नेकपा एमाले सिन्धुलीले ११औं केन्द्रिय महाधिवेशनका लागि दुवै निर्वाचन क्षेत्रबाट खुल्ला, महिला, युवा र दलित सहित १८ प्रतिनिधि सर्वसम्मत चयन गरेको छ।
मङ्सिर १६, सिन्धुली । नेकपा एमाले सिन्धुलीले पार्टीको आसन्न ११ औं केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन सर्बसम्मत टुङ्ग्याएको छ ।
दुई वटा सङ्घिय निर्बाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा खुल्लातर्फ नौ, महिलातर्फ छ, युवातर्फ दुई र दलिततर्फ एक गरी कुल १८ जना महाधिवेशन प्रतिनिधि चयन सोमबार बेलुका सर्बसम्मत टुङ्ग्याएको उक्त पार्टीले जनाएको छ ।
नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेब श्रेष्ठका अनुसार प्रधिनिधि चयनका लागि मङ्सिर ९ गतेदेखि नै निर्वाचन प्रकृया सुरु भएपनि त्यो सँगै सर्बसम्मतको प्रयास पनि जारी थियो । अन्तिम अवस्थामा आएर पार्टीका अगुवा नेता, केन्द्रिय सदस्य र उमेद्वारहरु सबैको प्रयासमा दुई वटै निर्बाचन क्षेत्रबाट सर्बसम्मत महाधिवेशन प्रतिनिधि चयन सफल भएको उहाँले बताउनुभयो ।
उक्त प्रतिनिधि चयनका लागि सबै क्लष्टरमा गरी निर्बाचन क्षेत्र नं. १ बाट ४६ जना र निर्बाचन क्षेत्र नं. २ बाट ३९ जना र दलित क्लष्टरमा सात गरी ९२ जनाको उमेद्वारी परेको थियो । सर्बसम्मत चयन भएका प्रतिनिधिहरुमा निर्वाचन क्षेत्र नं. १ मा खुल्लातर्फ पाँच, महिलातर्फ तीन र युवातर्फ एक गरी नौ जना रहेका छन् ।
त्यस्तै निर्बाचन क्षेत्र नं. २ बाट खुल्लातर्फ चार, महिलातर्फ तीन, युवातर्फ एक र दलिततर्फ एक गरी नौ जना प्रतिनिधि चयन भएको पार्टीका जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । क्षेत्र नं. १ बाट खुल्लातर्फ प्रदिप कटुवाल, पूर्ण थापा, बद्री देवकोटा, सुमन चौधरी, तारानिधि पोखरेल, महिला तर्फ पार्वती सुनुवार, मन्जु देबकोटा, पदममाया तामाङ र युवातर्फ लालबहादुर बुढाथोकी सर्वसम्मत चयन भएका छन् ।
क्षेत्र नं. २ बाट खुल्लातर्फ महेन्द्रदेव श्रेष्ठ, कर्ण घिसिङ, रोमनराज गिरी (अशोक), गोविन्दलाल माझी, महिलातर्फ रश्मिला देवकोटा, प्रमिला वाइबा, अप्सरा खड्का र युवातर्फ दिपक कुमार माझी निर्वाचित भएका छन् । यस्तै दलित कलष्टरबाट सरोज बि.क चयन भएको एमालेले जनाएको छ ।



