Skip to main content

Click Chautari

सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमबारे कांग्रेसले आज विस्तृत छलफल गर्दै

काठमाण्डाैं, असार २१ ।

Advertisement
नेपाली कांग्रेसले वर्तमान सरकारको १०० दिनको कार्यसम्पादन तथा सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यक्रमको प्रभावकारिता, कार्यान्वयनको अवस्था र आगामी नीति–दिशाबारे आज विस्तृत छलफल गर्ने भएको छ ।

पार्टीको संसदीय मामिला सहजीकरण संयन्त्र को आयोजनामा हुने उक्त छलफल कार्यक्रम आज बिहान ११ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

कार्यक्रममा सरकारका पछिल्ला गतिविधि, सुशासन, आर्थिक अवस्था, सामाजिक क्षेत्र, पूर्वाधार विकास तथा नेपालको वैदेशिक सम्बन्ध लगायत विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूले आफ्नो धारणा प्रस्तुत गर्नेछन् । छलफलबाट प्राप्त सुझावलाई पार्टीको आगामी संसदीय भूमिका, नीतिगत धारणा र सरकारप्रतिको मूल्याङ्कनमा उपयोग गरिने कांग्रेस स्रोतले जनाएको छ ।

Advertisement

छलफलमा सुशासन तथा राजनीतिक विश्लेषक रमेश अधिकारी, सामाजिक विकास विज्ञ आरती लम्साल, अर्थविद् डा. सुदनकुमार वली, पूर्वाधार विज्ञ अमृत ज्ञवाली तथा वैदेशिक सम्बन्धका विज्ञ सौरभराज पन्त सहभागी हुनेछन् । उनीहरूले आ–आफ्नो क्षेत्रबाट सरकारको १०० दिनको उपलब्धि, चुनौती, कार्यान्वयन पक्ष र सुधारका आवश्यक उपायबारे विश्लेषणात्मक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

कांग्रेसले सरकार गठनपछि सार्वजनिक गरिएका प्रतिबद्धताहरू कार्यान्वयनको वास्तविक अवस्था, जनताले अनुभूत गरेका सेवा प्रवाह, आर्थिक सूचकहरूको अवस्था, सुशासनका प्रयास तथा विकास निर्माणका गतिविधिको समग्र समीक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

संसदीय मामिला सहजीकरण संयन्त्रका अनुसार छलफलमा पार्टीका शीर्ष नेताहरू, संघीय सांसद, विषयगत विज्ञ तथा पार्टीका विभिन्न तहका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ । कार्यक्रममा उठेका सुझाव र निष्कर्षलाई संसदीय बहस, नीति निर्माण तथा सरकारको कामकारबाहीबारे पार्टीको आधिकारिक धारणा निर्माणमा आधारका रूपमा प्रयोग गरिने जनाइएको छ ।

पछिल्लो समय सरकारले आफ्नो १०० दिन पूरा गरेको सन्दर्भमा विभिन्न राजनीतिक दल, नागरिक समाज र सरोकारवाला निकायहरूले सरकारको कार्यसम्पादनबारे समीक्षा गरिरहेका बेला नेपाली कांग्रेसले पनि विज्ञहरूको सहभागितामा तथ्यमा आधारित छलफल गर्न लागेको हो ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.