सिन्धुली, खनियाखर्क –
गोलन्जोर गाउँपालिका–५ खनियाखर्कका स्थानीय कृषकहरूलाई लक्षित गर्दै मौषमी तथा बेमौषमी तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । गोलन्जोर गाउँपालिकाको आर्थिक सहयोग तथा महाभारत कृषक सहकारी संस्थाको आयोजनामा सम्पन्न तालिमले कृषकहरूमा नयाँ जोश र आत्मविश्वास थपेको छ ।तालिममा कृषकहरूलाई आधुनिक कृषि प्रविधि, उन्नत जातका तरकारी उत्पादन, मल तथा सिंचाइ व्यवस्थापन, रोग तथा कीराको पहिचान र नियन्त्रण, बिउ उत्पादन तथा संरक्षण, बजार व्यवस्थापन लगायतका विषयमा व्यवहारिक ज्ञान दिइएको थियो ।
तालिमको समापन समारोहमा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले सहभागिता जनाउँदै तालिम स्थलको अवलोकन पनि गरेका थिए । तालिममा सहभागी कृषकहरूको हौसला बढाउन दुबै जनाले स्थानीय उत्पादनको प्रवर्द्धनमा गाउँपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
त्यस्तै, समापन समारोहमा सहभागी कृषकहरूलाई विभिन्न जातका मौषमी तथा बेमौषमी तरकारीका उन्नत विउ, विजन तथा अन्य कृषि सामग्रीहरू समेत वितरण गरिएको थियो । कृषकहरूले यस्ता सामग्री प्राप्त भएपछि व्यावसायिक खेतीमा लाग्न थप हौसला प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा गोलन्जोर गाउँपालिका–५ का वडा अध्यक्ष गोविन्द लुंगेली लगाएत अन्य कर्मचारी तथा सहकारी संस्थाका प्रतिनिधिहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो । अध्यक्ष लुंगेलीले खनियाखर्क क्षेत्रको उन्नयनका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिँदै यस्ता तालिमहरूलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाए ।
महाभारत कृषक सहकारीका अनुसार, तालिममा सहभागी अधिकांश कृषकहरू पहिलेदेखि नै स-साना फार्ममा तरकारी खेती गर्दै आइरहेका थिए । अब भने तालिमपछि उनीहरूमा व्यावसायिक तथा संगठित तरिकाले उत्पादन बढाउने र बजारसम्म पुर्याउने योजना बनेको छ । सहकारीका अध्यक्षले भने, “हामीले स्थानीय कृषकहरूलाई आत्मनिर्भर बनाउन र गाउँमै रोजगारी सिर्जना गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जानेछौं।”
गाउँपालिकाले आगामी दिनमा पनि कृषि प्राविधिकहरूको नियमित भ्रमण, परामर्श सेवा, अनुदान कार्यक्रम तथा किसानहरूको क्षमता अभिवृद्धि गर्ने योजनाहरू अघि बढाउने जनाएको छ ।
कृषकहरूको भनाइ अनुसार, यस्तो तालिमले उनीहरूलाई आत्मनिर्भर बन्ने प्रेरणा दिएको छ। “पहिले हामी परम्परागत तरिकाले खेती गर्थ्यौं, तर तालिमले आधुनिक विधि र उन्नत उत्पादनका उपायहरू सिकायो। अब हामी व्यावसायिक तरकारी उत्पादन गरेर गाउँमै राम्रो आम्दानी गर्न सक्नेछौं,” तालिममा सहभागी एक महिला कृषकले बताइन्।