बाबुराम देवकोटा
जेठ ४, तिनकन्या, सिन्धुली । गोलन्जोर गाँउपालिका–४ तीनकन्या लामिडाँडा निवासी जुनार किसान बिष्णुलाल श्रेष्ठले आफ्नो बगैचामा भएको जुनारको फल जोगाउन बिषादी छर्किन सुरु गर्नु भएको छ ।
बगैचामा बिषादी छर्किदै गर्दा भेटिनु भएका किसान श्रेष्ठले जुनारको बगैचामा प्रकोपका रुपमा देखि पर्ने औषा किरा नियन्त्रण गर्न प्राविधिकको सल्लाहमा ‘प्रोटिन बेट’ बिषादी छर्किन सुरु गरेको सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘हरेक हप्ताको शनिबार १० देखि १२ हप्तासम्म यो बिषादी छर्किनु पर्दछ । आफ्नो ५० प्रतिशत लगानी र जुनार सुपर जोनको ५० प्रतिशत अनुदानमा उक्त बिषादी खरिद गरी छर्केर औशा किरा नियन्त्रण सुरु गरेको हुँ ।’
यो बर्ष जुनारका फल चिचिलाबाट बढेर गुच्चा जत्रो भएको र यतीखेर सबै किसान उक्त बिषादी छर्किने अभियानमा जुटेका उहाँले जानकारी दिनुभयो । त्यसो त उहाँले प्रोटिनबेट छर्किने जुनारको बोटमा रोतो रिबनले बाँधनु भएको छ । बिषादी छर्कने ठाँउ नबिर्सनका लागि त्यो रुखमा रातो रिबन बाँधिएको उहाँले बताउनुभयो ।
किसानहरुका अनुसार अहिले बगैचामा प्रत्येक फलेको तीन बोट मध्ये एउटा बोटमा रातो रिबनले बाँधिएको छ । बिषादी छर्कने स्प्रेकर्तालाई बिषादी छर्किन सजिलो होस र छर्किएको ठाँउ नबिर्सियोस भनेर रातो रिबन बाँधिएको हो । प्रत्येक हप्ताको शनिबार एक पटक रिबन बाँधिएको ठाँउमा लगातार १० देखि १२ हप्तासम्म उक्त बिषादी छर्किनु पर्दछ ।
गोलन्जोर गाँउपालिका–४ माझकुभिण्डेका अर्का जुनार किसान जितबहादुर ठकुरी जुनार बगैचामा औसा किरा बर्ष ०७१/०७२ देखिनै देखा परेको र प्रकोपको रुपमा आर्थिक बर्ष ०७५/०७६ मा देखा परि किसानले बढी नोक्सान सहनु परेके गुनासो गर्नु हुन्छ । ‘जुनारको फल भर्खर गुच्चा जत्रो भएकोले यहि बेला उक्त बिषादी छर्किने बेला भएको हो,’ उहाँले भन्नुभयो, ‘प्रोटिन बेट स्प्रे गर्दा किसानले प्रतिबोट ३० देखि ७० रुपिया तिर्नु पर्दछ भने सुपर जोनको त्यत्ति नै रकम बराबर लगानी हुन्छ ।’
त्यसो त किसान ठकुरीले आफ्नो नौ रोपनी जमिनमा जुनार खेती गरी बर्सेनि चार लाख रुपियाभन्दा बढी आम्दानी लिदै आउनु भएको छ । जुनारको फल कुहाउने औसा पार्ने किराको पोथी झिगालाइ फुल पार्नका लागि प्रोटिनको आवश्यकता पर्ने र यो सिजनमा किराले प्रोटिनकै खोजि गर्ने भएकाले प्रोटिन बेट जुनारमा स्प्रे गर्दा बोट मै किरा आएर मर्ने भएकाले विषादी प्रभावकारी भएको प्रधानमन्त्री आधुनिकरण जुनार सुपर जोनले जनाएको छ ।
सुपर जोन प्रमुख यमकुमार श्रेष्ठले सुरप जोनको कार्य क्षेत्र रहेको जुनारको सबै बगैचामा गत शनिबारदेखि अभियानका रुपमा एक साथ औसा किरा नियन्त्रणका लागि उक्त बिषादी छर्किन (स्प्रे गर्न) सुरु गरेको जानकरी दिनुभयो । उहाँका अनुसार जुनार बगैचामा प्रोटिन बेट स्प्रे गर्नका लागि ४२ जना स्प्रेकर्तालाई तालिम दिएर दक्ष बनाई आवश्यक बिषादी र स्प्रे मेसिन सहित बगैचामा खटाइएको छ । किरा व्यवस्थापनका लागि स्प्रे कर्तालाई बैशाखको अन्तिम हप्तादेखि साउनको पहिलो हप्तासम्म जुनार बगैचामा परिचालन गरिने छ ।
औसा किरा नियन्त्रण गर्न प्रोटिन बेट बिषादी प्रभावकारी देखिएको छ । औसा किरा प्रकोपका कारण सुरुका बर्षमा जुनारको फल ५० प्रतिशत भन्दा बढी नोक्सानी किसानले सहनु परेको थियो । करिब एक दशकदेखि प्रोटिन बेट छर्किन सुरु गरेपछि अहिले उक्त नोक्सानी घटेर अहिले शुन्य दशमलब ८९ प्रतिशतमा झरेको सुपर जोन प्रमुख श्रेष्ठले स्पष्ट पार्नुभयो ।
जुनार सुपरजोनको कार्यक्षेत्र मझुवा, जलकन्या, रतनचुरा, बाशेश्वर, नाकाझोली, तीनकन्यामा गरी एक हजार ८७ हेक्टर रहेको छ । सिन्धुली जिल्लामा दुई हजार किसान जुनार सुपरजोन कार्यालयमा सुचिकृत छन् भने किरिब ३५ सय किसानले जुनार खेती गर्दै आएका छन् । जिल्लामा गएको सिजनमा एक हजार ५० मेट्रिक्टन जुनार उत्पादन भएको प्रधानमन्त्री जुनार सुपरजोन परियोजनाले जनाएको छ ।