Skip to main content

Click Chautari

लालिगुराँस सामुदायिक वन : संरक्षण, पर्यटन र आयआर्जनको उत्कृष्ट नमुना

जेठ २०, सिन्धुली ।

Advertisement
गोलञ्जोर गाउँपालिका–५ (साविक रतनचुरा गाविस–९) हिर्दिङस्थित लालिगुराँस सामुदायिक वन उपभोक्ता समिति संरक्षण, हरियाली विस्तार, जैविक विविधता संरक्षण, आयआर्जन तथा पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाउँदै जिल्लाकै उदाहरणीय सामुदायिक वनका रूपमा विकास भइरहेको छ ।

समितिका अध्यक्ष डम्बर विक्रम बस्नेतका अनुसार २७२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनलाई व्यवस्थापनका लागि ५ वटा ब्लकमा विभाजन गरिएको छ ।

उनका अनुसार ब्लक नम्बर १ मा वृक्षारोपणसँगै सिमसार क्षेत्र संरक्षणका लागि सुख्खा पोखरी निर्माण गरिएको छ । यसले वन्यजन्तु तथा चराचुरुङ्गीका लागि पानीको स्रोत उपलब्ध गराउनुका साथै जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । साथै, ब्लक नम्बर १ र २ मा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ भने ब्लक नम्बर ३ र ४ मा पहिलेदेखि रहेको प्राकृतिक हरियाली वनको संरक्षण, संवर्द्धन र वैज्ञानिक व्यवस्थापन गर्दै लगिएको छ । यसले वनको दीर्घकालीन दिगोपन सुनिश्चित गर्न सहयोग पुगेको अध्यक्ष बस्नेतले बताए ।

Advertisement

यस्तै ब्लक नम्बर ५ लाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले गोलञ्जोर गाउँपालिकाले भ्यू टावर निर्माण गरेको छ । भ्यू टावरबाट आसपासका प्राकृतिक दृश्यावलोकन गर्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ । स्थानीय तह र समुदायको सहकार्यमा यस क्षेत्रलाई थप व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने तयारी भइरहेको समितिले जनाएको छ ।

वनलाई संरक्षणमा मात्र सीमित नराखी स्थानीय आयआर्जनसँग जोड्ने उद्देश्यले लोठसल्लो लगायतका बहुमूल्य प्रजातिको वृक्षारोपण गर्ने लगाए बन्यजन्तुको अबैध सिकार रोक्न तथा डढेलो नियन्त्रणका लागि सामुदायिक बनले बेला बेला आफ्नै खर्चमा निगरानी गर्नको लागि ड्रोन क्यामेरा समेत प्रयोग गर्ने गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । भविष्यमा यस्ता बहुमूल्य वनस्पतिबाट समुदायले आर्थिक लाभ लिन सक्ने विश्वास समितिले लिएको छ ।

यसैगरी, सव डिभिजन वन कार्यालय खुरकोटको सिफारिसमा डिभिजन वन कार्यालय सिन्धुलीको आर्थिक तथा प्राविधिक सहयोगमा खेर गएका पातपतिंगर संकलन गरी प्राङ्गारिक मल उत्पादनको सुरुवात गरिएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य वन डढेलो नियन्त्रण गर्नुका साथै उपभोक्ताको आयआर्जन वृद्धि गर्नु रहेको समितिले जनाएको छ ।

वनको गुणस्तर सुधार र डढेलोको जोखिम न्यूनीकरणका लागि हरेक वर्ष अनावश्यक झाडी सफाइ तथा वन सुधार कार्यक्रम सञ्चालन गरिँदै आएको छ । साथै, लालिगुराँस सामुदायिक वनको सिमा क्षेत्रमा पश्चिममा ठूलाे खोला देखि दक्षिण सिमाना जातेढुंगा सम्म करिब ७ किलोमिटर अग्नि रेखा निर्माण गरिएको छ, जसले वन डढेलो नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ । यसबाट वनभित्र रहेका उपयोगी बिरुवाको वृद्धि हुने, वन्यजन्तुको बासस्थान सुरक्षित रहने र वन व्यवस्थापन थप प्रभावकारी बन्ने विश्वास गरिएको छ ।

Advertisement

अध्यक्ष बस्नेतका अनुसार सामुदायिक वनले वातावरण संरक्षण, पानीका मुहानको संरक्षण, वन्यजन्तुको बासस्थान सुरक्षित राख्ने, स्थानीयलाई दाउरा, घाँस तथा अन्य वन पैदावार उपलब्ध गराउने मात्र होइन, पर्यटन र आर्थिक गतिविधिलाई समेत टेवा पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको छ ।

स्थानीयवासीको सक्रिय सहभागिता र सामुदायिक वन उपभोक्ता समितिको योजनाबद्ध व्यवस्थापनका कारण लालिगुराँस सामुदायिक वन अहिले संरक्षण, पर्यटन र आयआर्जनलाई एकसाथ अघि बढाउने सफल सामुदायिक वनका रूपमा परिचित बन्दै गएको छ । आगामी दिनमा थप पूर्वाधार विकास, जैविक विविधता संरक्षण र पर्यावरणमैत्री पर्यटन प्रवर्द्धनमार्फत यस वनलाई गोलञ्जोर गाउँपालिकाको प्रमुख प्राकृतिक सम्पदाका रूपमा स्थापित गर्ने लक्ष्य समितिले लिएको जनाएको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.