राजन कार्की / सिन्धुली
कमलामाई नगरपालिकाका वडा नं. ७, ११ र १२ का १५ वटा महिला समूहलाई समेटेर सञ्चालन गरिएको “महिलाको नेतृत्वमा खाद्य सुरक्षा, पोषण र आम्दानीमा वृद्धि परियोजना” ले स्थानीय महिलाको जीवनमा उल्लेखनीय परिवर्तन ल्याएको छ । परियोजनाबाट ३२७ घरपरिवारका ३७० जना सदस्य प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

गान्सवेल इन्टरनेशनल तथा वी.भी.पी परिवार काे अार्थिक सहयाेगमा सिड्स नेपाल, सिन्धुलीबाट संचालित महिलाको नेतृत्वमा खाद्य सुरक्षा, पोषण र आम्दानीमा वृद्धि परियोजना सञ्चालन हुनु अघि धेरै महिला परिवारको आर्थिक निर्णयमा सहभागी हुन सक्दैनथे । सानो कृषि उत्पादन, पोषणसम्बन्धी ज्ञानको अभाव तथा आय–आर्जनका सीमित अवसरका कारण उनीहरूको जीवन कठिन थियो । तर, परियोजनाले महिलालाई केन्द्रमा राखेर कृषि, पशुपालन, पोषण, उद्यमशीलता तथा सीप विकासका विभिन्न कार्यक्रम सञ्चालन गरेपछि परिस्थिति क्रमशः बदलिन थाल्यो ।

परियोजना अन्तर्गत महिलाहरूलाई व्यावसायिक तरकारी खेती, पशुपालन, पोषण शिक्षा तथा विभिन्न सीपमूलक तालिमहरू प्रदान गरियो । यसले उनीहरूलाई आफ्नै गाउँमै आयआर्जन गर्ने अवसर सिर्जना गरिदियो । घरपरिवारले ताजा तरकारी उत्पादन गरी आफु उपभोगसँगै बजारमा बिक्री गर्न समेत थालेका छन्र । पशुपालनबाट नियमित आम्दानी बढ्न थाल्यो भने परिवारको खानपानमा पनि सुधार आयो ।

आज धेरै महिला आफ्नै समूहको नेतृत्व गर्दै योजना बनाउने, निर्णय गर्ने र समुदायमा उदाहरणीय भूमिका निर्वाह गरिरहेका छन् । उनीहरूले आफ्ना बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पोषणमा समेत बढी ध्यान दिन थालेका छन् । घरको आर्थिक अवस्था सुधारिँदै जाँदा परिवारमा आत्मविश्वास र सामाजिक सम्मान पनि बढेको छ ।

यस परियोजनाले केवल आम्दानी मात्र बढाएको छैन, महिलाको नेतृत्व क्षमता विकास, खाद्य सुरक्षा सुदृढीकरण, पोषण सुधार, उत्पादन वृद्धि तथा स्वरोजगार सिर्जना गर्ने आफ्नो मूल उद्देश्यलाई व्यवहारमै सफल बनाएको छ ।

आज कमलामाईका यी महिलाहरू अरूका लागि प्रेरणाका पात्र बनेका छन् । उनीहरूको सफलताले देखाएको छ कि अवसर, सीप र सही मार्गदर्शन पाए महिलाहरूले परिवार मात्र होइन, समग्र समुदायको विकासको नेतृत्व गर्न सक्छन् ।

“महिलाको सशक्त नेतृत्व, आधुनिक कृषि अभ्यास, पोषणमा सुधार र आयआर्जनको अवसरले समुदायलाई आत्मनिर्भर बनाउने दिशामा यो परियोजना एउटा सफल नमुना बनेको छ ।”



