सिन्धुलीमाढीमा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महिला अपाङ्ग संघ सिन्धुलीको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न । नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा भोलि प्रभातफेरी, नाटक, अन्तरक्रिया तथा सम्मान कार्यक्रमलगायत विविध गतिविधि हुने ।
मंसिर १६, सिन्धुलीमाढी। ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आज सिन्धुलीमाढीमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक सुरुवात गरिएको छ । कमलामाई नगरपालिका कार्यालय अगाडि आयोजित दीप प्रज्वलन कार्यक्रम महिला अपाङ्ग संघ सिन्धुलीकी अध्यक्ष दिल कुमारी देवकोटा (दिपा)को अध्यक्षता र नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले “अपाङ्ग मान्छे नभई मान्छेको सोच हो” भन्दै अपाङ्गता भएका व्यक्तिहरुप्रति समाजको दृष्टिकोण परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई अघि बढ्न हौसला दिन सबैलाई आग्रह गर्दै, आफूले सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, महिला अपाङ्ग संघ सिन्धुलीकी अध्यक्ष दिल कुमारी देवकोटा (दिपा)ले अपाङ्गता भएका व्यक्तिहरूले समाजका हरेक क्षेत्रमा योगदान दिन सक्ने उल्लेख गर्दै, उनीहरूका अधिकार सुनिश्चित गर्न यस दिवसको महत्व रहेको बताउनुभयो ।
उहाँका अनुसार भोलि बिहान ७:३० बजे लोकतान्त्रिक चोक–खुला मञ्चमा प्रभातफेरी, जनचेतनामूलक नाटक, समाजमा विशेष योगदान पुर्याउने अपाङ्गता भएका व्यक्तिहरूको सम्मान तथा वृहत अन्तरक्रिया र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रम सिन्धुली अपाङ्ग महिला संघ, अपाङ्ग कल्याण संघ, सिन्धुली बहिरा संघ, बौद्धिक अपाङ्गता अभिभावक संघ र सिन्धुली अपाङ्ग संघको संयुक्त आयोजनामा तथा प्लान इन्टरनेशनल नेपाल, ह्याण्डस नेपाल र जनजाति समाज विकास कार्यक्रम सिन्धुलीको सहकार्यमा सम्पन्न भएको हो ।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदी, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकारलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।



