बाबुराम देवकोटा
जेठ ७, सिन्धुली । कमलामाई नगरपालिका–५ गैयाटार निवासी किसान अनिरा अधिकारीले उन्नत जातको होलिस्टेन गाई पाल्न थाल्नु भएको दुई बर्षभन्दा बढी भयो । उहाँको गोठमा अहिले दक्षिण कोरियाबाट ल्याएको दुई वटा होलिस्टेन गाई छन् ।
परम्परागत गोठ सुधार गरि उन्नत जातको उक्त गाई पाल्न थालेपछि दुध उत्पादन मात्र बढेको छैन, आम्दानी पनि बढेको उहाँले सुनाउनुभयो । कमलामाई नगरपालिका र हेफर ईन्टरनेश्नल बीच मिल्की परियोजना सञ्चालन गर्न भएको सम्झौता अन्तर्गत किसान अधिकारीले २०७९ साल पुसमा दुई वटा होलिस्टेन गाईको कोरली बाच्छी उपहार स्वरुप प्राप्त गर्नु भएको थियो ।

‘अहिले ती दुबै बाच्छी हुर्केर पहिलो बेत ब्याई सकेका छन्,’ उहाँले भन्नुभयो, ‘भदौमा व्याएको गाईले बाच्छो र असोजमा ब्याएको गाईले बाच्छी जन्मायो । दुबै गाईले लैनामा करिब चार महिनासम्म दैनिक ३४÷३५ लिटर दुध सम्म दियो । अहिले पनि दैनिक एउटा २० लिटर र अर्कोले १८ लिटर दुध दिई रहेको छ ।’ उत्पादन भएको दुध गाँउमै गठन भएको सहकारी (सुजल डेरी उद्योग)ले खरिद गर्ने गरेको उहाँले बताउनुभयो ।
पहिलो बेतको बाच्छी हेफर परियोजनाको अबधारणा अनुसार समूह भित्रैका सुरुमा उक्त बाच्छी नपाउने अर्को किसानलाई उपहार दिएको र बाच्छो राष्ट्रिय पशु प्रजनन् कार्यालयलाई बिक्री गरेको उहाँको भनाई छ । दोस्रो बेतदेखि ब्याएका बाच्छी आफ्नै हुने पनि उहाँले बताउनुभयो । उहाँको अहिले फेरी एउटा गाई असोज र अर्को गाई कात्तिकमा ब्याउने भएका छन् ।
सोही ठाँउका अर्का किसान भोला अधिकारी होलिस्टेन गाई पाल्न जोखिम पनि त्यत्तिकै रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘कोरियाबाट ल्याएका होलिस्टेन कोरली बाच्छीलाई सुरुमा यहाँको हावापानीसँग घुलमिल गराउन धेरै कठिन भयो । बल्ल यहाँको हावापानी पचाउन सक्ने भएका छन् । गाईको अझै पनि तापक्रम नाप्नु पर्ने र ३० डिग्री भन्दा बढी भयो भने गर्मी मौसममा दिनमा पाँच पटकसम्म नुहाई दिने गरेको छु ।’
सिन्धुली जिल्लामा हेफरको उक्त परियोजना क्षेत्रमा किसानलाई उपहार स्वरुप बितरण गरिएका कोरियन होलिस्टेन कोरली बाच्छीहरुमध्ये हुर्केर किसान भोला अधिकारीले प्राप्त गर्ने गाई सुरुमा ब्याएर बाच्छी जन्माएको थियो । उहाँले भन्नुभयो, ‘अहिले फेरी दोस्रो बेत ब्याएको आज पाँच दिन भयो, बाच्छो जन्माएको छ । पहिलो बेतमा दिनमा ४० लिटर दुधसम्म दिएको थियो ।’
‘एउटा गाई पाल्दा त खर्च नै ठिक्क हुदो रहेछ, दानापानी मै दिनको हजार रुपिया जति खर्च हुदो रहेछ,’ उहाँले थप्नुभयो, ‘चार पाँच वटा उक्त गाई पाल्दा चाहि राम्रो आम्दानी हुने देखियो । तैपनि सन्तुष्ट छु ।’ आफुले थाहा पाउदा बाउ, बाजेदेखि नै भैसि पाल्दै आएको र भैसि पाल्दा झण्झट हुने भएकाले त्यसलाई हटाएर आफुले गाई पाल्न सुरु गेको उहाँको भनाई छ ।
कमलामाई नगरपालिका र हेफर ईन्टरनेश्नलको साझेदारीमा मिल्की परियोजना सञ्चालन गर्न कमलामाई नगरपालिका–४ र ५ स्थित दमार, राजपानी, गैयाटारमा उक्त परियोजना सञ्चालन गर्ने सिड्स नेपाल सिन्धुलीले चार बर्षअघि विपन्न १०९ जना किसानलाई समेटेर समूह बनाएको थियो । त्यही समूहका ५० जना किसानलाई २०७९ साल पुस महिनामा दक्षिण कोरियाबाट जहाज मार्फत ८१ उन्नत जातको होलिस्टे गाईको कोरली बाच्छी ल्याएर बितरण गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।
किसानको माग र पाल्ने क्षमता अनुसार एक जना किसानलाई एकदेखी दुई वटासम्म बाच्छी बितरण गरिएको हो । कमलामाई नगरपालिकालाइ दुध उत्पादनमा आत्मनिर्भर बनाउन र विपन्न किसानको आयआर्जन बृद्धि गरी आत्मनिर्भर बनाउन उक्त परियोजना सञ्चालन गरिएको कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोरियाबाट ल्याएका ती गाँईका बाच्छी सिन्धुलीको बाताबरणमा हुर्किन्छ की हुर्किदैन भनेर पहिला जाईका कम्पनीले अध्ययन अनुसन्धान गरेको थियो । पछि हेफरले पनि अध्ययन अनुसन्धान गरेपछि संभव देखेर कोरियाबाट होलेस्टेन जातको ती कोरली बाच्छी झिकाएर विपन्न किसानलाई बितरण गरिएको हो ।’
कोरियन होलिन्टे गाई अहिले नेपाली हावापानीमा हुर्कदै गएकोमा उहाँले सन्तुष्ट व्यक्त गर्नुभयो । किसानलाई बितरण गरिएका ती कोरली बाच्छी मध्ये हुर्केर ७० वटा ब्याई सकेको छन् । अन्य १५ वटा गाईकोलम्पिस्किन र अन्य रोगले मृत्यु भएको छ । ब्याएका २० वटा बाच्छी समूहभित्रका २० जना किसानलाई उपहार प्रदान गरेको र ११ पटा होलिस्टेन बाच्छा राष्ट्रिय पशु प्रजनन् कार्यालयले खरिद गरेर लगेको नगरपालिकाका पशु शाखाका चिकित्सक डा. रोसन कोईरालाले जानकारी दनुभयो ।
होलिस्टेन गाई पाल्नका लागि परियोजना क्षेत्रमा कमलामाई नगरपालिका र हेफरको ६० प्रतिशत र किसानको ४० प्रतिशत लगानीमा तीन सय वटा नमूना गोठ निर्माण भई सकेका छन् । थप ३० वटा गोठ निर्माण भई रहेको छ । अहिले परियोजनामा ५४४ घरपरिवार आबद्ध रहेको उहाँको भनाई छ ।
परियोजना अन्तर्गत कमलामाई सामाजिक उद्यमी महिला दुग्ध सहकारी स्थापना गरि सञ्चालन भई रहेको, वडा नं. १ मा साईलेज उत्पादन प्लान्ट र वडा नं. ४ मा दुग्ध प्रशोधन प्लान्ट निर्माण भई रहेको नगरपालिकाले जनाएको छ ।