Click Chautari

झरिले भिजेको धान स्याहार्दै किसान | सिन्धुलीमा बेमौसमी वर्षाले बालीमा क्षति

झरिले भिजेको धान स्याहार्दै किसान, सिन्धुलीमा बेमौसमी वर्षाले बालीमा ठुलो क्षति
Advertisement

कात्तिक १८, सिन्धुली । सिन्धुली जिल्लाका किसान केहि दिन अघिको निरन्तर झरीबाट भिजेको खेतमा काटेर सुकाएको धान स्याहार्न जुटेका छन् ।

मौसममा सुधार आई अबिरल बर्षा रोकिएर घाम लाग्न थालेपछि किसानहरु खेतबारीमा भिजेको धान सुकाउन स्याहार्न थालेका हुन् । बङ्गालको खाडीबाट विकसित ‘मोन्था’ चक्रवातको कारण भएको वर्षाले खेतबारीमा काटेर सुकाएकै ठाँउमा धान भिजेर पानीमा डुबेको किसानले बताएका छन् ।

Advertisement

कमलामाई नगरपालिका–४ निवासी किसान राजेन्द्र राय पानीले भिजेर धान सुकाएकै ठाँउमा उम्रिन थालेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘भिजेको धान (निहिन) लाई सुकाउन ओल्टाई पल्टाई गरेका छौं । तर, खान हुने खालको के होला र ? पानीले भिजेर चिउरा कुट्ने जस्तै ढाडी सकेको छ ।’

बर्षदिन खाने बाली भएकोले भिजेको धान स्याहारेको उहाँको भनाई छ । अझै केहि समय घाम लाग्ने र बादल लाग्ने भई रहेकाले चिन्ता नै रहेको किसान बताउछन् । तीन÷चार दिन राम्रोसँग घाम लागे भिजेको धान सुक्ने र भित्र्याउन सकिन्थ्यो की भन्ने आसमा किसान बसेका छन् ।
दुधौली नगरपालिका–४ निवासी किसान नबराज बराल बेमौसमी बर्षाले किसानलाई बज्रपात परेको गुनासो गर्नुहुदै पानीले भिजेर क्षती भएको धानको मूल्याङ्कन गरी पीडित किसानलाई सम्बन्धित निकायले राहत उपलब्ध गराउनु पर्ने बताउनुहुन्छ ।

‘जताबाट पनि किसानलाई सकस नै सकस छ,’ उहाँले भन्नुभयो, ‘रोपाइँ गर्ने बेलामा पानी र मलको अभाव । धान भित्र्याउने बेला पानीको डर । किसानलाई केही गरी पनि सुख छैन ।’ तिहार लगत्तै काटेर खेतमा सुकाएको धान खराब मौसमका कारण किसानले अझै भित्र्याउन नपाएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय किसानको अनुसार खेतबारीमा बर्ष दिन खाने धानबाली पाकेर पँहेलपुर बनेपछि किसानलाई चाडपर्व भन्दा पनि धान काट्नै हतार थियो । त्यसैले तिहार सकिए लगत्तै धेरै जसो किसानले आफ्नो खेतबारीमा भएको धान काटेर सुकाएका थिए । जिल्लाकै अन्न भण्डारको रुपमा परिचित कमलाखुँज, मरिण र तीनपाटन क्षेत्रमा पानीले भिजेर काटेको धान बाली बढी क्षती भएको कृषि विकास कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालय प्रमुख अनुप अधिकारीले जिल्ला भरिमा एक हजार हेक्टरमा काटेको धान पानीमा डुबेर क्षती भएको अनुमान गरिएको र स्थानीय तहबाट क्षतीको बिबरण सोचेभन्दा बढी आई रहेको जानकारी दिनुहुन्छ । उहाँले भन्नुभयो, ‘धेरै क्षती भएको दुधौली र कमलामाई नगरपालिकाबाट बिबरण आउन बाँकी छ । फिल्ड घुम्ने क्रममा दुधौली नगरपालिकाको धेरैजसो ठाँउमा डुबेकै ठाँउमा धान उम्रेको पाईयो ।’
अझै काट्न बाँकी धान तीन दिनजति मौसमको अवस्था हेरेर मात्रै काट्न किसानलाई सल्लाह दिदै आएको कार्यालय प्रमुख अधिकारीको भनाई छ । कार्यालयका अनुसार जिल्लामा यो बर्ष १२ हजार ८६२ हेक्टर जमिनमा बर्षे धान खेती भएको र हालसम्म किसानले ५० प्रतिशत भन्दा बढी जमिनमा धान काटी सकेका छन् । जिल्लामा गत बर्ष १३ हजार ४४५ हेक्टरमा बर्षे धान खेती भएको र उत्पादन ५० हजार ११४ मेट्रिक्टन उत्पादन भएको थियो ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.