सिन्धुली, २४ वैशाख । नेपालमा महिन्द्राका पिक-अप तथा कमर्सियल युटिलिटी गाडीहरूको आधिकारिक वितरक अग्नि ग्रुप
अन्तर्गतको अग्नि इन्कर्पोरेटेड प्रा.लि. ले सिन्धुलीमा नयाँ ‘महिन्द्रा बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो नेपालकै पहिलो तथा एकमात्र २-टन भार क्षमता भएको पिक-अप हो ।नयाँ पिक-अपको सार्वजनिक समारोह बिहीबार ढुङ्ग्रेबास स्थित महिन्द्राको सोरुममा आयोजना गरिएको थियो। कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष देव नारायण श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी प्रमुख महमद कलिम अमजुङ, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा लगायत स्थानीय व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कम्पनीले ‘Bolero MaXX Pik-Up HD 1.7 LX’ र ‘HD 2.0L SXi’ गरी दुई भेरियन्ट बजारमा ल्याएको जनाएको छ। HD 1.7 LX भेरियन्टको प्रारम्भिक मूल्य २९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ भने HD 2.0L SXi भेरियन्टको मूल्य ३२ लाख ९५ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ बोलेरो म्याक्स पिक-अप विशेषगरी नेपाली सडकको भौगोलिक अवस्था र व्यवसायिक ढुवानी आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यसले उच्च भार क्षमता, इन्धन दक्षता, मजबुत संरचना र सहज ड्राइभिङ अनुभव प्रदान गर्ने दाबी गरिएको छ ।

‘HD 2.0L’ भेरियन्टमा १० फिट लामो कार्गो बेड तथा २-टनसम्म भार वहन क्षमता रहेको छ। कम्पनीले यसलाई निर्माण, कृषि, मत्स्यपालन तथा हेभी-ड्युटी ढुवानी कार्यका लागि उपयुक्त रहेको जनाएको छ । यसमा बलियो च्यासिस, उच्च क्षमताका टायर र मजबुत बडी संरचना समावेश गरिएको छ ।
त्यस्तै ‘HD 1.7’ भेरियन्ट भने फलफूल, तरकारी तथा इन्टरसिटी ढुवानीलाई लक्षित गरी ल्याइएको कम्पनीको भनाइ छ । यसमा १.७ टन भार क्षमता तथा ९ फिट लामो कार्गो बेड रहेको छ ।

कम्पनीका प्रतिनिधिहरूले बोलेरो म्याक्सले मजबुती, विश्वसनीयता, कम मर्मत खर्च र उच्च रिसेल भ्यालुका कारण भारतीय बजारमा लोकप्रियता हासिल गरिसकेको उल्लेख गर्दै नेपाली बजारमा पनि यसले साना कमर्सियल गाडीको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।
महिन्द्राले यस पिक-अपमा अत्याधुनिक m2Di इन्जिन प्रयोग गरेको जनाएको छ । डिजेल तथा सिएनजी दुवै विकल्पमा उपलब्ध हुने यो गाडी नेपालको उकालो–ओरालो तथा दुर्गम सडकका लागि उपयोगी हुने कम्पनीको दाबी छ ।
सन् १९४५ मा स्थापना भएको महिन्द्रा ग्रुप विश्वका १०० भन्दा बढी देशमा फैलिएको बहुराष्ट्रिय कम्पनी समूह हो । कृषि उपकरण, युटिलिटी गाडी, सूचना प्रविधि तथा वित्तीय सेवामा अग्रणी मानिने महिन्द्रा विश्वकै सबैभन्दा ठूलो ट्र्याक्टर निर्माता कम्पनीमध्ये एक हो ।



