सिन्धुलीको सुनकोशी गाउँपालिका–६ भालुखोला नजिक बीपी राजमार्गमा बोलेरो गाडी करिब ५० मिटर तल सुनकोशी नदीमा खस्दा चालकसहित १३ जना घाइते भएका छन्। घाइतेलाई खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको छ।
सिन्धुली, असोज १३ । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ भालुखोला नजिक बीपी राजमार्ग खण्डमा सोमबार बिहान करिब ११ः४५ बजे डबल क्याप बोलेरो गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट धापचौकीतर्फ जाँदै गरेको बा २० च ९३१ नम्बरको बोलेरो गाडी सडकबाट अनियन्त्रित भई करिब ५० मिटर तल सुनकोशी नदी किनारमा खसेको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित १९ जना सवार रहेकामा ६ जना सकुशल र बाँकी १३ जना घाइते भएका हुन् ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय खुर्को र सशस्त्र प्रहरी विपद् बेस खुर्कोटबाट खटिएको संयुक्त टोलीले उद्धारकार्य गरी घाइतेहरूलाई खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । गाडी भने घटनास्थलमै रहेको र बाहिर निकाल्ने पहल भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा बोलेरोको अगाडीलगायत विभिन्न भागमा क्षति पुगेको छ ।
घाइते हुनेमा सिन्धुली गोलन्जोर गाउँपालिका–४ की २० वर्षीया मालती खुलाल छन्, जसको छाती र ढाडमा चोट लागेको छ। सोही ठाउँका १७ वर्षीय भोजबहादुर थापा मगरको निधार, आँखा र टाउकोमा चोट लाग्दा उनको अवस्था मध्यम रहेको छ । २३ वर्षीय प्रेम मगरको टाउकोमा गम्भीर चोट लागेको छ भने २२ वर्षीया जम्पा खुलाल मगरको निधारमा सामान्य चोट पुगेको छ । ११ वर्षीय सुसन मगरको निधारमा मध्यम चोट लागेको छ भने केदार थापा मगर, २० वर्षीया रोजिना थापा मगर र ३५ वर्षीय तारा बहादुर खुलालको छाती र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै, २२ वर्षीय ज्ञानेन्द्र मगरको टाउको र छातीमा चोट लागे पनि अवस्था सामान्य छ भने आठ वर्षीय नितेश मगर र २२ वर्षीया रोश्मी मगर सकुशल रहेका छन् । २५ वर्षीय ओम आले मगरको छाती र ढाडमा सामान्य चोट लागेको छ । चालक २६ वर्षीय ओम बहादुर रानाको दुबै खुट्टाको घुँडामा सामान्य चोट लागेको र उनी हाल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।