Click Chautari

सिन्धुलीका तीन गाउँपालिकामा पोषण सुधारका लागि ५५ करोड बढी खर्च

वल्ड भिजनको सहयोगमा सिन्धुलीका तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा पाँच वर्षमा ५५ करोड बढी खर्च, १५ हजारभन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित ।

Advertisement

सिन्धुली, भदौ २३ । सिन्धुली जिल्लाका तीन गाउँपालिका—तीनपाटन, फिक्कल र गोलन्जोरमा विपन्न परिवारको पोषण सुधारका लागि गत पाँच वर्षमा ५५ करोड ४९ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । स्थानीय सरकारसँगको सहकार्यमा वल्ड भिजनले सन् २०२१ देखि २०२५ सम्म सिड्स नेपाल र रिलिफ नेपालमार्फत सञ्चालन गरेका विभिन्न परियोजनाले जिल्लाका १५ हजार ८५६ घरपरिवारलाई प्रत्यक्ष लाभ पुर्‍याएको हो ।

यस अवधिमा पोषण, बालमैत्री शासन, शिक्षा, कृषि, पशुपालन, विपद् व्यवस्थापन र पुनर्निर्माणका क्षेत्रमा उल्लेख्य कार्यक्रम सञ्चालन भएका छन् । ती कार्यक्रमहरूमध्ये तीनपाटन गाउँपालिका–१० लाई बागमती प्रदेशकै पहिलो पोषणमैत्री वडा घोषणा गरिएको छ भने तीनपाटन–५, १०, ११ र फिक्कल गाउँपालिका–३, ५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । रिलिफ नेपालका अध्यक्ष दुर्गा पौडेलका अनुसार विद्यालय भवन निर्माणदेखि आईसीटी सामग्री तथा शैक्षिक सामग्री सहयोगजस्ता कामले बालबालिकाको शैक्षिक पहुँच र वातावरण सुधारमा योगदान पुगेको छ ।

Advertisement

स्वास्थ्य र पोषणका क्षेत्रमा गर्भवती महिला र कुपोषित बालबालिकालाई लक्षित गरी स्वास्थ्य सामग्री वितरण, सेवा विस्तार र पोषणयुक्त करेसाबारी सञ्चालनका गतिविधि भएको सिड्स नेपालका अध्यक्ष दीपककुमार घिमिरेले बताए । उनका अनुसार हालसम्म १८ वटा खानेपानी योजना निर्माण भई ४६६ घरपरिवारले स्वच्छ खानेपानी पाएका छन् भने सातवटा सिंचाइ कुलो बनेर १९२ किसानले ७७३ रोपनी जमिनमा सिंचाइ सुविधा पाएका छन् । कृषि क्षेत्रमा व्यवसायिक तरकारी खेती, बाख्रापालन, भैँसीपालन, प्रविधि सहयोग र व्यवसायिक तालिममार्फत आय–आर्जनको आधार विस्तार भएको पनि जनाइएको छ ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले यी कार्यक्रम तत्काल प्रत्यक्ष लाभ नदेखिए पनि दीर्घकालीन रूपमा मानिसको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउने बताए । उनका अनुसार वडालाई बालमैत्री वा पोषणमैत्री घोषणा गर्न आवश्यक सूचकहरू पूरा गर्ने काम योजनाबद्ध रूपमा भइरहेका छन् । उनले भने, “अहिले गाउँगाउँमा करेसाबारी विस्तार भएको छ र विषादीको प्रयोग क्रमशः घट्दै गएको छ ।”

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पनि यी परियोजनाले जिल्लामा पोषण सुधार र बालमैत्री वातावरण निर्माणमा दीर्घकालीन लाभ पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.