सिन्धुलीका प्रमुख शक्तिपीठहरुमा यस बर्षको बडा दशैंका लागि वैदिक विधिबाट सामूहिक जमरा राखिएको छ । कालिमाई र रक्तमाला मन्दिरमा हजारौँ भक्तजन सहभागी परम्परागत विधि, सांस्कृतिक कार्यक्रम र धार्मिक श्रद्धासहित दशैंको उल्लास मनाइँदै ।
सिन्धुली, असोज ६ । यो बर्षको बडा दशैंका लागि सिन्धुली जिल्लाको विभिन्न शक्तिपिठको दशैं घरमा सोमबार बैद्यिक विधिबाट सामूहिक जमरा राखिएको छ ।
सिन्धुली जिल्लामा महत्वपूर्ण शक्तिपिठको रुपमा रहेका कमलामाई नगरपालिका स्थित कालिमाई मन्दिर, रक्तमाला मन्दिर, भद्रकाली मन्दिर, रामेश्वर धाम, माईस्थान मन्दिर लगायतको दशैंघरमा सामूहिक जमरा राखिएको हो । कमलामाई नगरपालिका–५ स्थित कालिमाई मन्दिरमा रहेको दशैं घरमा एक हजार टपरीमा बैद्यिक विधिबाट सामूहिक जमरा राखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अच्युतम ढकालले जानकारी दिनुभयो ।

‘पराम्परागत रुपमा यो मन्दिरको दशैंघरमा बर्सेनि सामूहिक जमरा राख्ने गरिएको छ,’ उहाँले भन्नुभयो, ‘यो बर्ष सामूहिक जमरा राख्न करिब ४० हजार रुपिया खर्च भएको छ । प्रत्येक बर्ष यसरी नै सामूहिक जमरा खाख्ने परम्परा छ ।’ उक्त जमरा टिकाको दिन स्थानीयले प्रति टपरी एक सय रुपिया तिरेर प्रसादीका रुपमा लगेर लगाउने चलन रहेको र उक्त आम्दानी मन्दिरको नाममा रहेको बैङ्क खातामा जम्मा गरेर राखिने उहाँले बताउनुभयो ।
उक्त मन्दिरमा फुलपातीका दिन नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीले बढाई गरी बोका काटेर बलि दिने गरिएको छ । त्यस्तै कमलामाई नगरपालिका–४ स्थित रक्तमाला मन्दिरको दशैंघरमा पनि करिब चार सय घर परिवारले सामूहिक जमरा राखेको उक्त वडाका अध्यक्ष महेन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । पञ्चेबाजासहित वैद्यिक विधिबाट ती घर परिवारले सामूहि जमरा राखेको र दैनिक रुपमा ब्राह्णले पुजापाठ गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘रक्तमाला मन्दिरको दशैं घरमा २९ बर्ष पहिलेदेखि सामूहिक जमरा राख्ने परम्परालाई निरन्तरता दिदै यो बर्ष पनि वैद्यिक विधिले जमरा राख्ने काम सकिएको छ । यो बर्ष रक्तमाला मन्दिरमा फुलपातिका दिन बिशेष बढाइ र सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिएको छ ।’