सिन्धुलीका ग्रामीण सडकमा दशैं–तिहारको यात्रु चापसँगै क्षमताभन्दा बढी यात्रु बोकेर चल्ने सवारी साधनले दुर्घटनाको जोखिम बढाएको छ । ट्राफिक प्रहरीले कडाइ गरे पनि जोखिम उच्च छ ।
असाेज ८, सिन्धुली । यो वर्षको चाडपर्व सुरु भएसँगै सिन्धुली जिल्लाका विभिन्न ग्रामीण सडकमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । दशैं–तिहार मनाउन शहरबाट गाउँ फर्किनेको भीड बढेसँगै क्षमता भन्दा बढी यात्रु बोकेर सवारी साधन सञ्चालन हुने क्रमले दुर्घटनाको सम्भावना चुलिएको हो ।
बीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्गसँग जोडिएका भित्री ग्रामीण सडक वर्षाको कारण जीर्ण बनेका छन् । त्यस्ता सडकमा क्षमता भन्दा बढी यात्रु बोकेर चल्ने बोलेरो जीप र बसले यात्रुलाई जोखिममा पारेका छन् ।
सिन्धुलीमाढी–चकमके, पिपलभञ्ज्याङ–घ्याङ्लेक, सोलाभञ्ज्याङ–नागी बन्दिपुर, खनियाखर्क–तीनकन्या र डकाहा–चकमके सडक खण्डमा समस्या झन गम्भीर बनेको छ । नियमित बस सेवा अभावमा बोलेरो जीप नै यात्रुका लागि मुख्य साधन बनेको गोलन्जोर–४ तीनकन्याका लालबहादुर ठकुरी बताउनुहुन्छ । उहाँ भन्छन्, “बोलेरोमा उपभोग्य सामग्रीसँगै यात्रु पनि कोचाकोच राखिन्छ, जसले दुर्घटनाको जोखिम बढाएको छ ।”
स्थानीयका अनुसार बोलेरोमा सामान र यात्रुको चापले सिट मात्र होइन, खुट्टा राख्ने ठाउँ पाउन पनि मुस्किल पर्छ । जेष्ठ नागरिक र बालबालिका बढी सास्ती खेप्न बाध्य छन् । यात्रुको चापसँगै भाडा पनि मनपरी असुल्ने गरेको सुनकोसी–७ मझुवाका उत्तम तामाङ गुनासो गर्छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०८१/८२ को साउन महिनामा मात्रै १० वटा दुर्घटनामा एक जनाको मृत्यु, चार जना गम्भीर घाइते र नौ जना सामान्य घाइते भएका छन् । भदौमा १५ वटा दुर्घटनामा तीन जनाको मृत्यु, चार जना गम्भीर घाइते र २९ जना सामान्य घाइते भएका छन् ।
कार्यालय प्रमुख मो. कलीम अन्जुमका अनुसार चेकजाँच कडाइ गर्न सुरु गरिएको छ । उहाँ भन्छन्, “जेनजी आन्दोलनपछि केही समय चेकजाँच रोकिएको थियो । अहिले पुनः कडाइ बढाएका छौं । तर यात्रु आफैं पनि सचेत हुन आवश्यक छ ।”
कार्यालयका तथ्यांकअनुसार साउनमा ८८१ र भदौमा ६४४ वटा नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरिएको छ । सो अवधिमा मात्र करिब १५ लाख राजस्व संकलन भएको छ ।
सदरमुकाम सिन्धुलीमाढीमा भेटिएका एक बोलेरो चालक भन्छन्, “गाडी देखेपछि सबै चढ्न खोज्छन् । कसलाई चढ भन्नु, कसलाई नचढ भन्नु ? क्षमता भन्दा बढी बोक्नु हाम्रो बाध्यता बनेको छ ।”