सिन्धुलीका दुई नगरपालिका र सात गाउँपालिकामा भवन निर्माण गर्दा नक्सा पास गर्नेको संख्या अत्यन्त न्युन रहेको पाइएको छ। चेतनाको कमी, कानुनको अपूर्ण कार्यान्वयन र सुविधाको अभावले नक्सा पासको प्रवृत्ति घटेको हो।
सिन्धुलीका नौ स्थानीय तहमध्ये नक्सा पास गरी भवन बनाउने प्रवृत्ति अत्यन्त न्युन
०८१/८२ आर्थिक वर्षमा कमलामाईमा करिब २००, दुधौलीमा ४८ नक्सा पास
पाँच गाउँपालिकामा अहिलेसम्म एकपटक पनि नक्सा पास भएको छैन
चेतनाको कमी, कानुन कार्यान्वयनमा कमजोरी र सुविधा अभाव प्रमुख कारण
नक्सा पास नगरी बनेका घरले मापदण्ड उल्लंघन र सडक अतिक्रमणको समस्या
सिन्धुली, साउन २३ । सिन्धुली जिल्लामा नक्सा पास गरी नीजि आबास बनाउने सङ्ख्या असाध्यै न्युन रहेको पाईएको छ । जिल्लामा स्थानीय तहले नीजि तथा सरकारी भवन निर्माणका लागि कार्य विधि बनाई नक्सा पास गर्नु पर्ने व्यवस्था गरेपनि उक्त कार्यविधि पूर्ण पालना हुन सकि रहेको छैन । अधिकांसमा भवन बनाउदा नक्सा पास गर्नुपर्छ भन्ने ज्ञानको कमी, पहाडी भू–बनौट र लापर्बाही लगायतका कारणले नक्सा पास गर्ने व्यक्तिको सङ्ख्या न्युन रहेको बताईएको छ ।
दुई वटा नगरपालिका र सात वटा गाँउपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा गाँउपालिकाको तुलनामा नगरपालिकामा भवन निर्माण गर्दा नक्सा पास गर्ने व्यक्ति बढी पाईएको छ । सम्बन्धित स्थानीय तहका अनुसार गत आर्थिक बर्ष ०८१/०८२ मा कमलामाई नगरपालिकामा करिब दुई सय जनाले र दुधौली नगरपालिकामा ४८ जनाले नक्सा पास गरी भवन बनाएका छन् ।
त्यस्तै हरिहरपुरगढी गाँउपालिकामा पाँच वटा, घ्याङ्लेख गाँउपालिकामा दुई जनाले नक्सा पास गरेका छन् । बाँकी तीनपाटन, फिक्कल, मरिण, गोलन्जोर र सुनकोसी गाँउपालिकामा भवन निर्माणका लागि कार्य विधि बने पनि कडाईका साथ लागू नहुदा अहिलेसम्म भवन बनाउदा नक्सा पास हुन सकेको छैन । तीनपाटन गाँउपालिका अध्यक्ष कर्णबहादुर थापा मगर घर बनाउदा नक्सा पास गर्नु पर्ने ऐन, कानून बनेपनि पूर्ण रुपमा लागू भई नसकेको बताउनुहुन्छ ।
‘गाँउमा घर बनाउदा नक्सा पास गर्न बानी बसाउन पनि कठिन छ,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म नक्सा पास गरेर घर बनेको छैन । त्यसका लागि ऐन, कानून बनेको छ, यो बर्षदेखि लागू गर्छौ ।’ ११ वटा वडा रहेको उक्त पालिकामा अहिलेसम्म नीजि तथा सरकारी भवनको नक्सा पास नभएको गाँउपालकाले जनाएको छ ।
हरिहरपुरगढी गाँउपालिकाका प्राविधिक विश्वराज थापा पालिकामा घर नक्सा पास गर्न फाट्फुट्ट आई रहेपनि बैंकबाट ऋण खानका लागि आउने गरेको पाईएको बताउनुहुन्छ । पालिकाले नीजि आवास बनाउदा अनिबार्य नक्सा पास गर्नु पर्ने भनी कडाई समेत नगरेको उहाँले जानकारी दिनुभयो ।
घर नक्सा पास गराउदा लाग्ने शुल्क र विभिन्न कागज पत्र जुटाउदा मान्ने झन्झटले पनि नक्सा पास गर्न चासो नदिएको स्थानीय बताउछन् । ‘गाँउका बस्तिहरुमा अझै पनि सडक, खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षा लगायतका अधारभुत सुविधाबाट नागरिक बञ्चित छन्, ती सुविधा पालिकाले सबै ठाँउमा दिन सकिरहेको छैन,’ फिक्कल गाँउपालिका–६ निवासी भरत मगर भन्नुहुन्छ, ‘अनि घर बनाउनदा नक्सा पास गरेर पालिकालाई कर मात्रै किन तीर्नु ? सुविधा पाउनु केही छैन ।’
गाँउ घरमा अझै पनि नक्सा पास नगरी परम्परागत ढुङ्गा, माटो जडान, सिमेन्ट जडान र सडक सुविधा उपलब्ध भएको स्थानमा आरसिसि पक्कि घर निर्माण भई रहेको छ । सहरी करण हुदै गएको कमलामाई र दुधौली नगरपालिकामा समेत नक्सापास नगरी घर बनाउने प्रबृत्तिमा कमी आउन सकेको छैन ।
नगरपालिकाले नगर क्षेत्रभित्र व्यवस्थित बसोबासका लागि घर बनाउदा अनिबार्य नक्सापासको व्यवस्था गरे पनि कतिपय व्यक्तिको लापर्बाही र चेतनाको अभावमा घर बनाउदा नक्सा पास नगर्ने प्रबृत्तिको विकास भएको जनाईएको छ । नक्सापास नगराई घर बनाउदा र नगरपालिकाले पनि राम्रोसँग अनुगमन नगर्दा नगरक्षेत्रका कतिपय बस्तिमा मापदण्ड बिपरित घर बन्नुका साथै सडकको जग्गा समेत अतिक्रमणमा परि रहेका स्थानीय बासिन्दाले बताएका छन् ।
पालिकाले न्युनतम सुविधा पनि दिन नसकेका कारण घर बनाउदा नक्सा पास गर्ने तर्फसोच स्थानीय मानिसको जान नसकिरहेको दुधौली नगरपालिका–१३ अरुणठाकुर निवासी बिरबहादुर तामाङ् बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘नगरपालिकाभित्र मदन भण्डारी राजमार्गको आसपास क्षेत्रमा समेत पछिल्लो समयमा नक्सा पास नगरी घर बनाउन थालिएको छ । भित्री शाखा र कच्चि सडक क्षेत्रमा त नक्सा पास नगरि घर बनाउने चलन झन् बढी छ ।’