सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ च्याउटारबेसीमा गएको पहिरोले १५ घरपरिवार उच्च जोखिममा परेका छन्। असोज १७ र १८ गतेको अबिरल वर्षापछि गएको पहिरोले केही घर, गोठ र शौचालय भत्काएको छ। गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिको सहकार्यमा नेपाली सेना र सुरक्षाकर्मीमार्फत ढुंगा र पहिरो व्यवस्थापनको पहल गरेको छ।
कात्तिक ८, सिन्धुली । सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिका–१ च्याउटारबेसीमा पहिरोका कारण १५ घरपरिवार उच्च जोखिममा परेका छन् ।
गत असोज १७ र १८ गतेको अबिरल बर्षाका कारण उक्त बस्ति माथिबाट गएको पहिरोका कारण ती घर परिवार जोखिममा परेको हो । १८ गते बिहान गएको उक्त पहिरोबाट निरबहादुर पाण्डेको गोठ र सौचालय भत्किएर क्षति पुगेको गाँउपालिकाले जनाएको छ ।
त्यस्तै उक्त बस्तीका कुन्जरमणि बराल, ज्वालाप्रसाद न्यौपाने, ठाकुरप्रसाद न्यौपाने, सुरेस न्यौपाने, सुरेन्द्र न्यौपाने, शान्तिप्रसाद न्यौपाने लगायतको घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । जोखिममा परेका परेका परिवार बस्नका लागि अन्यत्र ठाँउ (घर) नभएकोले राती सुत्न सुरक्षितस्थान खोज्दै जाने गरेको र दिउसो आफ्नै घरमा आई बस्ने गरेको उक्त पहिरो पीडित तथा गाँउपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘बस्ति माथिको पहिरो तथा ठूलो ढुङ्गाले पुरै बस्निै नै जोखिममा परेको छ । ढुङ्गा फुटाएर हटाउन तथा पहिरो नियन्त्रणका लागि गाँउपालिकाले गर्न सक्ने पहल गरि रहेको छ । त्यस्का लागि जिल्ला विपद व्यवस्थापन समितिलाई पनि जानकारी गराई सकेका छौं ।’
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले उक्त पहिरो तथा ढुङ्गा व्यवस्थापनका लागि जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट नेपाली सेनालाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँग समेत सो ढुङ्गा÷चट्टान हटाई बस्ती बचाउन सहयोग माग गर्ने निर्णय भएको छ ।
त्यस्तै, गोलन्जोर गाँउपालिका–४ तीनघरे डाँडास्थित पञ्चवती आधारभुत विद्यालयको भवन पहिरोले भत्काई पूर्णक्षती भएको छ । हालैको अबिरल बर्षापछि असोज १९ गते बिहान विद्यालय क्षेत्रभन्दा माथिको जमिन चर्किएर पहिरो जाँदा तीन कोठाको उक्त भवन भत्किएर पूर्णक्षती भएको विद्यालयका प्रधानाध्यापक लोकबहादुर आलेले जानकरी दिनुभयो ।
उहाँका अनुसार उक्त भवनमा कक्षा २ र ३ को पढाई हुदै आएको थियो । बाँकी एउटा कोठामा विद्यालयले क्यान्टीन सञ्चालन गरेको थियो । भवन भत्किएपछि कोठाको अभावमा ती दुई कक्षाको पढाई अरु कक्षाका विद्यार्थीसँग मिसाएर पढाउन सुरु गरिएको छ ।
विद्यालयभन्दा माथि रहेको केदारबहादुर आलेको घरको बलेसी र सौचालयदेखि चर्किएर पहिरो झरेको र उक्त पहिरोले केदारबहादुरको घरको जगसमेत बगेर असुरक्षित बनेको उहाँले बताउनुभयो ।



