्धको आँधीमा होमिएका ओमबहादुर कार्की, जसलाई सबै ‘गौरव’को नामले चिन्थे । एकाएक उनले आफ्नो परिचय किन फेरे ?
केही वर्षअघि एकजना जिल्लाकै नाम चलेका सांसदले किसानको कार्यक्रममा ठाँटबाँटसहित सिंगारपाटार गरेर, परफ्युम छर्केर आएको देख्दा गौरवले भनेका थिए, ‘माननीयज्यू, किसानको कार्यक्रममा यति धेरै सजिनु पर्दैन होला ।’ जवाफमा ती सांसदले भनेका थिए, ‘सुदीपजी, मलाई यी किसानहरू गोठाला लाग्छन् ।’ सांसदको त्यो व्यांग्यात्मक शब्द उनको मनमा गढ्यो । किनकि उनी पनि किसान थिए । र, एकपटक युद्धमा ‘गोठालो’ बन्दा नै भाग्यले उनलाई बचाएको थियो ।
०००
०६० सालमा एसएलसी पास गरेपछि १७ वर्षको कलिलै उमेरमा गौरवले राजनीतिक मार्ग रोजे । हजुरबुवा मुखिया,बुबा गाउँकै हेडमास्टर, परिवार प्रतिष्ठित, मावलीतर्फ आर्मी र पुलिसको बलियो पृष्ठभूमि । मामाको आर्मी बुट लगाएर ब्यारेक नजिक हिँड्दा ‘जमदारको भान्जा’ भनेर नचिन्ने कोही थिएनन् । तर, उनको मनमा ‘जनयुद्ध’को आगो दन्किरहेको थियो । उनको दिमागमा शान्ति, संविधान, जनगणतन्त्र र शिक्षालाई श्रमसँग जोड्ने विचारले जरा गाडिसकेको थियो ।
नेपाल विद्यार्थी संघको आवरणमा रहँदा उनले माओवादी संगठन विस्तारमा भित्रभित्रै माओवादी संगठन निर्माणको भूमीका खेले । एक दिन उनी बाहिर भएको वेला आर्मीले उनको कोठामा माओवादीका पर्चा फेला पा¥यो । त्यो पर्चा कोही साथीले बेडमुनि राखिदिएको रहेछ । आर्मीले खोज्न थालेपछि उनको साथीले आर्मीले कोठाखानतलासी गर्दा पर्चा भेटाएको हुँदा त्यहाँ नआउन भनेपछि उनी भूमिगत भए । त्यही दिनदेखि ‘सुदीप’ बनेर जंगल–जंगल, मोर्चा–मोर्चा लडे ।
०६२ माघ १४ मा भोजपुरको घोडेटार मोर्चामा पहिलोपटक सहभागी भए । त्यो मोर्चामा माओवादीको ठूलो क्षति भयो । त्यहाँ उनीसँगै गएका धेरै साथी हताहत भएका थिए । युद्ध मोर्चाबाट फर्किँदै गर्दा हेलिकोप्टरबाट आर्मीले चलाएको गोली उनको खुट्टामा लाग्यो । ४७ घन्टा उनी अचेत रहे । होस खुल्दा उनी खोटाङको सावाकटेरीमा कुनै अपरिचित घरमा थिए । के भयो ? कसरी त्यहाँसम्म पुगे ? उनको सम्झनामा छैन । गोली लागेर उनको नसा, कार्टिलेज र मेरुदण्डमा क्षति पुगेको थियो । लामो समय उपचारपछि उनी ठीक त भए, तर आज उनी भारी बोक्न सक्दैनन्, उत्तानो सुत्न सक्दैनन् । ‘शरीर जति घाइते भए पनि आत्मा कहिल्यै नथाकेको अनुभूति हुँदोरहेछ,’ उनले सुनाए ।
उनी युद्धमा पटकपटक बाँच्न सफल भए । सिन्धुलीको कदमे गाउँमा एकपटक आर्मीले घेरा हालेको थियो । उनी दुई साथीसँग थिए, सबै खोलैखोला भागे । अलि पर पुगेपछि फर्केर हेरे, उनी एक्लै थिए । टक्क अडिए, ‘अब भाग्दिनँ ।’ आर्मीको घेरा छोडेर भाग्न सम्भव थिएन, ज्यान जोगाउने उपाय नदेखेपछि उनी अडिएका थिए । त्यहीबेला गाउँका एकजना चिनजानकै नेवार बाजेले उनलाई बचाए । ती बाजेले उनको झोला त्यहीँ फ्याँकिदिए, आफ्नो घर लगेर तीन डोरो जनाइ लगाइदिए । कपाल खौरिँदै थिए, आर्मी घरमा आइपुग्यो । घरवरिपरि खानतलासी गरेपछि सोधे, ‘यहाँ तीनजना माओवादी थिए, दुईजना खोलैखोला भागे, एकजना यतातिर आएको थियो, देख्नुभयो त ?’ सुदीप घोप्टेमुन्टो लगाएर बसेका थिए । अब बाँचिदैन होला भन्ने डरले उनको ओठमुख सुकिसकेको थियो । ‘भोलि श्रीमतीको श्राद्ध छ, आज एकछाकी, त्यसैले छोराको कपाल खौरिँदै छु,’ उनले आर्मीलाई भने, ‘एउटा केटो मास्तिर मागेको थियो, सायद ऊ नै हो कि ।’ त्यसपछि आर्मी मास्तिर लागे । धन्न ! त्यो घटनामा भाग्यले सुदीप बाँच्न सफल भए ।
अर्कोपटक पनि उनी संजोगले यसैगरी बाँचे । सिराहाबाट फर्किँदा आम्बोटेमा फेरि आर्मीको घेराबन्दीमा परे । योपटक गौतम थरका बाजेले उनलाई बचाए । पहिले जसरी नै एउटा जनाइ र निधारमा चन्दन लगाइदिएर वैष्णव बनाए । र, गोठमा भैँसी दुहुन पठाए । उनी भैँसीको दूध दुहुन बसेका मात्र थिए, आर्मी सोधखोज गर्दै उनीछेऊ जाँदै थिए । ‘भैँसी नयाँ मान्छे देखेपछि तर्सिन्छ, दूध पनि दिँदैन, तपाईंहरु अलि उताबाट गइदिनूस् है,’ आर्मीलाई नजिक आइनपुग्दै उनले अनुरोध गरे । त्यसपछि आर्मीहरु पनि उकालो लागे । ‘गोठालो’ बन्दा उनी दोस्रोपटक मृत्युनजिक पुगेर फर्किए ।
०७२ असोज ३ सम्म उनी माओवादीमै थिए, ०७३ मा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोलेपछि उनी पनि त्यतै लागे । फेरि ०८२ जेठ १२ मा माओवादीमै फर्किएका छन् । ‘गणतन्त्र त ल्याइयो, तर जनयुद्धमा लाग्दा देखेको सपना अभैm अपूरै रह्यो । श्रम सम्मानित हुने, शिक्षा व्यवहारिक हुने र जनताको हक सुनिश्चित हुने सपना बाँडेका थियौँ,’ जनयुद्धका ती दिन सम्झँदै गौरवले भने, ‘सत्तामा पुगेपछि नेताहरुले ती सबै बिर्से । उनीहरू नवसामन्त बन्दै गए । अब पनि नसच्चिए माओवादी सकिन्छ ।’
आज उनी गाउँमा बाख्रा चराउँदै गरेको भेटिन्छन् । कतै चौतारामा आफ्नो खेतबारीको उब्जनी र फलफुल बेच्दै गरेका भेटिन्छन् । उनले दर्जनौं खसी–बाख्रा र कुखुरा पालेका छन् । खेतबारी पनि आफै जोत्छन् । उनी ‘युद्धमा सहभागी भए, रक्तपात भाेगे, र अहिले बाख्रा चराउँदै छन, यही हो तपाईंहरुले ल्याउन खोजेको परिवर्तन ?’ धेरैले उनलाई यही प्रश्न दोहो¥याउँछन् । प्रश्न सोध्नेहरुलाई किसानको कार्यक्रममा भेटिएका त्यही सांसदको प्रसंग सुनाउँछन् । र, मुस्कुराउँदै भन्छन्, ‘त्यो सांसदले गोठालोमाथि गरेको व्यंग्य मेरो आत्मसम्मानको प्रतीक बन्यो । जब अपहेलित शब्दलाई गर्वको उपाधि बनाइन्छ, त्यही शब्द ‘संघर्ष’को शिखर बन्छ ।’
तपाईंलाई यो कथा मन पर्यो? कृपया सेयर गर्नुहोस् — किनकि सत्य बोल्ने कथाहरू लुकाइँदैनन्, फैलाइन्छ।